February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

मासाप्टेनमा मेला : लोक गीतको लोकार्पण 

विषय प्रवेश :

“नेपाल हाम्रो कति छ राम्रो संस्कृति पवित्र ।
लुकेको स्वर्ग समुच्च जाति यसमा छन् विचित्र ।”

–महाकवि देवकोटा

पाङ्‍मा गाउँ त्यही लुकेको स्वर्ग हो र लोहोरुङ जाति त्यही समुच्च जातिभित्रको एउटा जाति । राष्ट्र भनेको यिनै जीवन सल्बलाउने गाउँ र सभ्यता बोकेको जातिको समष्टि नै त हो । पङ्‍मा गाउँ र लाहोरुङ जाति राष्ट्र हो । पाङ्‍मा लोहोरुङ भाषा, कला, संस्कृतिको उद्गम हो, सभ्यताको केन्द्र हो । अरुण नदीको किनारमा रहेको सुशान्त नगरी खाँदबारी बजार नजिकै उत्तरतर्फ रहेको मौलिक गाउँ हो । गैरी पाङ्‍मा, डाँडा पाङ्‍मा, लोके पाङ्‍मा र सुनार पाङ्‍मा गरी चारपाङ्‍मालाई एकै ठाउँ समायोजन गरेर पाङ्‍मा बनेको हो । सुनार पाङ्‍मा नाम चाहिँ बेतबाँसका डाला नाङ्ला बुनेर जीवको पार्जन गर्ने सुनार थरका किराँतीको वासस्थान भएकोले रहन गएको हो । सुनार पाङ्‍मा नाम रहे पनि यसको आधारभूमिमा खोरन्डे गाउँ पर्छ र खोरन्डेमा लोहोरुङ राईहरूको बस्ती छ । पञ्चायत कालमा पाङ्‍मा छुट्टै गाउँ पञ्चायत नै थियो । दिदिङ, धुपू र खाँदबारी नगरपालिकाको वडा नं. ४ पाङमा र वडा नं.१ आङ्लामा लोहोरुङहरूको पहिचानसहितको बस्ती छ । यहाँ बोलिने लोहोरुङ भाषा, यहाँकै मौलिक उत्पादन सरुवा (पेय ), वाचिपा, छिटको कपडाका लागि पाङ्‍मा क्षेत्र सभ्यताको केन्द्र हो भनिएको हो ।

लोहोरुङ भाषा :

पाङ्‍मालाई सभ्यताको केन्द्र मान्ने पहिलो आधार भाषा हो । नेपालमा भाषा आयोगले दर्ज गरेका भाषाहरूमा भोटखोलाको भोटे भाषा, मकालुको याम्फू भाषा र खाँदबारी नगर, सभापोखरी र चिचिला गाउँपालिका प्रयोग हुने लोहोरुङ राईको भाषा सङ्खुवासभाको मात्र सम्पदा हो । १९५० सालको जाँचभन्दा अघिदेखि खाँदबारी क्षेत्रको जिम्मावाल भई कारबारी, थरी, मुखिया र रैती राखेर पाङ्‍मामा बसेका लोहोरुङको पुर्ख्यौली निकै पुरानो छ । लोहोरुङ भाषामात्र बोलेर जीवन निर्वाह गर्ने एउटा पुस्ता अझै बस्तीमा लौरो टेकेर हिन्दैछ । मासाप्टेन अर्थात् आमागाउँ भनेर लोहोरुङ भाषाले सम्मान गर्ने गाउँ भनेकै पाङ्‍मा हो । लोहोरुङ भाषामा अनेक लोक कथा, किस्सा, लोकगीत अद्यापि सुन्न पाइन्छ । लोहोरुङ भाषा भाषिक मृत्युको शिकार भएको छैन । आजको पुस्ताले लोहोरुङ भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक बनाएका छन् । भर्खरै दिदिङमा २००४ सालमा जन्मेका हेमप्रसाद देरेङ लाम्सोङ लोहोरुङले लोहोरुङ भाषामा लेखेको ‘देरेङ लाम्सोङ वंशावली तथा लाम्सोङ संस्कार संस्कृति’ नामक पुस्तक प्रकासन भएको छ । यसबाट लोहोरुङ भाषा समृद्ध भाषा हो भन्ने प्रमाणित गर्दछ । भाषाका अन्वेषकहरूका लागि पाङ्‍मा गाउँ  भाषिक पर्यटनको गन्तव्य हो ।…….

