हलेसी महादेवको दर्शन

पूर्वी पहाडका राजमार्ग
नागबेली बाटाहरू कुङ्लिङ परेका छन् । कतै भिरका पेट चिरेर, कतै नदीका पेटी पुरेर, कतै डाँडालाई फन्को मारेर बनेका छन् सडक । परबाट हेर्दा पहाडले सेतो पटुकी फनफनी बाँधे जस्तै । सदरमुकाम जोड्ने बाटा कतै क्रिम दलेको छाला जस्तै चिल्लो, कतै मासु उप्किएर अस्थिपञ्जर निस्के जस्तै अनि कतै प्रकृतिकै भरोसामा लम्पसार परेको । घाम, छाया, सिमसिमे पानी, हुस्सु, कुहिरो र चिसो बतास छिनछिनमा फेरिने मौसमका स्वरूप । सवारी साधान घरी रुखभित्र पस्छ र धेरै पर फुत्त घाममा निस्कन्छ । चरक्क घामले तात्तिन्छ र यात्रुको निधारबाट तरक्क पसिनाका चल्ला कोरल्छ । पुर्लुक्क लड्छन् र बग्छन् । कतै हुस्सु कुहिरो ओडेर दौडिन्छ, यात्रुका जिउबाट काँडा उमार्छ । जिम्न्यास्टिक हान्नु, पुसअप र सेटअप गदै दौडिनु गाडीको नियति नै हो । ठाउँठाउँ त पुग्छ के जसरी गुडुङ्ग गरेन भने ठाउँठाउँमा आफूभन्दा पहिले मुटु तल झरेन भने पहाडमा गाडी चढ्नुको मजा नै हुँदैन बाबै !
सुनसरीको इनरुवाबाट खोटाङको हलेसी
यस वर्ष श्रावण महिनामा म इनरुवाबाट गाईघाट हुँदै हलेसी जान कस्सिएँ । साउनका पहिलो सोमबार हलेसी महादेवको दर्शन गर्ने इरादा सानो होइन । पुरानै पनि हो । इनरुवा जिल्ला अदालतमा काम गर्ने छोरा, बुहारी र नातिलाई भेटौँ भनेर पुगेको थिएँ इनरुवा । गाईघाट चाहिँ कथाकार बोधकुमार घिमिरेको कथा सङ्ग्रह र कवि हिमालय पोख्रेलको खण्डकाव्य विमोचनको निम्तो मान्न जाँदै थिएँ । सुनसरीबाट उदयपुर जाने गाडी चढेदेखि बेलटारसम्म सलल । उकालो चढेर केही घुम्ती छिचोलेपछि बाटोले मौलिक स्वरूप ग्रहण गर्यो । सगरमाथा हाइवेको दुःखसँग गाडीले समवेदना व्यक्त गरिरह्यो । घुर्मी पुग्ने बेला सिमेन्टको रङमाथि रमाउँदै दौडियो गाडी । घुर्मीमा खाना खाएर सुनकोसीको वहाव नियालियो । सुन बग्नुपर्ने कोसी त फलामे रङमा उर्लिरहेको । पुल तरेर ओखलढुङ्गाको पुच्छरका कुइनेटा छिचोलेर ३५ मिनेटपछि दुधकोसी आयो । गाडीको झ्यालबाट देखिने अग्ला डाँडा र तिनका चुलीहरू नियाल्दै सिद्धिचरणको प्यारो ओखलढुङ्गा काहाँनेर होला भनिरहे आँखाले । पहाड फोरेर झरेको एउटा खहरे देखेर ‘त्यो गिरी फोरी बहने रोशी’ यही हो कि भनेँ । पानीविनाको खहरे त पक्कै रोशी होइन होला ! सोधूँ कसैलाई चिनेको छैन । झ्यालबाहिर हेर्दा पहेँला वस्त्रधारी अनगिन्ती नारी पुरुषहरू मोटर साइकलमा तीनकुने वैदिक झन्डा फहराएर दौडिरहेका । बिसाएर सेल्फी हानिरहेका । तराई मधेस र भारतबाट आएका धार्मिक पर्यटक थिए ती । कति आस्थामा बाँचेको रहेछ मैदान ? लाग्यो पक्कै भेलि हलेसीमा ठुलै लामको सामना गर्नु पर्नेभयो । जे होस्– देवताले चिनाएको जिल्ला खोटाङ, कविले चिनाएको जिल्ला ओखलढुङ्गा । एउटा युगमा एउटा कवि जन्मनु र उनका कविता पाठ्यपुस्तकमा छापिनु पनि भगवान्ले बास गर्नु जत्तिकै रहेछ क्यारे ।
