साहित्यकार तथा शिक्षाविद् लक्ष्मण राजवंशीको स्मृतिमा डा. नारायणहरि जोशी सम्मानित

वैशाख ११,
नेपालको शैक्षिक जगत्का विख्यात व्यक्तित्व, नेपाली भाषा र नेपाल भाषाका विशिष्ट साहित्यकार, समाजसेवी एवम् सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको चौथो स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित एक समारोहबिच प्राध्यापक डा. नारायणहरि जोशीलाई विशेष सम्मान अर्पण गरिएको छ । सिद्धार्थ वनस्थली इन्स्टिच्युटद्वारा आयोजित सो समारोहमा प्रा. डा. जोशीलाई इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले सम्मान अर्पण गर्नुभयो ।

इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले अतिथिहरूलाई स्वागत गर्दै नेपालको शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्व तथा साहित्यकार पिता लक्ष्मण राजवंशी सबैका प्रेरक हुनुहुन्थ्यो भन्नुभयो । उहाँले लक्ष्मण राजवंशीको अत्यन्तै निकटस्थ रहनुभएका प्राध्यापक डा. नारायणहरि जोशीले सिद्धार्थ वनस्थली इन्स्टिच्युटको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रही गर्नुभएको सेवा र नेपालमा विज्ञान शिक्षालाई प्रयोगात्मक र सर्वसुलभ बनाउन गर्नुभएको योगदानको स्मरण गर्नुभयो ।

सो अवसरमा कार्यक्रमका सभाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्व विद्यार्थी डा. सर्वोत्तम श्रेष्ठले लक्ष्मण राजवंशीले साहित्य र शिक्षाक्षेत्रमा दिनुभएको महत्त्वपूर्ण योगदानको स्मरण गर्दै उहाँका बारेमा जति नै चर्चा गरे पनि कम हुने धारणा व्यक्त गर्नुभयो । सभाध्यक्ष श्रेष्ठले हरेक वर्ष साहित्यकार एवम् शिक्षाविद् लक्ष्मण राजवंशीका स्मृतिमा विशिष्ट योगदान गर्ने विद्यार्थी, शिक्षक र राष्ट्रिय व्यक्तित्वमध्येबाट एक जनालाई नगद रु. पच्चीस हजार रूपैयाँसहित विशेष सम्मान अर्पण गर्ने बताउनुभयो ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी पूर्व विद्यार्थी डा. अस्मिता पौड्याल कोइरालाद्वारा लिखित कवितासङ्ग्रह ‘जब देवी दुर्गा बन्छन्’ को समेत लोकार्पण गरिएको कार्यक्रममा इन्स्टिच्युटका सहायक प्राचार्य सुनिता सिंह, साहित्यकार तथा इन्स्टिच्युटकी शिक्षिका अनुराधा ढकाल, क्याम्पसप्रमुख मनुराजा शाक्य, राजु दवाडीलगायतले लक्ष्मण राजवंशी तथा प्रा. जोशीका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
लक्ष्मण राजवंशीका नेपाली, नेवारी र अङ्ग्रेजी भाषाका गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । शिक्षालाई सैद्धान्तिकभन्दा बढी व्यावहारिक बनाउनुपर्छ भन्ने राजवंशी संविधानसभा सदस्य एवम् त्यागी राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँको २०७८ वैशाख ११ गते लोकतन्त्र दिवसकै दिन ८६ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिकृया दिनुहोस्