पाङ्‍माली सरुवा :

स्थानीय मौलिक प्रविधिमा तयार हुने ‘सरुवा’ नामको पेय पाङ्‍मा गाउँलाई सभ्यताको केन्द्र मान्न सकिने अर्को आधार हो । दुई दशकअघि पाख्रिबासे कान्छोले लेखेका ‘अलैंची अल्लो पाँचौंले यार्चा, चैनुरे करुवा : खानेभा आउनुस् सङ्खुवासभा पाङ्‍माली सरुवा’ शब्दको गीतमा गायक उमाङ्ग लामाले आवाज दिए । पछिल्ला वर्षहरूमा आधादर्जन गीत सरुवाका प्रसङ्ग जोडेर गाइए । गीत जहिले गाएको भए पनि धमिलो पानी  जस्तो देखिने विशेष स्वादको मदिरा यहाँ सय वर्ष अघि नै आविस्कार भएको हो । शुद्ध कोदोको जाँडबाट बन्ने अनुपम स्वादले रमाए पनि सरुवाको विशेष प्रविधि बारे पाङ्‍माली किराँतिनीहरूबाहेक दुनियाँ बेखबर थियो । दुई दशकअघि पङ्तिकारको गीतबाट प्रचार पाएपछि अन्यले सिके भने त्यो प्रविधि हस्तान्तरणको नतीजा मात्र हो । अझै पनि २४ क्यारेटको सरुवा पाङ्‍मा गाउँमा मात्र पाइन्छ अन्त त साहिँली माइलीमात्र हो भनी सरुवाका पारखीहरू कुरा गर्छन् । यहाँका सुम्निमाहरूको हातले बनाएको र पस्केको सरुवा त अप्साराले पस्किएको सुरापान जस्तै हुन्छ, सरुवाको हक पाङ्‍मा सभ्यतालाई मात्र छ । यसरी सरुवा र पाङ्‍मा गाउँ  पर्यायबाची बनेका छन् । सिलिचाङका कुलुङ समुदायको विशेष खाद्य मानिने कुखुराको भुत्ला, पखेटा पोलेर बनेको वाचिपा पनि पाङ्‍मा पसेर सरुवाको जोडी बन्न पुगेको हो ।

छिटको फरिया :

सभ्यताको केन्द्र मान्नुपर्ने तेस्रो आधार ‘छिटको फरिया’ हो । २०३० सालसम्ममा देशी कपडा नआउञ्जेल पाङ्‍माली राइनीहरूले चर्खामा धागो कातेर तानमा बुनेको खाँडीको कपडा प्रयोग गरिन्थ्यो । चौहत्ती गजको सेतो खाँडीको कपडामा छिप्ने काठ राखेर पाङ्‍मा चिप्लेगाउँका नेवारहरूले छिप्थे । चाल्नो जस्तो सामग्रीमाथिबाट कालो रङ चुवाएपछि कालोले नभेटेको भागामा सेतो छिटा बस्थ्यो । कसैले यसलाई छिपेको कपडा भने, कसैले छिटेको । दुईटै शुद्ध थियो । अपभ्रंश भएर छिटको फरिया भनिन थालियो । किराँतिनीहरूको शरीरमा छिटको फरिया र धुपछायाँको चौवन्दी चोलो हुन्थ्यो । लिम्बू समुदायबाट ढाकाको खास्टो, कपडा भित्रियो । ब्रिटिस गोर्खा र भारतका गोर्खाली फौजमा भर्ती भएका लाहुरेहरूले २०३० सालतिर गाउँका चेलीबेटीलाई लुङ्गी र चप्पल ल्याइदिए । एउटा लोक गीत त्यतिबेला गाइन्थ्यो– ’ए लै लै ! कालो कपालले .. संसारै ढाक्यो हौ लुङ्गी चप्पलले ।’ गहुन, नैनसुत, घरेलु, नाइल, फाइबर हुँदै सिँगापुरे सारीमा नारीहरू छोपिन थाले पनि किराँत महिला आज पनि छिटको फरियालाई बडो गर्वका साथ  आफ्नो पहिचानको प्रतीक मानेर पहिरन्छन् । यद्यपि खाँडीको कपडा भने लोहोरुङबाहेक सबै किराँत महिलाले बुन्थे । प्रारम्भमा किराँत महिलाको महान् हस्तकला थियो खाँडी । पूर्वतिर अरू जातिले खाँडीको कपडा बुनेको सुनिएन ।

