February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

सन्दिग्ध

मलाई फेरि भेट्नुछैन
तिम्रासामु आउनुछैन
सपना र वास्तविकताको बिचमा
हाम्रो सम्बन्धको वर्णन गर्नुछैन।

म समेट्दै छु, म जोड्दै छु
हामीबिचका अनबनहरूलाई
म अपूर्णलाई पूर्णता दिने
तिता कर्मलाई मिठो बनाउने
हरबखत,हरक्षण कोसिसमा छु
तर,त्यो नाताको जगमा कुनै आदर छैन
परिस्थिति सम्हालिने कुनै छाया छैन ।

म थाकिसकेँ, म हारिसकेँ
फेरि तिम्रैसामु आउन म डराइसकेँ
मनले भोगेको पीडा मगजलाई के थाहा ?
नयनको रोदन त्यो स्नेहले के गाँस्ला ?

भावनाका यी जटिल लहरहरू
जसमा अनगिन्ती कुरा छन्
तिमी ठम्याउँछौ होला
सायद बुझ्छौ होला
अनि देख्छौ स्पष्टता
एउटा गहिरो सम्पर्कको बिच
विशाल अहम् त्यागी
फेरि बात मार्छौ होला ।

तिमी कस्तो छौ ?
मलाई फेरि जान्न मन छ
तिम्रो हँसिलो मुहारमा रम्‍न मन छ
के तिमीलाई याद छ ?
हाम्रो अन्तिम बात
के तिमीलाई याद छ ?
हामीबिचको अन्तिम साथ ?

कस्तो मोहनी लगायौ कुन्नि
भुल्न खोज्छु तर झल्को आउँछ
भेट्न खोज्छु खै मन तहसनहस भएछ
के तिमीले बिर्सियौ मलाई ?
के हामीबिचको सम्बन्ध त्यागेकै हौ त ?
त्यो पथ नियाल्दा हरकोही भेट्छु
तर तिमीलाई पाउन्नँ
हामीलाई चिनाउने चिनारी त छ
तर निर्जीव र अस्त्रहीन बने छ।

अनन्त विश्वास गर्नु घातक हुने रहेछ
शान्त परिवेशमा मन रुमल्लिने भएछ
कसैको झुठको प्रभावले
कसैको एउटा मूर्खताले
जीवन नै व्यतीत गर्न कठिन बनेछ ।

त्यसैले, म फेरि तिमीलाई भेटन चाहन्छु
अनगिन्ती बात मार्न चाहन्छु
जूनतारासँगै रात्रिमा
जूनकिरीको चमक अनि
तिम्रो एक झलकमा
म रात काट्न चाहन्छु ।