योङ्ग पिकासोका दुई कार्यक्रम सम्पन्न
१३ पुस
आज विदुर नगरपालिका, नुवाकोटका उपमेयर प्रभा बोगटीको प्रमुख आतिथ्यता, योङ्ग पिकासोका निर्देषक अजय देशारको अध्यक्षता र सञ्चारकर्मी बिएम आचार्यको उद्घोषणमा पाटन सङ्ग्रहालयमा योङ्ग पिकासोले पुस्तक लोकार्पण र चित्रकला प्रदर्शनीको उद्घाटन जस्ता दुई महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सोमनाथ दाहालले लेखेको ‘पङ्ख फुका पन्छी’ लोकार्पण भएको हो । ‘पङ्ख फुका पन्छी’ समीक्षा भट्ट, स्नेहा मल्ल, प्रज्ना श्रेष्ठ, राजन ठाकुर, आकृति मानन्धर, प्राप्ती कुँवर, आशीर्या देशार, सराना गिरी, आइशा सुनुवार, नोरिन श्रेष्ठ, रोजलिन प्रधान, नोरा श्रेष्ठ, भूमि श्रेष्ठ, पालिजा महर्जन र लनी लामा गरी योङ्ग पिकासोका पन्ध्र जना प्रशिक्षार्थी बाल चित्रकारसँग कुराकानी गरी उनीहरूका आनीबानी, चित्रकला, शिक्षा, रुचि, भविष्यको योजनालगायत विविध पक्षको लेखाजोखा गरी तयार पारिएको बालसमीक्षात्मक कृति हो ।
बौद्ध दर्शनका अन्वेषक तथा योङ्ग पिकासोका सल्लाहकार शाक्य सुरेनको स्वागत मन्तव्यपछि सम्पूर्ण अतिथिहरूले सामूहिक रूपमा पुस्तक लोकार्पण गर्नुभयो ।
कार्यक्रममा पुस्तकका लेखक सोमनाथ दाहालले उक्त पुस्तक तयार हुँदाको सन्दर्भ चर्चा गर्नुभयो भने ‘मुलुक टाइम्स’ का सम्पादक सञ्जीव सिंहले उक्त पुस्तकको महत्त्व दर्साउँदै लेखक तथा कृतिमा समाविष्ट बालचित्रकारहरूलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो । प्रमुख अतिथि प्रभा बोगटीले आज बालबालिकाको प्रतिभा प्रस्फुटन तथा उनीहरूलाई प्रेरित गर्ने निकै महत्त्वपूर्ण कार्य सुसम्पन्न भएको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष अजय देशारले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै लोकार्पणको कार्यक्रम समापन गर्नुभयो ।
पुस्तक लोकार्पणको समापनपछि प्रमुख अतिथिले ढोका खोली ‘योङ आर्टिस फ्रम द वल्ड, अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी – २०२४’ को उद्घाटन गरियो । त्यहाँ नेपाल, भारत, बङ्लादेशलगायत विभिन्न देशका पाँच दर्जन जति बाल चित्रकारका एक सय पाँच सुन्दर चित्र प्रदर्शन गरिए । योङ्ग पिकासोको तथा कलर फर पिसको आयोजनामा सञ्चालन गरिएको उक्त प्रदर्शनीमा बङ्गलादेश, भारत, मौरिससका १० तथा नेपालका ५४ जना बालचित्रकारहरुका चित्र राखिएका छन् । चित्रकला प्रदर्शनी यही पुस १५ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिकृया दिनुहोस्