साकेला: 

रेवाहाङ राजा, चण्डी नाच र साकेला खासगरी पाङ्‍माली लोहोरुङको सांस्कृतिक विम्ब हो । प्रत्येक उँधौली र उँभौलीमा चार पाङ्‍माका लोहोरुङहरू ‘सै ढोले सोइ अर्को ढोले खोइ ?’ भन्दै ढोल– झ्याम्टासहित विभिन्न बाजागाजाका साथ चण्डी नाच नाच्दै खाँदबारी बजारै–बजार ढोलबाजे जान्छन् । ढोल बजाउने मान्छे बुडो देखेर व्यक्तिको नाम ढोलबाजे भन्दै जाँदा बाजे मरेपछि ठाउँको नाम ढोलबाजे बन्न पुग्यो । राणाको सूचना जनाउन ढोल बजाउने गरी नियुक्त भएको नेवार हो पनि भन्छन् । तर.. सोइ ढोले सोइ अर्को ढोले खोइ …भन्दै ढोलबाजे डाँडातिर लोहोरुङ झरेका देख्दा एउटा ढोले ढोलबाजेमा भएको र अर्को ढोले चाहिँ हराएकोले उनै बाजेलाई अर्को ढोले खोइ ? भनेर सोध्दै झरेका हुन् कि भन्ने अनुमान पनि गर्न सकिन्छ । पूर्वजहरूका अनुसार ढोलबाजे डाँडामा एक प्रतापी, परोपकारी किराँत राजा थिए । रोग, महामारी, दु:ख कष्टमा कसैले सम्झनासाथ तान्त्रिक शक्तिले उनी पीडामा मल्हम लगाउन पुग्थे । उनैलाई रेवाहाङ भन्थे भनेर आज पनि रेवाहाङको पवित्रस्थान बनाएका छन् । अरुण नदी देखिने गरी डाँडामा बनाएका रेवाहङको भव्य पूजा गर्छन् ।

ढाँणे बजार :

