धान सुक्यो रापले फकाउँछ काफ्ले जानू कि नजानू

जब कलामा जीवनको हरियो रङ हुन्छ, ढकमक्क फुल्छ तब प्रकृति र जीवनले तादाम्य राख्छन् । कलाले हृदय स्पर्श गर्छ, सुम्सुम्याउँछ । कलामा गलाको जादु र समाजको बिम्व सम्मिलित भएपछि परानुभूति जीवन्त बन्न पुग्छ । निदाएकालाई ब्युँझाउँछ, बसेकालाई उठाउँछ, बिर्सिएकालाई सम्झाउँछ अनि पीडामा आनन्द दिलाउँछ । भोक र प्यास बिर्साउँछ । शिशिर याममा पनि बसन्त फुलाउँछ । एकात्मकतामा जोड्छ र जागरणको आलोक पोख्छ । गीतमा पनि लोकगीत सभ्यताको जननी हो । मानवको उहापोहलाई व्यक्त गर्ने सशक्त माध्यम हो । मान्छेले आफ्नो भाषामा मनको गहिरो भाव व्यक्त गर्ने क्रममा अनेक गीतहरू गायो, बनायो र सुनायो । गीत गायनको विकासक्रममा कैयौँ गीतहरू गाइए । कति गीतहरू कालजयी बने, कति गीतहरू समयको छालसँगै बालुवामा लेखिएका अक्षर जस्तै हराएर गए । लोकगीतको विकासक्रममा झुमा लिम्बूको आवाजमा भर्खरै एउटा गीत बजारमा आएको छ– ‘धान सुक्यो राप्ले.. फकाउँछ काफ्ले .. जानू कि नाजानू ?’ गायिका झुमाको आवाजमा आएको निखार र गीतका शब्द दुवैले न्याय पाएको गीत ।
गायिका झुमा लिम्बू गीतको स्थायीमा तीन पटक दोहोरिने यो हरफको श्रेय युवराज काफ्लेलाई दिन्छिन् । पुरुष आवाजमा सुजन चापागाईले एक अन्तरा गाएका छन् । झुमा लिम्बूको मानसपटलमा काफ्ले थरका युवाहरूसँग ख्याल ठट्टा गरेको बालापनको गहिरो सम्झना छ । गीतको पहिलो स्थायी देख्नासाथ गायिकालाई आफ्नै गीत जस्तो लाग्छ । रचनाकारका शब्द केलाई खेलाई गरेका गायिका स्वयम्ले अन्तराहरूको एरेन्ज गरिन् र आफ्नै बनाएर गाइन् । अत्यन्त मिठो सुनिन्छ । लिम्बू समुदायमा युवतीहरूले युवाहरूलाई जिस्क्याउने र छोरीका बाबुआमाले ज्वाइँ खोज्ने पृथक चलनका कारण गीतमा जानू कि नजानू ? भन्ने दोधार छ । उसो त गीतमा द्विविधा त्यो समयमा लिम्बूकी छोरीलाई बाहुनको छोराले फकाउँदा रीतभाँत नमिल्ने अर्को जातमा जानू कि नजानू भएर दोधार भएको पनि हुन सक्छ । घर छाउने पराल र खरसम्म पनि नभएकोसँग फकाउँदैमा भागेर जाँदा दुःख पो पाइन्छ कि भनेर दोधार भएको पनि हुन सक्छ । अझ एक पाइलो अगाडि बढेर विश्लेषण गर्दा जाति र पाति छुट्याउने रीतिविरुद्ध विद्रोह गर्न बाहुनले लिम्बुनी फकाएको, लिम्बुनीले पनि कसैले जानू भनिदिए जान्थेँ भन्ने पाराले पारमर्श मागेको देखिन्छ । अन्तर्जातीय विवाहका लागि युवा पुस्ता तयार हुँदै गरेको अवस्था पनि गीतमा मुखरित भएको छ ।
