February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

 आमालाई जन्मदिनको शुभकामना !

संसारमा सबैभन्दा प्रिय के हो ? भन्दा ‘आमा’ भनिन्छ रे । हुन पनि आमा त्यस्तो मायाको खानि हुन् जसले सन्तानलाई जन्मनुअघिदेखि अपार माया बाँडेर सुख र खुसी देख्न चाहन्छिन् । त्यसैले नै आमा संसारमा सबैभन्दा बढी माया गरिने शब्द पनि हो, सम्बन्ध पनि हो । म आज मायाकी खानि तिनै आमालाई सम्झँदै छु । आज माघ २२ गते मेरी आमाको विशेष दिन ! अर्थात् मलाई जन्म दिने आमा जन्मिएको दिन । आज तिनै आमालाई सम्झिएर सानो संस्मरण लेख्ने प्रत्नमा छु ।

२०४७ साल तिरको कुरा हो । हामी भर्खर सामुहिक परिवारबाट छुट्टिएर अलग बसेका थियौँ ।  त्यही फागुन महिनाको कुरा हुनुपर्छ । आमाले बारीबाट आलु खनेर घरका माथि खाटमुनि राख्नुभएको थियो । आमा हामीलाई दिउँसो प्रायः आलु उसिनेर खुउवाउनुहुन्थ्यो । त्यसैले होला आलु भनेपछि मलाई अहिले पनि साह्रै प्यारो लाग्छ । त्यस बेला हामी भातभन्दा बढी आलु नै उसिनेर खान रुचाउँथ्यौँ ।

एकदिनको कुरा हो । म विद्यालयबाट घर पुगेको थिएँ । हाम्रा घरमा एउटा कालो गाई थियो । भर्खरको दुहुनु गाई । अचानक सर्पले ठुँगेर त्यो गाई मरेछ । दुहुनु गाई मर्दाको पीडाले होला आमा एकदमै चिन्तामा हुनुहुन्थ्यो । त्यसमाथि आमा बिरामी पनि हुनुहुन्थ्यो । त्यो अवस्था देखेर हामी सबै चिन्ताग्रस्त बन्यौँ । त्यस दिन आमाले खाना पनि खानुभएन । मलाई पनि खाना खान मन लागेन । राति त्यतिकै सुत्यौँ । ओछ्यानमा पुगेपछि मलाई एकदमै भोक लाग्यो । लगभग राति १२:३० बजेको हुनुपर्छ । ‘आमा मलाई भोक लाग्यो भन्दै मैले आमालाई झिँझोलेँ । सुरुमा त आमाले त्यति वास्ता गर्नुभएन । तर मैले आमालाई भनिरहेँ । आखिर आमाको मन न हो । कसरी चुप रहन सक्थ्यो र ! आमा उठ्नुभयो दाउरा खोज्नुभयो । आगो जोर्नुभयो र एक आरी आलु उसिनेर ल्याइदिनुभयो । मैले पेटभरि आलु खाएँ । आमाले आलु खुनुभयो कि खानुभएन, त्यो कुरा मलाई ख्याल छैन । तर, एउटा कुरा चाहिँ ख्याल छ । त्यो के भने आमालाई सन्तानको माया साह्रै लाग्छ । सन्तानको भोकका सामु आमाका चिन्ता, तनाव र बिराम कहाँ पुग्छन् पुग्छन् ।  

हो, आज म कार्यालयका काममा व्यस्त रहँदा पनि मलाई त्यति बिघ्न माया गर्ने मेरै आमालाई सम्झिरहेको छु । किनभने आज मेरी आमाको जन्मदिन हो । आमा ! आज म तपाईँलाई मेरो मनभरिको, हृदयभरिको शुभकामना अर्पण गर्दछु । जन्मदिनको अनगिन्ती सुभकामना मेरी आमा !