अनि यी जम्मै सभ्यताको केन्द्र चाहिँ ढाँणे बजार हो । ढाँणे देवीको काखमा लाग्ने भएकाले ढाँणे बजार भनिन्छ । मङसिरे पूर्णेको पर्सिपल्ट र बैसाखे पूर्णेको भोलिपल्ट सकेसम्म मङ्गलबार पारेर लाग्ने मेला वर्षमा दुइपल्ट लाग्दछ । मङ्सिरे पूर्णे भगीवन्त रङशाला र ढाँणेदेवीको थानबिचको जग्गामा लाग्दछ । बैसाके पूर्णेमा लाग्ने ढाँणे जो आज लाग्यो, त्यो फेक्मालुङ् मास्तिर र चिसापानी मुन्तिरको खेतमा लाग्दछ । फेक्मालुङ भनेको लोहोरुङ जातिकै हराएकी फुपू रूपान्तरित भएको ठूलो ढुङ्गा हो । मेलामा पसेपछि लोहोरुङ भाषा बोलेको सुन्न पाइन्छ । पाङ्‍माली चौबिस क्यारेटको सरुवा खान पाइन्छ । सोइ ढोले सोइ भन्दै दुवै हातमा सेउली बोकेर साकेला नाचेको हेर्न पाइन्छ । छिटका फरिया र गहनाले झकिझकाउ पाङ्‍माली नारीहरूको अपूर्व मुस्कान देख्न पाइन्छ । वाचिपाको स्वाद र सन्तुष्टि पाइन्छ । ढोल, झ्याम्टा बजेको सुन्न पाइन्छ । आज एउटा फरक कुरा देख्न र सुन्न पाइयो । पाङ्‍माली जिम्मावाल भगीवन्तका सन्तति  गीतकार वीरेस राईको शब्द र पाङ्‍मामै कपडा छिट्ने मेसिन लिएर आएका नेवारका सन्तान सूर्यनारायण श्रेष्ठको आवज विमोचन भयो । बुलु मुकारुङको सङ्गीतमा । गायक सुनित थेगिम, उमाङ्ग लामा, नवीन दाहालका गीतहरूले उचाले । ताराबहादुर बुढाथोकी, सनम थापा, तारा घिमिरे, पुरुषेत्तम पाख्रेल, राम गुरुङका कविताहरू गुञ्‍जिए । एउटा सशक्त नारी आवाज सूर्य कोरङ्गीका भाषण गुन्जियो । यसरी ढाँणे बजार प्राचीन र आधुनिक संस्कृतिको सम्वाहक बन्यो । साङ्‍गीतिक र शाब्दिक अभिव्यक्तिको शिखर मेला बन्न पुग्यो ।

झन्डै पाँच हजार मानिसहरू मेलामा रमाएको अनुमान गर्न सकिन्छ । खाँदबारी नगरपालिकाका सबै वडाबाट, चिचिला, मकालु, सभापोखरी र सिलिचोङ् गाउँपालिकाबाट मेला भर्न आउँछन् । आदिबासी जनजातिका महिलाहरू मौलिक जातीय भेषभूषामा आउँछन् । लेकमा फल्ने काफल, ऐंसेलु, जम्मू जस्ता फलहरू सोलीमा बेच्न राखिन्छ । विभिन्न प्रकारका जङ्गली च्याउहरू, कठुवामा राखेका मदिराको राम्रो व्यापार हुन्छ । स्थानीय उत्पादनका विभिन्न सामग्रीको बजार पनि हो । परम्परागत स्याउले अस्थायी छाप्री र चित्रा ओडाएको गोठहरूका मुनि बसेर खिस्रिङमिस्रिङ र चियानास्ताको  ब्यापार गर्ने मानिसहरू व्यस्त देखिन्छन् । झुम्के बुलाकी लगाएका अधबैँसे किराँत महिलाको स्वरमा रन्किने हाक्पारे र गोठालेको रन्कोदेखि उफरमा रन्किने रिमिक्स सम्मको आस्वादन गर्न पाइन्छ । साँच्चै भन्नु पर्दा गाउँ र बजारको मिश्रित अनुहार हो–पाङ्‍माली ढाँणे मेला । ढाँणे मेलामा आयोजित विशेष कार्यक्रममा स्थानीय लोहोरुङ स्रष्टाको शब्दमा स्थानीय नेवारले स्वर दिएको गीत बिमोचन हुँदा कार्यक्रम पनि पाङ्‍माली राईनीले बुनेको खाँडीमा नोवरले छिपेको छिटको फरिया जस्तै सुन्दर हुन गयो ।

गीतकार: 

