नयाँ प्रथा र आमा

ममताको न्यानो काख छोडी
अनन्त अभिलाषा बोकी
बबुरो बचेरो उडेको छ
कसरी म देखाऊँ तिम्रो स्‍नेह
मन कति दुखेको छ !
कठै !
तिम्रा कलिला हातपाउ
वसन्ती पालुवा झैँ प्वाँखहरू
कसरी सात सुमद्रतर्फ उडेको छ ?
रसिला आँखा, धमिलो मुस्कान
रहर भनूँ या बाध्यता !
खुसी भनूँ या दुःखी !!
तर, परेला कति… भिजेको छ
थाहा छैन,
घर छोड्ने नयाँ प्रथा किन बढेको छ ?
कसरी देखाऊँ ? तिम्रो वियोगमा
मुटु कति दुखेको छ ।
तर पनि …
सक्दिनँ  ममताको डोरीले बाँधेर
तिम्रो सफलतामा कुठाराघात पार्न
चाहन्नँ मनको कठघरमा बन्द गरी
स्वार्थीपनको इसारामा नचाउन
त्यसैले
जाऊ उच्च अभिलाषा बोकी
अघि बढाऊ हर कदम कहीँ कतै नरोकी ।
सत्कर्ममा मन उडाउन
नखसुन् तिम्रा प्वाँखहरू
कर्मपथमा लम्किरहन
नगलुन् तिम्रा हातपाउहरू
वैरभाव नराखी मनमा
जितेर आऊ आफ्ना भावना
सच्चाइमा लुकेको छ प्रतिष्ठा
पूरा गर्नू हर चाहाना
पर्खिरहने छु प्रसिद्धको जयोल्लास
तिमीलाई सदा विजयीको शुभकामना !
तिमीलाई सदा विजयीको शुभकामना !!