उदयपुरमा एकसाथ दुई पुस्तक लोकार्पण

४ साउन २०८२
आज गाइघाटमा एक कार्यक्रम बिच दुई सर्जकहरूका कथा सङ्ग्रह र खण्डकाव्य विमोचन भयो । सङ्गम पुस्तकालयको सभाहलमा पुस्तकालयका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपानेको साथमा प्राज्ञ रामप्रसाद खरेल, राममणी पोखरेल, वम देवान, विन्दु दाहाल मुकदर्शक, ताराबहादुर बुढाथोकी, वासु पोख्रेल, उद्धव घिमिरेलगायतको आतिथ्य रहेको थियो ।

सङ्गम पुस्तकालयको आयोजनामा कथाकार बोधकुमार घिमिरेद्वारा लिखित ‘बलिदानका कथाहरू’ कथा सङ्ग्रह र कवि हिमालय पौडेलद्वारा लिखित ‘सिखण्डी’ खण्डकाव्यको लोकार्पण गरियो ।
पुस्तकालय सल्लाहकार समितिका महेन्द्र राईले स्वागत मन्तव्य राख्दै पुस्तकालयलाई जीवनसँग जोड्ने र वृहत्तर बनाउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना भएको बताए ।
उदयपुरका प्रमुख जिल्ला अधिकारीद्वारा शुभकामना मन्तव्य व्यक्त गर्दै हिमालय पोखरेलको शिखण्डी कृतिमाथि टिप्पणी गरियो । उक्त कृतिलाई विम्व, प्रतीक, अलङ्कार र रस जस्ता काव्यतत्त्वका आधारमा विवेचना गरियो । टीका प्रसाद पौडेलद्वारा शिखण्डीको समीक्षा गर्दै खण्डकाव्यको कथा संरचना र भाव पक्षको कसिलो विश्लेषण प्रस्तुत गरियो । पुण्य कार्कीले कथासङ्ग्रहको टिप्पणी गर्दै कथाकारको राजनीतिक, सामाजिक, साहित्यक व्यक्तित्वको परिचय गराइयो । साथै उक्त सङ्ग्रहमा सङ्कलित ११ कथाका कथावस्तु र संरचनको चर्चा गर्दै माओवादी द्वन्द्वको सकारात्मक नकारात्मक पक्षलाई स्थान दिनु कथाको विशेषता रहेको, दुखान्तचेतका प्रगतिवादी यथार्थवादी धाराको एउटा कथा सङ्ग्रह उदयपुरमा प्रकासन भएको दाबी गर्नुभयो । टिप्णीकारहरुले कथालाई चेतनाको आलोक, युगको आवाज, समयको आँसु हो भन्दै कथाको विवेचना गर्नुभयो । घाउको वयान गर्दैनन् निको हुने सपना देख्छन् । कथाकार बोधकुमार घिमिरेले सत्य कथा लेख्ने क्रममा जीवित पात्र राखेको कुरा बताउनुभयो ।

विन्दु दाहाल मुकदर्शक, राममणी पोख्रेल, सङ्खुवासभाली साहित्यकार ताराबहादुर बुढाथोकीलगायतले कृतिमाथि सङ्क्षिप्त समीक्षा गर्दै आफ्ना रचना पस्किए । प्राज्ञ रामप्रसाद खरेलले सिर्जना निस्केपछि माया र कुटाइ दुबै पाइने हुनाले लेखकले हिम्मत हार्नु नहुने बताउनुभयो । प्रमुख अतिथि प्रा.डा. टङ्क न्यौपानेले प्रदेश नं. १ मा प्रदेश प्रज्ञप्रतिष्ठान बनाउन अनिवार्य रहेकोमा जोड दिनुभयो । उदयपुर गडीको खोजी गरेर प्रकाशन गर्नु जरुरी रहेको औँल्याउनुभयो । कथाको आकस्मिक आरम्भ र अप्रत्यासित अन्त्य हुनुपर्छ । अनुभूतिलाई कल्पनामा ढालेपछि कथा हुन्छ भन्दै सुझाव दिनुभयो । उदयपुरका अनुसन्धाता कौसल चेम्जोङले धन्यवाद मन्तव्य राख्दै अक्षरहरू मन्त्र हुन्, हुनाको कारण बेफ्वाँकमा आफूले अक्षरको खर्च नगर्ने बताउनुभयो । अन्त्यमा अध्यक्षले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नुभयो ।
– ताराबहादुर बुढाथोकीद्वारा संप्रेषित

प्रतिकृया दिनुहोस्