लामो समय सुन्दर दुलारीको गछियामा बसेर पुर्ख्यौली थालो पाङ्‍मामा फर्किएर आएका वीरेस राई गाउँलाई दिन आए झैँ लागछ । उनले आफ्नो पुर्खाको ठुलो खेत पुर्खाकै नामको भगीवन्त रङ्गशाला बनाउन दान दिएका छन् । उत्तरी मोरङको बसाइले साहित्यतर्फ कलम चलाउने बानी पारेका वीरेस राई मूलत: गजलकार हुन् । मानेभञ्ज्याङ्बाट माल्टा गाउँ जाने बाटोमुनि सुन्ताला बगान स्याहारेर बस्ने राईका गजलहरू पनि पाकेका सुन्ताला जस्तै रसिला हुन्छन् । उनी सङ्खुवासभा साहित्यक समाजका अध्यक्ष हुन् । आफ्नै सम्पादनमा लाली गुराँस भित्तेपत्रिका प्रकाशन गर्छन् । आफू थोरै लेख्छन् तर अरूलाई सँगै लिएर यात्रा गर्न रुचाउँछन् । उनकै शब्दमा लेखिएको एउटा लोक गीत उनकै समितिका सचिव सूर्य नारायण श्रेष्ठको आवाजमा रेकर्ड गराएका छन् । नेपाली लोकगीतका महारथी बुलु मुकारुङको सङ्गीतमा रेकर्डेड उक्त लोकगीत आज ढाँणे बजारमा विमोचन भएको हो । पङ्तिकारले प्रमुख अतिथिको आसनबाट उठेर कवि वीरेस राईको सभापतित्वमा गीतको विमोचन गर्दा हजारौँ नरनारीहरू खुसीले रमाए ।

लिरिक्स अर्थात् गीतका शव्द :

“मेरी माया भोजपुरमा छिन् अरुण खोला पारि …

यो शनिबार आउँदै छिन् मलाई भेट्न खाँदबारी हे…”  स्थायीले सङ्खुवासभा जिल्ला र भोजपुर जिल्लाको निकटतम् छिमेकी सम्बन्धलाई  प्रेमिल बनाइएको छ । सनातनदेखि जीवन र जगत्‌लाई शीतलता र प्राण दिँदै दुई जिल्लाको बिचमा बग्दै रहेको अरुणको नाम यसअघि लोकगीतमा कमै सुनिएको हो । अरुण नदीलाई ग्राम्य भाषामा अरुण खोला भनेर लोकगीतको धर्म निर्वाह गरेको छ । नेपाली जनजीवन यही त हो खोला वारिपारि, डाँडा वारिपारि । माया लगाएपछि भेट्न आउने आतुरतालाई पनि गीतले मिठो गरी सम्बोधन गरेको छ । खाँदबारीमा शनिबारे हाट लाग्ने, हाट भर्न षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिकाबाट मान्छेहरू आउने चलनलाई पनि समेटेको छ । हाट भनेको भेटघाट पनि हो, त्यसमा पनि नेपाली ग्रामीण जनजीवनमा । धेरै भयो उनीसँग मेरो भेटघाट भाछैन, फेरि भेटघाट नभएर खुसखबरी थाहा छैन । भेट होस् न त्यसपछि त हल्लाइन्छ खाँदबारी… जस्ता शब्दभित्र मायाप्रीतिमा हुने असीम शक्ति र आकर्षण अन्तरनिहित छ । 

गायक:

गायक सूर्य नारायण पाङ्‍मा गाउँ सिरानमा बसोबास गर्ने नेवार हुन् । पाङ्‍माली किराँतिनीहरूको माहन् हस्तकला खाँडी कपडा छिप्ने कला लिएर यस क्षेत्रमा बस्दै आएको जाति हो– नेवार । छिटको फरिया उत्पादन संस्कृतिको साइनो विगतमा जोडिएका नेवारलाई यहाँका लोहोरुङले आज पनि माया गर्छन् । सूर्यनारायण श्रेष्ठ आज गाएक बन्नुको पछाडि यही साइनो छ । गायक श्रेष्ठ आफैँमा चर्चित गायक होइनन् । उनी सिर्जनालाई माया गर्छन्, सर्जकहरूसँग प्रेम गर्छन् अनि केही नयाँ रचना गर्ने रहर गर्छन् । उनको स्वरमा सारेगमको अभ्यास छैन । तान, अनुतान, सुर र स्वरको तालमेल बलियो नभए पनि स्थानीय समुदायमा झ्याउरे र हाक्पारे गीत राम्ररी गाउने मान्छे हुन्। रहरमै भए पनि गीत मिठो सुनिने गरी गाएका छन्, सबै अन्तारामा आयामिक सफलता नपाइए पनि स्थायीलाई तीनवटै चरणमा उनको स्वरले न्याय गरेको छ । उमेरले ६० को दशकमा प्रवेश गर्दै गर्दा गीतप्रतिको अभिरुचि र समर्पणले प्रसव धक्का दिँदा कलामा यो तहको प्रयास गर्नु योगदान नै मान्नुपर्छ ।