दुधकोसी बाढीमा पनि सेतोसेतै देखिन्थ्यो । सुरु भयो भगवान् शिवको पावन भूमि हलेसी रहेको जिल्ला खोटाङ । कति भाग्यमानी छन् खोटाङेहरू । त्यतिका मान्छे साउनभरि आइरहन्छन् रे । अरू बेला पनि पो अलि कम सङ्ख्यामा निरन्तर आउँदा रहेछन् । पर्यटनको केन्द्र बन्न पुगेको खोटाङमा प्रवेश गरेपछि मभित्र अध्यात्मिक आस्थाभाव जाग्यो । झन्डै साढे आठ घण्टापछि सुमो हलेसी चोकमा रोकियो । हलेसी भिलेज होटल जाने सल्लाहअनुसार सरासर आएर झोला बिसाएँ । प्रोप्राइटरलाई सोध्दा ठाउँ खाली नभएको जानकारी पाएँ हिजोदेखि हलका ज्वरो त छँदै थियो, होटल मालिकको सन्देशले दुईचार डिग्री ह्वात्तै थपियो । एउटा सिटामोल पानीसँग खाएँ । अन्यमनस्क भएर खलखली पसिना काड्दै टेबुलमा झोला राखेर पल्याकपुलुक हेर्दै थिएँ । हाम्रै टोलबासी डम्बर बारकोटी, सुमन श्रेष्ठ, केशव भट्टराई, ड्यानिस पराजुलीलगायत हिमालय किरण पब्लिक क्याम्पसका स्टाफहरू सँगै प्रकट हुनुभयो । ज्वरो फेरि पुरानै डिग्रीमा फर्कियो । भिलेजका मालिकले नजिकै कतै एउटासम्म कोठा मिलाइदिने आश्वासन दिनुभएकोले उहाँहरूसँग कोठाको कुरा गरिनँ । ट्रेड युनियन काङ्ग्रेस खोटाङका अध्यक्षलाई सोर्स लाएर मिलाएको कुरा के भन्नु । उहाँहरूको १८ जनाको जम्बो टोली पद्मा होटलमा बसेछ । म बाङ्देलोमा बसेँ । त्यतिका होटल भएको पटाङ्गिनीमा बास पाउन चर्को भएपछि भोलि त दर्शनमात्र होला, अवलोकन चाहिँ आजै गारौँ भन्ने सल्लाह गरेर प्रिय स्वजनहरूसँग गएँ ।
मरातिका गुफा र हलेसी महादेव
नजिकै पुग्दासम्म म कहाँ छ हलेसी महादेव भनेर केशव दाइलाई सोध्दै थिएँ । हामी सङ्खुवासभाली त याङ्ले खर्कबाटै उः माथि शिवधारा र पार्वती गुफा देख्ने बानी परेका । खोटाङमा त महादेव लुकेरै बसेको जस्तो लाग्यो । पक्कै भष्मासुरलाई गलत वरदान दिएपछि भाग्दै भाग्दै जाँदा स्वात्तै पसेर लुके झैँ । मैले सोधिनसकी गेट आइपुगेको रहेछ । जुत्ता फुकालेर प्रवेशद्वारबाट भित्र पस्यौँ । गेटकै दायाँपट्टि भगवान् वुद्धको मातिका गुम्बा रहेछ। श्रद्धाले शिर निहुराई ढोग गरेर अघि बढ्यौँ । दश पाइला अघि बढेपछि पत्थरको गुफाको टाउको देखियो । माथि जमिनमा पूरै हरियाली भएकाले पत्याइसक्नु छैन । चार पाइला अघि बढेपछि सिङ्गमर्मरको सिँडी र रेलिङको बार ओरालो लाग्यो । जति पाइलाहरू तल्लो खुड्किलामा अडिँदै जान्छन् उति रहस्यमय गुफाको चामत्कारिक अवयवहरू देखिँदै जाँदा रहेछन् । साढे चार बजेको त्यो समय, मान्छे त कति हो कति छन् वा ! ६/७ जना नगर प्रहरी र प्रहरीलाई हम्मे हम्मे नै जस्तो पो छ । हामी शनैःशनैः प्रवेश गर्यौँ । जति नजिक गयो उति अनौठा पत्थरका आकृतिहरूले मनलाई तान्दै लगे । आध्यात्मिक दर्शन भोलि गर्ने वस्तुस्थितिको अध्ययन आज गर्ने भनेर गएको । अध्यात्मिक त बनाइदिँदो रहेछ तीर्थले आफैँ ।
