निराशा

खाली छ दिमाग खोक्रो छ मन जाँदै छ सास नि
चरित्र सफा दरिद्र तन मर्दै छ आस नि
तल र माथि छोटो यो जीवन के छ र खास नि
बगी नै जाने बैस र यौवन गर्दैन बास नि ।।
जीवनमा केवल घामा र पानी कहिले छाया छन्
बल्दै छ आगो मनभित्र मेरो पोल्दै छ मुटु झन्
नर्क वा स्वर्ग काँ जाँदो हुँ म परेछु दोधारमा
आगोले भिजी बसेछु छ्याप्पै लैजाऊ न ओडारमा ।।
खेस्रा नै खेस्रा बनेर मेरा शरीरका घाउहरू
बग्नु चाहिँ पर्ने डुब्दै छन् मेरा जीवनका नाउहरू
नयनका अघि कालो छ मेरो केही छैन अन्धकार
धड्कन मेरो शून्य भइगयो ज्यान भयो झन् बेकार ।।
भूतको बोधमा सोची म बसेँ अस्तित्व झन् धिक्कार
मात्र भो एक अन्न नै पिण्ड केही छैन परिकार
शरीरै मरे मरेरै जाने अनित्य तन छ
सदाबार जीवित नमर्ने कैले आत्मा र मन त ।।
छैन नै पुँजी क्यै छैन सँगै न कुनै भित्तो छ
सेतो छ कात्रो जिउभरि मेरो शरीरै रित्तो छ
कस्तो यो सस्तो मृत्यु नै रैछ आउँदछ सित्तै नै
लिनलाई मलाई आउदै छन् यम लैजान्छन् छिट्टै नै ।।

लेखकको सम्वन्धमा