स्पात हुँ म !
लुप्त लुकिरहेका
सुस्त बहिरहेका भावनाहरू
दबिएको सासभित्रका उन्मुक्तिका आवाजहरू
एक अनकन्टार ठाउँमा खनिन्छन्
आफैँ उब्जिन्छन्, आफैं खनिन्छन्
अनि अफैँ भन्छन्-
तँ नआत्ती, यो एउटा यात्रा हो
तँ हिँड्नुपर्छ, हिँडिरहनुपर्छ, हिँडिरहनैपर्छ
जाबो पीडाहरू !
आएर मलाई सिकाउँछन्
सम्झाउँछन्
पीडाहरूको सौदाबाजी गर्ने मलाई
कहिलेकाहीँ मभित्रको ‘म’
बिर्सिएर आफैँलाई दुःखको ठुलै वनबास पनि जान्छ
सिक्न, बुझ्न जन्मिएको मभित्रको ‘म’
त्यहीँभित्रको प्रतिकूलतामा पनि
सम्हालिन सक्ने मभित्रको ‘म’
त्यही ‘म’ लाई मात्रै चिन्न
वनबास गएको अनुभव गर्छु म ।
महाभारतको युद्ध चलेजस्तै
सारा खुसीहरू लङ्कामा अपहरण भएजस्तै
मेरा खुसीहरू वनबास लाग्दा
बा ! म तिमीलाई सम्झन्छु !
यही माटोका शासक कोही हिरण्यकशिपु
कोही रावण
तिनले मलाई होच्याइदिँदा
हालतहरूसँग दाँजिदिँदा
बा ! म तिमीलाई नै सम्झिन्छु ।
तैपनि बा !
म मेरा सासभित्राको साहस ब्युँताई हिँड्न सक्छु
तिम्रा अस्तित्वको महसुसले नयाँ पाइला चाल्न सक्छु
तिम्रै सपना देखेर पनि हिँड्न सक्छु
तिम्रो एउटा सपना पूरा गर्न
मेरा अनेक सपनाको आहुति दिन सक्छु ।
थकाइ, ठेस, चोट लाग्दाझैँ
आराम गरिहाल्नुपर्ने दुखाइ हैन मेरो
मलाई थकाउन खोज्दाखोज्दै
थकाइ स्वयम् थाकिसक्छ
मलाई चोट दिँदैदिँदै चोट स्वयम् घाइते हुन्छ
दुखाइहरू मेरा सामु स्वयम् दुख्न थाल्छन्
मेरा बा !
चिन्ता नगर तिमी
म इस्पात हुँ
मलाई केही हुँदैन ।
लेखकको सम्वन्धमा