हलेसी महादेव मरातिक गुफा । सगरमाथा हिमालबाट १८५ किमी पूर्व र काठमाडौँबाट १८२ किमी पूर्व हलेसी गाविस वडा नं. ४ मा पर्दछ । हिन्दू धर्मावलविका कथनानुसार भष्मासुरबाट महादेव भागेर लुकेको गुफा भनेर परिचित छ । हलेसी महादेव नेपालको अर्को पशुपतिनाथका रूपमा पनि चिनिन्छ । निधारमा त्रिपुण्ड, विभूत र भष्म धारण गर्नु, नागको माला र वाघको छाला पहिरनु शिवको आभुषण हो, उनलाई मन पर्ने रङ निलो हो । उनलाई रातो फूल चढाएको मन पर्छ । भाङ, धतुरो, दुध, मिठाई सेतो रङमा चढाएको असल मान्नुहुन्छ शिवले । शिवलाई बोलाउने महामृयुञ्जय मन्त्र ओम् नमः शिवायः हो । लिङ्ग शिवको प्रतीक हो । शिवमा एकाकार हुन भक्तहरू उच्च स्वरमा ‘हरहर महादेव’ भनी उच्चारण गर्ने गर्छन् । भगवान् शिव त्रिशूल, नन्दी र नागको माध्यमबाट सञ्चार गर्नुहुन्छ । धर्ती र व्रम्हाण्डका हरेक अणु अणुमा व्यप्त हुनु शिवको रहस्य हो । वौद्ध धर्माग्रन्थअनुसार गुरु पद्यसम्भव र राजकुमारी मन्दावरले तीन महिना आयु साधना गरेर सफलता हासिल गरेपछि बुद्ध अमितायुसबाट आयु सिद्धिको प्राप्ति गरे । आयुसिद्धिको अर्थ मरणको अन्त वा समाप्ति हुनाले मरण अन्त मिलित भएर संस्कृत भाषामा मरातिक भनिएको उल्लेख छ । यति पूर्वज्ञान त छिर्नुअघि लिएकै थिएँ ।
अलौकिक सौन्दर्य
नजर पर्यो– पहिरनमा झकिझकाउ शिवको मूर्तिमा, जसको ठिक माथि सुनौलो नागराजबाट विद्युतीय प्रकाश परावर्तन भइरहेथ्यो । फूलको मालाले वेष्ठित शिवको रातो मूर्ति । नागराज सुनको होला । दायाँपट्टि नजिकै पिताम्बर धारी शिवलिङ्ग रातो फूलका माला पहिराइएको । सामुन्नेमा पत्थरकै बसाहाको मूर्ति । माथिबाट सप्रिएका जर्सी गाईका जस्ता चारवटा थुन । गणेश भगवान्को मूर्ति । गर्भद्वार, पापद्वार, कर्मद्वार पनि । कालीनाग देवता । सुमनजीले औँल्याउँदै जानुभयो मैले त्यो प्रकृतिको आश्चर्यजनक गुफाभित्रका चामत्कारिक चट्टानका आकृतिमा नजर घुमाइरहेँ । मनभित्र हृदयबाट नमः शिवाय उच्चारण भयो । धर्मद्वार र कर्मद्वारका अग्ला प्रस्तर खम्बाहरूमा दृष्टि पर्न गयो । भैरव गुफा पर अँध्यारामा देखियो । चट्टानहरू कस्तो जीवन्त बनेर बोलिरहेथे– “मतिर खै हेरेको भक्त ?” हेर्न बाँकी नै छ भगवान् । माता पार्वतीको स्थानतिर नयन पुगे । शिवको वायापट्टि एउटा खोपीमा धपक्क बलेको मुहारमा पोखिएको पार्वतीको मुस्कानले लालायित बनायो । हामी हेरिसकेर पस्यौँ । सबै प्रस्तर मूर्तिहरूमा स्नेह, श्रद्धा र भक्ति भावले सुम्सुम्याउँदै, आलिङ्गन गर्दै गएँ म । कुनै अङ्गालाभित्र अटाउने त कोही अटाउन नमान्ने । एक दुई द्वारमा छिरियो पनि । पापद्वारमा प्रवेश निषेध गरिएको रहेछ । पार्वतीको कुटीतिर जाने बाटोको बायाँपट्टि एक आसनमा वौद्ध धर्मगुरु ध्यानस्थ देखिए । पार्वती माताका चरणमा धेरैवेर साष्टाङ्ग दण्डवत् गरेर फर्किएँ । सानैमा आम परलोक भएकाले म मात दुर्गालाई आमा मानेर अग्र पूजा गर्छु ।