नेपाली भाषामा राई–लिम्बू लवज, भाका र लय मिसिँदा गीतमा कोशी प्रदशेको मिश्रित सभ्यता प्रतिध्वनित हुन पुगेको छ । गीतले जस्तापाता र आरसिसीआउनूपूर्व घर छाउने सामग्री पराल, खर र झिँगटीको समय ब्युँझाउँछ । ‘भाग्यमा भए कमाउँछु भन्छ’ भन्ने वाक्यांशले कर्म र भाइ दुवैमा भरोसा राख्ने युवाको चेतना औँल्याउँछ । घर छाउने खर, पराल, झिँगटी, केही नभएको गरिबी छ नायकको । सम्पत्ति कमाउँदा पनि चार टिन कमाउने नायकको इच्छा देखिन्छ । यसबाट समयको प्राचीनता, नायकको गरिबी र साहसको चित्रण भएको पाइन्छ । ग्रामीण जनजीवनमा युवाले युवतीलाई फकाउँदा जुन आशाको उज्यालो देखाउँछ, त्यसको आलोक कति मिठो गरी पोखिएको छ गीतको छानोमा ।
गीतमा सानो गाई छ, थोरै दुध दिन्छ, खानु कि नखानुको पूर्वप्रसङ्ग दोस्रो हरफमा मागेर लान नसक्ने युवाको पश्च प्रसङ्गको आर्थी समानान्तरता छ । उपमा मात्र होइन, गोठालाहरूको जीवन र तिनका सुखदुःख अनि सपना कति मिठो गरी मिलेको छ । बाँझो खेतमा हलोले जोतेर बाली लगाउने किसानको रहर पनि त मुखरित भएको छ । हली, गोठाला, खेताला भएर उत्पादन गर्दै गरिबीबाट समृद्धितिरको यात्रा तय गर्ने हाम्रा पुर्खाहरूको जीवन स्वप्न श्रमप्रतिको सम्मान बनेर फुल्छ । राजधानीका सुविधाबाट बेखबर टाढा पहाडको गाउँमा जीवनयापन गरिरहेको महान् भुमिपुत्र जनजातिको भावना समेटिएकोले प्रस्तुत गीत श्रमिक किसान मजदुरको गीत हो । गीतमा प्रयुक्त रीतभाँत शब्दले भागी बिहे गर्दा कुटुम्ब पक्षले केटी पक्षका माइती मामली खुसी पार्ने र वागदत्त लिनेदिने महान् संस्कृतिको सम्मानपूर्वक संस्मरण गराएको छ । सँगै रीतभाँतबिना आँखाको चालमा नौडाँडा कटाउने कुराले युवती जानू कि नजानूको दोधारमा परेको प्रष्ट हुन्छ र माइती पक्षको दुधको भारा नतिर्नेसँग माया लगाएर भाग्न सङ्कोच मान्ने स्वाभाविक पक्षलाई गीतले गहिरो गरी स्पर्श गरेको छ । आँखाको चालले पदावलीले श्रृङ्गार रसको व्यभिचारी भाव र मायाको रसमय शैली व्यक्त गरेको छ ।
केटाको आवाजमा गाइएको अन्तरामा प्रयुक्त भिर र पैरो, खोलाको बाटो पदावलीले पुरानो समयकामा पहाडको जनजीवन, कष्टकर आवागमनको प्रतिनिधित्व गरेको छ । नमान्नू डरैडर वाक्यांशले युवाको मनमा भएको वीरतालाई प्रकट गरेको छ । जीवन चलाउन रूप भएकी केटी र हुप भएको केटा हुनुपर्छ भन्ने सामाजिक मान्यता अनुकूल नायकको साहस भएको इङ्गित गर्छ । नफुल्नु माया मनभरि फुल्यो शब्दमा जीवनमा गरिने मायालाई जगत्मा फुल्ने फूलसँग उपमा र उपमेय अलङ्कारको संयोजन दिएको छ । मायाले नै विश्वास र भरोसाको सिर्जना गर्छ भन्ने भावलाई अन्तराको अन्तिम पदावली यो जुनी तिम्रै भर भन्ने पदावलीमा पाइन्छ । अन्तिम हरफमा साथी सहेलीसँग दोधारमा परेकी नायिकाले सल्लाहका लागि हार गुहार गरेको छ । देखाउने माया र भगाउने माया गरी मायालाई दुई प्रकारमा वर्गीकरण गरिएको छ । वासनात्मक प्रेम र भावनात्मक प्रेममध्ये कुन प्रेमलाई रोज्ने भनी परामर्श मागिएको छ । भगाउने मायाले जीवनका लागि गरिने प्रेम, सत्यम् शिवम् सुन्दरम्सहितको प्रेमलाई सङ्केत गरिएको अनुभूति हुन्छ । गीतका सबै अन्तरा र स्थायीरू १६ अक्षरको एक पाउ र अन्त्यानुप्रासयुक्त दुई पाउको एक श्लोक हुने झ्याउरे छन्दमा छन् । गायनमा यसलाई लिम्बूको पालाम, धाननाच, राईको चण्डी गरी तीन फरक फरक लयमा फरक फरक अन्तरा गाउनु यो गीतको वैशिष्ट्य हो ।
