धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण

१ माघ, काठमाडौँ ।
साहित्यकार धीरकुमार श्रेष्ठका दुई समालोचनात्मक पुस्तकको एकसाथ लोकार्पण भएको छ । उक्त पुस्तक आज माघ एक गते काठमाडौँको पद्मकन्या क्याम्पसमा आयोजित ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ सार्वजनिकीकरण एवम् अन्तर्क्रिया’ कार्यक्रममा लोकार्पण गरिएका हुन् ।
ऐरावती प्रकाशन प्रा.लि. ले प्रकाशन गरेका दुई कृति ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ कार्यक्रमका सभापति रामदेव पाण्डे, प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. देवीप्रसाद नेपाल, उपप्राध्यापक अनुपमा रेग्मी र लेखक धीरकुमार श्रेष्ठद्वारा सम्युक्त रूपमा लोकार्पण गरिएका हुन् ।
पद्मकन्या काम्पसकी उपप्राध्यापक अनुपमा रेग्मीले लोकार्पित दुईमध्ये ‘अध्ययन विश्लेषण’ कृतिमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । उहाँले प्रस्तुत कृतिभित्र काव्य, नाटक, बालसाहित्य, व्याकरणलगायत विविध विधासँग सम्बन्धित समालोचनाहरू समावेश भएको जानकारी दिनुभयो । पुस्तकमा समाविष्ट समालोचनाहरूमा समालोचनात्मकभन्दा बढी काव्यिक भाषा प्रयोग भएकाले यस सङ्ग्रहलाई निसमालोचना भन्न सकिने उहाँले बताउनुभयो ।
अर्को कृति ‘आख्यानको आँखीझ्यालमाथि समीक्षात्मक मन्तव्य राख्दै प्रा.डा. कुमारप्रसाद कोइरालाले भन्नुभयो, “सूक्ष्म पठनमा आधारित यस पुस्तकमा समावेश गरिएका समालोचनाहरूमा कृतिकारको परिचय, कृतिकारका लेखनको इतिहास समेट्दै तत्त्वगत आधारमा कृतिको विश्लेषण गरिएको छ ।” उहाँले सिद्धान्त र व्यवहार दुवै पक्षलाई समेट्ने प्रयास गरिएका ती समालोचनाहरू व्यवहारिक तथा आधिकारिक रहेको जानकारी दिनुभयो ।
प्रा.डा. देवीप्रसाद नेपालले समालोचनात्मक मन्तव्यका क्रममा ‘अध्ययन विश्लेषण’ मा आख्यानात्मक शैली अलिक बढी प्रयोग भएको जानकारी दिनुभयो ।
अर्का वक्ता प्रा.डा. रामप्रसाद ज्ञवालीले उल्लिखित पुस्तक श्रमको सौन्दर्य खोजी गर्ने प्रयास गरिएका, अलि बढी खोजपरक र अलि कम शोधपरक समालोचना सङ्ग्र भएको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले उक्त पुस्तकमा देखिएका केही कमीकमजोरीहरू उल्लेख गर्नुभयो । उहाँका विचारमा यी कृतिमा प्राध्यापकीय समालोचनाहरू समावेश गरिएका छन् । कक्षामा विद्यार्थीलाई पढाउने स्तरमा तयार पारिएका लेख प्राध्यापकीय समालोचना हुन् । यसै गरी समालोचकले कृतिकारको सम्बन्धित विधागत परिचय मात्र दिनुपर्नेमा यी पुस्तकमा सङ्कलित समालोचनामा लेखकको सर्वपक्षको परिचय दिएको छ । उहाँले प्रस्तुत कृतिले समालोचनाको सैद्धान्तिक आधार राम्ररी समाउन नसकेको जिकिर पनि गर्नुभयो ।
कृतिका लेखक धीरकुमार श्रेष्ठले लेखनका क्रममा भएका केही कमीकमजोरी स्वीकार गर्दै आगामी दिनमा अझ सशक्त ढङ्गले लेखनलाई अघि बढाउने जानकारीका साथै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।
साहित्यकार देवु लुइँटेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अर्का साहित्यकार आनन्द तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो । करिब दुई घण्टा सञ्चालित उक्त कार्यक्रममा प्रमोद प्रधान, राम विनय, भागीरथी श्रेष्ठ, तेजविलास अधिकारी, वासुदेव अधिकारी जस्ता स्थापित साहित्यकारका साथै सयौँ साहित्यानुरागीहरूको सहभागिता थियो ।

अन्त्यमा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद अर्पण गर्दै कार्यक्रमका सभापति साहित्यकार रामदेव पाण्डेले कार्यक्रमलाई औपचारिक रूपमा समापन गर्नुभयो ।
प्रतिकृया दिनुहोस्