खोला
तल चम्कन्थ्यो हिराझैँ बालुवा
सेता ढुङ्गा टल्कने ।
त्यसैमाथि बग्ने गर्दथ्यो खोला
सूर्य किरण झल्कने ॥
खेल्ने गर्दथे त्याहाँ माछा र भ्यागुता
नाच्थे रमाई पानीमा ।
खराब स्वभावहरू केही थिएन यिनीमा
खोट थिएन बानीमा ॥
ध्यान गरे जसरी खोला किनारामा
बकुल्ला चरी बस्दथे ।
जब माछा देख्थे चालै नदिईकन
झुक्काई सिकार गर्दथे ॥
काठमाडौँको यही उपत्यकाभित्र
बग्थे खोला यसरी ।
श्रावण, भाद्र महिना वर्षाद लागेपछि
बढ्थ्यो बाढी बेस्सरी ॥
खाली थियो फाँट, सबै जुट्थे किसान
मेहनत गर्ने बानीले ।
फाँटैभरि अन्न फलाउँथे हेर
यही खोलीको पानीले ॥
तर आज हेर्दा त्यति राम्रा खोला
कुरूप बनाइदिए ।
बालुवा र ढुङ्गा बेची बेचीकन
व्यक्तिले फाइदा लिय ॥
पवित्र मानेर स्नान गर्दथे
गङ्गाको नाम जपी ।
यिनै खोलाहरूमा फोहर ढल मिसाई
गराइदिए दुर्गन्धी ॥
प्रतिकृया दिनुहोस्