सङ्गीतकार : 

रौता पोखरी र चौदण्डी गढीको ऐतिहासिक र सांस्कृतिक महत्त्वले चिनिएको उदयपुर जिल्लामा बसोबास गर्ने बुलु मुकारुङ साँझसम्म शीत नओभाएका पाखामा फुलेका सुनाखरी हुन् । राजनीतिक दलको भागवण्डामा नपरेका उनी पुरस्कार र सम्मानित पदबाट ओझेल छन् । पाँच दशकभन्दा बढी समय नेपाली गीत र सङ्गीतमा साधनारत मुकारुङका लोकगीतको अनुशीलनलगायत अनेक कृति छन् । मकालु साहित्य समाजले मकालु प्लाटिनम जुविलीमा निम्ता गरेर सङ्खुवासभा साहित्यिक समाजको व्यवस्थापनमा : ‘मकालु प्लाटिनम पुरस्कार : २०८१’ ले नगदसहित सम्मानित गरेको छ । लोकजीवनका मर्मलाई छामेर गीतको समीक्षा गर्ने उस्ताद सङ्गीतकार बुलु मुकारुङले यो गीतमा कोइलीको आवाजसहित जीवन्त सङ्गीत दिएका छन् । गीत इफेल धरहरामा उकलेर सुने पनि ढाँणेभिरको थाप्लोको हरेलो काफलडाँडामा बसेर सुनेको अनुभूति दिन्छ । 

सारांश :

दक्षिण एशियाली साहित्यिक सांस्कृतिक सङ्गठनको अध्यक्षको हैसियतमा पङ्तिकारलाई प्रमुख अतिथिको सम्मान दिएको विमोचन कार्यक्रम सांस्कृतिक केन्द्र नै हो । गायिका सुनिता थेगिम, गायकहरू उमाङ् लामा, नवीन दाहाल, केशवलाल शाक्यको गीतले माहौलमा रौनक थप्यो । कवि राम गुरुङ आशिक, सनम थापा, तारा घिमिरे, पुरुषोत्तम पोख्रेललगायताका कविताले व्युँझायो जन समुदायलाई । तेलले भिजेको बाँसको टुप्पामा राखेको ‘भले छुने खेल’ र ‘तीर हान्ने खेल’ भने यो वर्ष सञ्चालन भएन । जनप्रतिनिधि, सुरक्षकर्मी र समाजसेवीहरूको पनि समावेशिता रहेको सफल कार्यक्रम आयोजना गरेर लोहोरुङ क्लब र सङ्खुवासभा साहित्यिक समाजले ढाँणे मेलाको गरिमामा एउटा इँटा थपेको छ । लोहोरुङ किराँतको बस्तीको  पाङ्‍मा गाउँ होम स्टे सञ्चालन गर्न सके पर्यटन गन्तव्य बन्ने छ । राती बिजुली बत्तीमा पाङ्‍माबाट हेर्दा खाँदबारी सिक्किम जस्तो र खाँदबारीबाट हेर्दा सेकाहा र पाङ्‍मा गाउँ दार्जिलिङ जस्तो देखिन्छ । जस्तै देखिन्छ त्यस्तै बनाउन सके !