आमालाई बिन्ती

भविष्य बनाउन घरबाट निस्केकी
तिम्री छोरी
घरको आँगन नाघेर केही अघि बढ्दासम्म छोरी थिई
सुन्दर भविष्य बनाउँछु भन्ने सपना बोकेकी
तिम्री छोरीले अन्जानमा आफ्नो सुन्दर जवानी नै गुमाइसकी ।
तिमी गर्व गर्दै हिँड्न छोडिदेऊ आमा
अब गाउँमा मेरी छोरी संस्कारी छ, इमान्दारी छ भन्दै
जति तिम्ले संस्कार दिएर संस्कारी बनाए नि
जति नै इमान्दारी भए पनि
आफ्नो अस्मिता जोगाउन सकिनँ उसले
यो भुसिया पुरुष भएको समाजमा
अब आश पनि राख्न छाडिदेऊ आमा
छोरीको भविष्य सुन्दर हुन्छ भनी !
केही वर्षको फूल जस्तो सुन्दर जवानी त
हेर्न नसक्ने यो समाजले
तिम्री छोरीको सुन्दर भविष्य कसरी हेर्न सक्ला ?
सक्दो नङ्ग्याउलान् उसलाई सामाजिक सञ्जालमा
सके जति एसिड प्रहार गर्लान् उसको कोमल चेहेरामा
एकै पटक सयौँले इज्जत लुट्न खोज्लान् ।
भयो, अब आश राख्नै छाडिदेऊ आमा
छोरीको र छोरी मात्र नामको
किनकि घरबाट निस्किँदा छोरी मात्र भएकी
अहिले यो समाजले उसको पहिचान बदलिदिएको छ
उसको नामको सट्टा चरित्रहीन, भनी बोलाइन्छ ।
सक्छ्यौ भने माफ गर आमा
तिमीले नौ महिना कोखमा सुरक्षित राखेर
यतिका वर्ष हुर्काई, बढाई गर्यौ
तर आज आफ्नै खुट्टामा उभिने भएपछि
इज्जत जोगाउन सकिन तिम्री छोरीले
माफ गरिदेऊ ।
छोरीको सुखी जीवनको कल्पना पनि नगर आमा
बिहेपछि ठिक होला भन्ने, झिनो आशा पनि नराख
किनकि तिमीले ज्वाइँ मानेर खुट्टाको पानी खाएकाले नि
केही दिनमै उसको चरित्रमा दाग लगाउँदै
शरीरभरि नील डाम बनाइदिन्छ ।
हेर त, आमा अब तिम्री छोरी, छोरी मात्र भइन
चरित्रहीन, बलात्कृत अरू के-के भइसकी
आमा, अझै छोरीको सुरक्षा गर्छु भन्ने आँट नगर
तिमी तिम्री छोरीलाई सुरक्षित देख्न
र, देखिरहन चाहान्छ्यौ भने
तिम्रो कोखमै मात्र सीमित राख उसको जीवनलाई
त्यो स्वर्ग जस्तो कोखदेखि नजन्माऊ
यो दुष्टै-दुष्ट र भुसिया पुरुष बस्ने समाजमा
बरु उसलाई तिम्रै कोखमा मात्र सीमित राख
ऊ त्यहाँ नौ जुनी सुखैसुखले बाँच्छे
(संस्कारी र छोरी मात्र भएर)
बिन्ती आमा
बरु उसलाई तिम्रै कोखमै मात्र सीमित राख ।

लेखकको सम्वन्धमा