गीतका शब्दलाई गायिकाको संस्कृति र मातृभाषाले न्याय गरेको छ । लिम्बू चेली झुमाले पोथी आवाज दिनु र चापागाई बाहुनले भाले आवाज दिनुले काफ्लेले लिम्बूकी चेली त्यो पनि गायिकालाई फकाएको हो कि जस्तो बनाएको छ । गीतहरूमा प्रयुक्त निपात हा, हाहा, पो आदिले जनजिब्रोको जैविक स्वाद पस्केको छ । ‘हौ’ लाई ‘हाउ’, ‘झिँगटी’ लाई ‘झिङगटी’, ‘कमाउँछु’ लाई ‘कमाङ्छु’, ‘काफ्ले’ लाई ‘काफ्लेउ’, ‘भन्छ’ लाई ‘भन्छअ’, ‘हलोले’ शब्दलाई ‘हालोले’, ‘जोतेर’ लाई ‘जोतेरअ’, ‘पराल न खर’ लाई ‘पराल ना खर’, ‘चालमा’ लाई ‘चालमाआँ’ ,’नजानू’ लाई, ‘नाजानुउँ..’ जस्ता खण्डेत्तर ध्वनिसहित गरेको प्रस्तुतिले गायनमा जादु थपेको छ । आवृत्तिमा पहिलोपल्ट नेपाली टोन र दोस्रो पल्ट लिम्बू टोनको प्रयोग गरेर नेपाली भाषालाई पनि न्याय दिएकी छन् । नेपाली टोनमा गाएका गीतहरूमा पनि गाइकाको पहिलो भाषाको प्रभाव पर्दा गीत घाम, छायाँ, सिसिमे पानी र कुहिरो बोकेको हरियो पहाडझैँ लाग्दछ । गीतमा पाइने उतार–चढाव, उठान–बैठान, सुर, तान, अनुतान र आवश्यक स्थानमा कम्पनले शब्दहरूमाथि फेरि पनि गायिकाको अवाजले पूर्णतः मधुर महक थपेको छ । ‘हाउ… फकाइ पो लान्छु भन्छ हौ काफ्ले जानू कि नाजानू…….” यस हरफमा तीन पटक निपात दोहोरिँदा र शब्दानुकूल टोन दोहोरिँदा श्रोतालाई सत्चितानन्द परव्रम्हको दर्शन गराउँछ ।
झुमा लिम्बूले नगाएको भए यो गीत जीवन जस्तै बन्ने थिएन । गीत सुन्दै जाँदा गीतको मञ्चीय नायिकाको रूपमा गायिका नै गोलो पात्र भए झैँ लाग्दछ । युवराज काफ्लेले लिरिक्सको स्थायी लेखेर प्रारूप कोरेको भए पनि शब्दसँग गायिकाको जीवन छमछम पाउजु बजाएर ननाचेको भए अरू गीत जस्तै यो गीत पनि सामन्य सुनिने थियो । सुजन चापागाईले आफ्नो अन्तरामा दिएको आवाजमा पनि पर्याप्त शक्ति छ । उनको स्विटर जस्तो मौलिक चलचित्रमा नेपालका उत्कृष्ट अभिनय कलाकार विपिन कार्की र मेरिना मगरको अभिनय र पहाडी जीवनको क्यान्भासमा छयाङ्कन हुनुले प्रस्तुत गीत जनमनको माया बटुल्न थप सफल हुनुको कारण पनि गायिकाको शक्तिशाली प्रस्तुति नै हो । वर्तमानमा जस्तै आगतमा पनि श्रोता र दर्शकहरूको माया पाइरहने छ । तालवाद्यको रूपमा मादल, स्वरवाद्यको रूपमा मुरली र सुरवाद्यको रूपमा सारङ्गी अनि मुर्चुङ्गा, झ्याली, च्याब्रुम, विनायोको संयोजन गराउँदै जनजीवनको हार्दिक पहिचानको पक्षसँग गीतलाई जोड्ने सङ्गीतकारप्रति पनि सम्मान गरौँ । २५ वर्षको गायन साधनापछि खेम गुरुङले ‘एकादशी बजार’ मा पाए जस्तै उत्कृष्ट उपलब्धि हासिल गरेकोमा झुमा बहिनीलाई बधाइ छ ।
२६ बैसाख, २०८२
खाँदबारी, कोशी ।

लेखकको सम्वन्धमा