जीवनको यात्रामा

जीवन के हो? केवल सास होइन,
यो त कथा हो, जुन हरेक मनले बोकेको छ।
कसैले आँसुमा लेखेको छ,
कसैले मुस्कानमा लुकाएको छ।
पहिलो पाइला जब बालापनले चाल्दछ,
धर्तीले काँध थाम्छ, आकाशले साथ दिन्छ।
अनि सुरु हुन्छ यात्राको पहिलो अध्याय
जहाँ सपना सस्ता लाग्छन्,
तर हरेक लडाइँ सस्तो हुँदैन।
पढ्न सिक्ने कलमले मात्र होइन,
जीवन पढिन्छ मौनताका पानामा
आमाको आँखामा लुकेको पीडा
बुवाको थाकेको हाँसोमा लेखिएको कथा ।
जुन दिन सपनाले पिठ व्युँझाउँछ
त्यो दिन मिहिनेतले घाम भोग्न तयार हुन्छ
तर सफलता कहिल्यै सजिलो बाटोमा हिँड्दैन
ऊ त काँडामा फूल झैँ फुल्छ
र साँचो माया जस्तै ढिलो पग्लिन्छ ।
जीवनको बाटो सिधा कहिले पनि हुँदैन
घुम्तीमा हामी आफैँलाई भेट्छौँ –
कहिले डराएको, कहिले बलियो भएको,
कहिले सपना बिर्सिएको,
कहिले आँखाभरि उज्यालो भएको ।
तर हरेक डरलाग्दो रातपछि
नयाँ बिहानी आउँछ, उज्यालो बोकेर
र हरेक चोटले हामीलाई अझ साहसी बनाउँछ
किनभने पीडा नै त हो-
जसले आत्मा बलियो बनाउँछ।
अन्त्य भनेको कहिल्यै अन्त्य होइन,
किनभने हामीले एउटा अध्याय सक्यौँ मात्र,
अर्को सुरु गर्न, अझ दृढ भएर ।
जीवन निरन्तर कविता हो-
जसलाई हामी आफैँले लेखिरहेका छौँ,
हरेक साससँग, हरेक आशासँग
र हरेक माया गर्न सक्ने मनसँग ।

लेखकको सम्वन्धमा