हामी शिवलाई दाहिने पारेर बाहिरको पदमार्गबाट तेर्सो अनि ओरालो लाग्यौँ । ओरालो सकिनेबित्तिकै अर्को चामत्कारिक गुफामा छिर्न पाइयो । पस्नेवित्तिकै बायाँतर्फ भित्ताम प्वाल रहेछ । गौरी शङ्ख भनिदो रहेछ । फुक्न सक्नेहरूले मजाले फुके । आफ्नो प्रयास पनि निरर्थक चाहिँ भएन । अघिल्तिर सिँढीहरू चढ्दै जाँदा कल्कल पानीको छाँगो देखियो । लुकेर अलिकति देखिने डेभिड फल्स नाम राखिदिएका रहेछन् । घुँडा मारेर पानी लिने प्रयास गर्दा हातमा दुईचार थोपा पर्यो । शिरमा अचाएँ । अघिल्तिर घामको उज्याले पोखियो । ओहो आकाआ देखिँदो रहेछ । एउटा खेतको खलेगरे जत्रै गोलो भ्वाङ । लगभग ५० मिटरमाथि पत्थर फोरेर बनेको त्यस भ्वाङको आफ्नै कथा रहेछ – “भगवान् शिवले भष्मासुर राक्षसलाई जसको शिरमा हात राख्छौ त्यसैको भष्म हुने छ ।” भनेर वरदान दिएपछि राक्षसले पार्वती राम्री देखेर ग्रहण गर्न शिवलाई नै मार्न लखेटेपछि शिव अत्तिएर भाग्दा शिरले हानेर भ्वाङ पारेको भन्दा रहेछन् । नभन्दै दायाँपट्टि भित्तामा दायाँ पाउ तल र बायाँ पाउ माथि स्पस् डोब देखिन्छ । आइन्सटाइन आए पनि होइन भन्ने आधार पाउँदैनन् । उसो त विज्ञान पढेका मान्छेले ज्वालमुखी विस्फोट भएको ठाउँ पनि भनिटोपलदा रहेछन् । त्यस प्रकारको कडा चट्टानबाट ज्वालामुखी विष्फोट हुने कुरै काँही लेखेको छैन । मलाई लाग्यो शिवजी पहिले यहाँ बस्दा रहेछन् क्यारे । शङ्ख पनि रहेछ, गङ्गा पनि । भष्मासुरले लखेट्दा हतारमा शङ्ख छुटेछ । गङ्गा उतैबाट बगिरहेकी छन् । भागेर ओल्लापट्टि हालको हलेसी महादेव स्थानमा भूमिगत भएका रहेछन् क्यारे ।
अनुभूति र सम्भावना
लखेटिरहेको भष्मासुरलाई पक्कै पनि सुन्दरी युवती रूप धारण गरेर छल गरी विष्णुले यिनै दुई गुफाको बिचको जङ्गलमा मारिदिएको हुनुपर्छ । स्थानीयबासीले यसबिचको जङ्गलमा खोज अनुसन्धान गर्नुपर्ने देखियो । विष्णुले भष्मासुर मारेको स्थान कुनै न कुनै रूपमा हुनपर्दछ । त्यसको पनि सही स्थान पत्ता लगाएर विष्णुले भष्मासुर मारेको प्रस्तर आकृति नै फेला पर्ला नत्र मूर्ति नै बनाएर राख्न सके एउटा छुट्टै धार्मिक सौन्दर्य थप गर्न सकिँदो हो । पौराणिक कथाको कैलास पर्वत पनि यसलाई मान्न सकिन्थ्यो । भगवान् शिवको केन्द्रीय निवासमा गङ्गाजल नहुनु अर्को अपर्याप्तता लाग्यो । आकाश देखिने गुफाभित्र बगेको पानीको मुहान पक्कै शिवको जटाबाट निस्केको गङ्गा हुनुपर्छ । मुहान पत्ता लगाएर उक्त पानीको केही अंश शिवको केन्द्रीय गुफाबाट मूर्तिमाथिबाट खसाएर शिवलाई वा दायाँबायाँ खसाएर भक्तलाई गङ्गा स्नानको आनन्द प्रदान गर्न सकिन्थ्यो कि । असम्भव भन्ने कुरा दुनियाँमा केही छैन । शुभभाव र शिवभाव राखेर खोज्ने हो भने गङ्गाको मुहान र विष्णुले भष्मासुर मारेको स्थान पनि पक्कै फेला पर्छ । मलाई मात्र होइन हलेसी महादेव र यस क्षेत्रको भूगोललाई पनि यो महसुस भएको हुनुपर्छ ।
