नयाँ पाठ

बिन्तिपत्र नै बिसाउनु किन ?
नबिसाउँदा पनि त
हिसाब किताब
राफसाफ भएको छ ।

सधैँ हिँडिरहेको त्यो
घाटको बाटो पनि त
अचानक आज
कित्ताकाट भएको छ ।

सम्झन्थेँ सपना
सपना नै हो तर 
बिपना भएरै पनि
घात–प्रतिघात भएको छ ।

देख्दा सुन्दा पनि
अन्धा र बहिरा बन्नेहरू
भेटिँदा जीवनमा बाटै
देखाउने पाठ भएको छ ।

दिनको प्रकाशमा
झट्टै ग्रहण लाग्यो कि
घाम उदाउँदा पनि
आज रात भएको छ ।

सबै आफ्नाले सजिलै
कहाँ हराउन सक्छन् र !
रातलाई छोडी छाया पनि
हरपलको साथ भएको छ ।

नलेखूँ भन्दा पनि भावनाको
मसिले लत्पत्याइदिऊँ जस्तो
खै लेख्‍ने कलम किन आज
बज्र–स्वाँठ भएको छ ।

सके अँगाल दुःखलाई
नसके सम्हाल आफैँलाई
हार त फगत जीवन यात्राको
नयाँ–नयाँ पाठ भएको छ ।