July 10, 2025, Thursday
२०८२ असार २६, बिहीबार

कस्लाई यहाँ…

सप्तरङ्‍गी इन्द्रेणी बनिरहँदा
मन्त्र-मुग्ध बनाउने
रङ नै चाहिएको छ ।

फूलै-फूलको बग़ैँचामा
फूल्दा पनि फक्रेको
कोपिला नै चाहिएको छ ।

देखेर पनि बिर्सिदिन्छौ
भोलि सबै बिलाएर या
ओइलिएर झर्ने हो ।

कस्लाई यहाँ माताजी चाहिएको छ ?
कस्लाई यहाँ पिताजी चाहिएको छ ?

हुँदा, दिँदा अनि बुँझाउँदा
अभौतिक मान-सम्मान
पद-प्रतिष्ठा चाहिएको छ ।

जानी नजानी या लाजै मानी
निचोरी-निचोरी शेष
झिटी-गुन्टा चाहिएको छ ।

आँखैअगाडी सागरले
सबैलाई पर्खी बस्दा पनि
आँखा चिम्लिदिन्छौ ।

कस्लाई यहाँ माताजी चाहिएको छ ?
कस्लाई यहाँ पिताजी चाहिएको छ ?

कोमल मन-मश्तिष्क चलिरहँदा
नव सन्तानहरूकै
भजन कीर्तन चाहिएको छ ।

चट्टान सरी उँभिदा शिलाजित
सुख्खा जमिन हुँदा पनि
मूल चाहिएको छ ।

पहाड नै ढलेर उत्तानो
परेको बगरमा टेक्ने
पैतालाहरूलाई सोध्दैनौ ।

कस्लाई यहाँ माताजी चाहिएको छ ?
कस्लाई यहाँ पिताजी चाहिएको छ ?

बर पिपलको चौतारी बन्दा
सबैलाई शीतल छहारीको
ओत चाहिएको छ ।

वसन्त ऋतु झैँ शरीरले
पालुवा फेरुन्जेल सबैलाई
हरियाली नै चाहिएको छ ।

बैशामा आकाश छुने रुख
ढलेपछि मुढा भई आगो
दिनेको चोला पनि हेर्दैनौ ।

कस्लाई यहाँ माताजी चाहिएको छ ?
कस्लाई यहाँ पिताजी चाहिएको छ ?

यसरी समय बदलियो कि
प्रौढ अनि पाको हुँदा बल्ल
घर, गोठ र धरा चाहिएको छ ।

कस्लाई यहाँ माताजी चाहिएको छ ?
कस्लाई यहाँ पिताजी चाहिएको छ ?

बिडम्बना नै भनौ कि या
समयको आबेग सबैलाई
मम्मी र ड्याडी चाहिएको छ

कस्लाई यहाँ माताजी चाहिएको छ ?
कस्लाई यहाँ पिताजी चाहिएको छ ?