बोलीको गोली

म पढ्दै थिएँ ध्यान मग्न भएर । पल्लो कोठाबाट ठुलठुलो आवाज आयो । छिमेकीको झगडा परेछ क्यारे ।

तिम्रो केही काम छैन। जोइको कमाइ खाऊ, यताउति डुल कात्तिके कुकुर जस्तै । अरू आइमाई आफ्नो लोग्नेको कमाइमा रमाइरहेका छन् मस्तले। मैले भने घरपरिवार सम्हाल्नु परेको छ । सुरिलो तर चर्को नारी स्वर मेरो कानमा ठोकियो ।

म क्या मरौँ भन्यौ ? भिसा लगाएकै छ । भिसा आयो भने विदेश गएर कमाइहाल्छु त । लगत्तै प्रतिउत्तरमा पुरुषको नरम स्वर सुनियो ।

 श्रीमान् श्रीमतीको झगडा परेछ भन्नेमा विश्वस्त भएँ म।

उम्म… कमाउँछौ खुब ! विदेश विदेश भन्दै वर्ष दिन भै’गो । केही लछारपाटो लाउँदैनौ अब । कड्किएर फेरि बोली उसकी श्रीमती ।

के गरूँ त म ? गतिलो काम देशमै पाइदैन…;

मर जाऊ । श्रीमान्‌को कुरा पूरा नहुँदै श्रीमती बोली ।

यता मेरो मनलाई “मर जाऊ” शब्दले खुब घोचेको आभास भयो ।

“मबिना बाँच्‍न सक्दैन भनेर त होला नि है ? यस्लाई त जे गरे नि हुन्छ; जे भने पनि हुन्छ भने झैँ गर्छौ । तिमीलाई छोडेर जान नसक्ने हो र ? यदि म मरेर गएँ भने तिमी के गर्छौं ?” श्रीमान्‌ले यति भनेपछि श्रीमती निःशब्द बनी । सायद उसले सोचिहोली साँच्चै मेरो पोइ मर्यो भने म त फूलबिनाको बोट हुन्छु ।