January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

केही मुक्तक

एक
धरी घरी किन तिमी मुटु चोर्न आउँछौ
अति भयो अझै तिमी मुटु कोर्न आउँछौ
आरामसँग बस्‍नै दिन्नौ कुनै बेला पनि
किन मेरो अझै तिमी मुटु फोर्न आउँछौ ।

दुई
तिम्रो दिलको बगैँचामा भमरा म बन्न सकूँ
सधैँ सिरमा सिउरिने जमरा म बन्न सकूँ
सम्बन्धको गाँठो कस्न खोजेँ मैले तिमीसितै
तिम्रो तस्बिर खिच्न पनि क्यामरा म बन्न सकूँ ।

तीन
तिम्रो मेरो चिसिएको सम्बन्धलाई तताएर
पोख्छौ अरे मनका कुरा आफन्तलाई बताएर
भन्न किन सक्दिनौ नि मेरा सामु आई तिमी
काहाँ मिल्छ शान्ति तिम्रो हेर मलाई सताएर ।

चार
नेतालाई कानुन कुनै लाग्नुहुन्न भन्छ
सानाले देश छोडी भाग्नुहुन्न भन्छ
जे जे हुन्छ आफ्नो देशमा चुपचाप बस
जनता चाहिँ देशमा जाग्‍नुहुन्न भन्छ ।

पाँच
पातजस्तै झरी गयौ समाएरै बाँचेको छु
मुटुभित्र तिम्रो फोटो सजाएरै बाँचेको छु
रुवाएर गयौ तिमी पखालियो मैलो जति
पलाएको पालुवा हुँ रमाएरै नाचेको छु ।