घर फर्कनु छ

ए बा !
अब केही वर्षपछि फर्केर आउँदा
धेरै आराम गर्न र केही दिन सुत्न दिनु है
यो गर त्यो गर, यो ल्याऊ त्यो ल्याऊ नभन्नु है
विदेशको ठुलो थकान मेट्नु छ बा !
यो विरानो देशले सारै थकायो
साह्रै पिरोल्यो बा !
सोचेका जस्ता रहेनछन् धेरै कुरा
सोचे जस्तो त एउटै रहेछ-
फोटो खिच्ने र सामाजिक सञ्जालमा राख्ने
तेइस घण्टाको थकान लुकाई
एक घण्टाको फोटोसेसनले
मुस्कान भरिदिन्छ मुहारभरि l
खै के भनौँ बा !
घरमा ‘राजा छोरा’ भएर बसेको म
परईका मुलुकमा नोकर झैँ भएर बस्दा
अरूका खटनमा खटिँदा
शारीरिक र मानसिक थकानले पिरोलेको छ बा !
सङ्घर्ष गर्दै छु त्यसैसँग, जुध्दै छु त्यसैसँग ।
ए बा !
यो थकानले त मुहारको मुस्कान खोस्यो
बोली पनि खोस्यो
बोली छ मुखमा, अर्थ छैन केही पनि
म निरर्थक बोली किन बोलूँ बा ?
बा !
म अहिले झलझली सम्झिरहन्छु
हिजो तपाईँले भनेका शब्दहरू
म बुझ्न सक्छु-
‘अहिले विदेश नजाऊ छोरा’ भनी तपाईँले सम्झाउने कारण
बाका आँखामा छोरो सधैँ सानै हुँदोरहेछ
तपाईँका आँखाले मलाई सधैँ सानै देख्यो
तपाईँका आँखाले मेरो थकान र पीडा हेर्नै सक्दैनथ्यो
होइन त बा ?
‘यो तिम्रो रमाउने उमेर हो’- तपाईँको हृदय यसै भन्थ्यो है बा ?
तपाईँ मलाई सानै देख्नुहुन्थ्यो
भीडमा म हराउँछु भन्ने ठान्नुहुन्थ्यो
मलाई ‘अब त म ठुलो भइसकेँ’ भन्ने लाग्थ्यो
तपाईँ सही हुनुहुँदोरहेछ बा
म गलत रहेछु
अहिले बोध गर्दै छु-
म कहाँ कहाँ हराइरहेको छु ।
बा !
आँसु आउलान् नजरबाट
पीडा होला छातीभरि
तपाईँलाई सम्झिरहन्छु घरी घरी
तर, हरेस खाँदैखान्नँ
सम्हालिरहन्छु आफैँलाई
सङ्घर्षका पाइलाहरू निरन्तर अघि बढाइरहन्छु
मेरा बाको मुहार हँसाउनु छ
मेरा देशको सेवा गर्नु छ
मैले एक दिन आफ्नै घर फर्कनु छ ।

लेखकको सम्वन्धमा