July 10, 2025, Thursday
२०८२ असार २६, बिहीबार

असार पन्ध्र

हरसाल आउँछ असार पन्ध्र
तर पनि विशेष छ यो दिन
किनकि यो वर्षदिनमा एक पटक मात्र
आउँछ अनि जान्छ ।
हुन त हरेक दिन वर्षमा एकटक मात्र आउँछ
तर मलाई असार पन्ध्र अलि विशेष लाउँछ
किनकि योे दिन
दही–चिउरा खाने दिनको जन्मदिन हो
अरू बेला खाएको भन्दा यो दिनमा खाएको
दही–चिउरासँगको आत्मीयता बेग्लै हुन्छ
जस्तो तिहारको सेलरोटीमा स्वाद बेग्लै हुन्छ
दसैँमा मासुको महत्त्व अर्कै हुन्छ
माघे सङ्क्रान्तीमा तरुल–चाकु र तीलको लड्डुको
मिठास बेग्लै महसुस हुन्छ,
हुन त असार पन्ध्र न दसैँ हो न तिहार
तथापि यस दिन पर्व झैँ विशेष हुन्छ
किनकि खेतमा रोपाईं हुन्छ
बाउसेहरू हिलो छ्यापाछापमा रमाउँछन्
ब्याडेहरू बिउ काढ्छन्
कोही हिल्याउँछन् कोही आली लाउँछन्
गीताङ्गेहरू गीत गाउँछन्
छेउमा उभिई कोही ताली बजाउँछन्
रोपाहारहरू छुपुछुपु धान रोप्छन्
कतै बेठी लाउँछन् अनि मैजारो गर्छन्
किसानले पसिना रोपेर भाग्य फलाउँछन्
मेहनत पोखेर भविष्य उठाउँछन्
माना रोपेर मुरी उब्जाउँछन्
उजाड मरुभूमिमा हरियाली फुलाउँछन् ।
अनि सबैको पेटमा अन्न पुर्‍याउँछन् ।

कतै पानीको अभाव छ
खडेरीको प्रभाव छ
कतै मलको हाहाकार छ
उन्नत बिजन छैन
प्रविधि र विधिको चाँजो छैन
तर पनि किसान बाँचेकै छ
जसोतसो मङ्‍सिरमा हाँसेकै छ ।

हुन त यो देशमा सरकार पनि छ
शक्तिशाली सरकार
कम्युनिस्ट सरकार
किसान, मजदुर आफैँले भोट हालेको
आफ्ना लागि आफैँले चुनेको आफ्नै सरकार
तर उसलाई सरोकार छैन
किसानको खेत देखेकै छैन
उसको हविगत सुनेकै छैन
उसको श्रमको मूल्य
पसिनाको हिसाबकिताब
समयको सिमाना
आवश्यक्ताको पहिचान
समस्याको समाधान
वस्तुुको बजार केही थाह छैन
थाह पाउने चाह पनि छैन
धानको ब्याड देखेकै छैन
हिलो खेत टेकेकै छैन
सहरको एक भव्य मञ्‍चमा
लाखौँ खर्च गरेर फूलदानीमा
धान रोपेर रोपाईँजात्रा गर्छन्
नक्कली समाजवादीहरू ।

असार पन्ध्र रोपाईँ जात्राको नाममा
मानहानी गर्छन् बिद्वान् बुज्रुकहरू
गलाभरि धानको बिउको
माला लगाएर रमिता देखाउँछन्
रोपाईँमा गएर मन्त्रीहरू रत्तेली खेल्छन्
यिनलाई बालीनालीको
उत्पादन–बिक्रीको
खर्च र लगानीको
बिक्री र आम्दानीको
कुनै दिलचस्पी छैन
घोगामा दाना नलागेको देख्दैनन्
धानमा भुसमात्र लागेको देख्दैनन्
उखुको मूल्य, धानको मूल्य
दुधको मूल्य सरकारले तोक्छ
फलाउने एउटा पकाउने अर्को
कठै किसान आफ्नो फसलको
मोल राख्न पाउँदैन
आफैँ बेचबिखन गर्न पाउँदैन
तह–तहका बिचौलियाले
कृतिम महँगी फैलाइरहेछन्
दुईलाई दुई सय बनाइरहेछन्
किसानलाई भाग्न विवस बनाइरहेछन्
अम्दानी आठान्नी खर्च रुपियाँ
कसरी धान्न सक्छ किसानले
कहिले समाधान गर्रने सरकारले ?

हरेक वर्ष खर्बौ बजेट छुट्याइन्छ
तर दूरदराजमा पुग्दै पुग्दैन
सक्कली किसानले न ऋण पाउँछ
न त अनुदान पाउँछ
जस्ले पाउँछ उसले अर्कै नाममा उडाउँछ
हुने खानेहरू सहर पसे
हुँदा खानेहरू खाडी पसे
केही नहुनेहरू यतै फसे
गाउँमा बारी बाँझै छ 

सहरका एउटा कुनामा
गमलामा एक थान लौका,
दुई थान काउली, तीन थान घिरौँला
चार बोट मकै, पाँच थान भिन्डी
छ थान बैगुन, सात थान करेला
आठ थान गोलभेँडा, नौ त्यान्द्रा बोडी,
दस थान खुर्सानी फलाएर
कृषिमा क्रान्ति ल्याउने दिवासपना
प्रदर्शन गरिरहेछन् उग्र कामरेडहरू
मुरी उब्जने खेतमा कङ्‌‌क्रिट भरेर
छतमाथि माना फलाउने
दुस्वप्नमा बाँचिरहेछन् आधुनिक किसान । 
वर्ष दिनमा एक दिन
धान दिवस मनाउँछन्
रोपाईँजात्रा भनी चटक देखाउँछन्
धान फलाउने खेतमा
गगनचुम्बी टावर ठड्याउँछन्
अर्बौँको धान बाहिरबाट भित्र्याउँछन्
बलिया हात–पाखुरा बेचेर
देश खोक्रो बनाउँछन्
कठै असार पन्ध्र तिमीलाई
यिनले खै कस्तो बनाउँछन्,
लाग्छ अर्थ न वर्थ बनाउँछन्
घर जलेको खरानी बेचेर
आाफैँलाई मगन्ते बनाउँछन्
कठै असार पन्ध्र तिमीलाई
यिनले खै कस्तो बनाउँछन् ?