हामी त्यहाँबाट निस्केर गौतम बुद्धले तपस्या गरेको गुफातर्फ तेर्सियौँ । चौतारीमा केशव दाइ, डम्बर भाइ र सुमन भाइका सपरिवारले–“खोटाङ जिल्ला दिक्तेल बजार.. लै लै सम्झनामा आउँछ हजार ।” गीत गए । अरुण भ्याल्लीले ताली बजायो । म हल्का नाचेर रमाइलो गर्यौँ ।
पङ्क्तिमा धैर्यको खाँचो
किरातले आफ्नो तुवाचुङ भनेर मान्ने हलेसी महादेको दर्शन भने साउन ५ गते सोमबार कालिका एकादशीको शुभबिहानीमा गर्ने योजना हो । बिहान डालीमा फूलपाती र तामाको लोहोटा बोकेर निस्किएँ । गेटमा डिउटी कमान्डर सइसाहबले लाइन बस्न नपर्ने गरी सहयोग गर्ने बताएका थिए । तर आफूलाई भने तराई, मधेस र भारतका दर्शनार्थीहरूको लाइनमा बसेर लामो प्रतीक्षा गरेर दर्शन गर्ने इच्छा भयो । म पनि त भुइँ मान्छे, शक्तिको प्रयोग गरेर भगवान्को दर्शन गर्ने चाहना भएन । अर्कोतर्फ भिन्न समुदायका मानिसहरूसँग मूल्यको अध्ययन गर्नु पनि थियो । एक हातमा जल भरेको कलस र अर्को हातमा फूल अक्षता भरिएको डाली लिएर म फुटबल मैदानमा झरेँ । पूर्ण कदको फुटबल मैदानमा सात फन्को लाइनको पछाडि उभिएँ । घरी भिडमा छिर्न खोज्ने, नजिककाले हल्ला गर्ने, प्रहरीले आएर हटाउने रमाइलो उपक्रम हेरियो । चिनेजानेका र अलि सुकिला भए आँखा झिम्क्याएर लाइनको बिचमा चुपचाप घुसाएर सामसुम गरेको पनि देखियो । मौनतापूर्वक यो प्रक्रिया नियाल्दै एकएक पाइलो सर्दै जाँदा सवा एकघण्टामा मैदानबाट खुड्किलामा पाइलो पर्यो । अझै ६०० खुड्किला उक्लिन बाँकी छ । मान्छे निकै बाक्लो लहरमा पहेँला वस्त्रमा मैदान र सडकभरि सुन फूले झैँ उभिएका छन् । धैर्य अर्थात् प्यासन के हो ? किन चाहिन्छ भन्ने शिक्षा पहिलोपल्ट अनुशाशित तरिकाले हासिल गरेँ । झन्डै डेढ घण्टामा खुड्किला काटेपछि जम्मा पौने तीन घण्टामा हलेसी महादेवको प्रवेश द्वारमा पाइलो पर्यो । पूजा र दर्शनमा भने उभिएर हात जोड्नेसम्म फुर्सद भएन । हिजो नै अवलोकनमा लिएको गहिरो विम्ब मुटुभरि छँदै थियो । बाहिर निस्केर सई साहेबलाई बोलएर भनेँ–“सई साहेब । मैले पालोमा नै बसेर दर्शन गरेँ । सदाशयका लागि धन्यवाद ल ।”
समापन
साढे १२ बजे काठमाडौँबाट आएको सुमो चढेर भोजपुर आइपुगेँ । बजारमा मुस्किलले हेटल पाएँ । पिलुवा, सप्तकोसी, सुनकोसी, दुधकोसी तरेकै थिएँ । ६ गते बिहानै पहिलोपल्ट भोजपुरतिरबाट अरुण पनि तरेँ । हलेसी महादेवले सबैको कल्याण गरुन् ।
साउन–७, २०८२

लेखकको सम्वन्धमा