January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

रतुवामाई समाज सम्बन्धी मेरो धारणा

मलाई आज एउटा लेख लेख्ने रहर लाग्यो। कहिलेकाहीँ समाजसामु आफ्ना मनका विचारहरु पस्किन पाउँदा मन प्रफुल्ल बनेर आउने गर्दछ । त्यसमा पनि रतुवामाई समाजले स्मारिका निकाल्न लागेको खबरले एउटा लेख लेख्न झनै कुत्कुत्यएको छ । आज म मेरै परिवेश र मेरै भोगाइ मन खोलेर व्यक्त गर्न चाहन्छु । तपाईँकै छोरो, भाइ, दाजु आदि मानेर यसको गहिराइ बुझ्ने प्रयास गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।

पहिला मेरो घर तत्कालीन सिजुवा गाविस वडा नम्बर १ डाँडा गाउँ हो । अहिले त्यो रतुवामाई सात भएको छ । म अहिलेचाहिँ विराटनगर ३ मा बस्ने गर्दछु । मैले जतिबेला सिजुवा छोडेर विराटनगर प्रवेश गरेँ त्यसबेला विराटनगर १२ महेन्द्र भट्टराईको घरमा डेरामा जीवन बिताउन सुरु गरेँ । मलाई सुरुमा त रमाइलो नै लाग्यो तर समय बित्दै गएपछि अभाव समस्या बढ्दै गए । अनि ‘बेकार विराटनगर आएछु ! जस्तो लाग्न थाल्यो । एक्लोपनले सताइरह्यो ।

सबै समयको खेल रहेछ । हिजो सिजुवामा आफू र आफ्नो परिवारलाई दुःख सुखमा साथ दिने बुवाआमा, दाजुभाइ, दिदीबहिनी सबैसँग घुलमिल गर्ने मौका अहिले विराटनगरमै पाइएको छ । रतुवामाई समाज स्थापना भएको छ । त्यस समाजले इस्मारिका निकाल्न खोजेको छ । अबचाहिँ विराटनगरमै हिजोको सिजुवासरह आत्मीय वातावरण बन्छ भन्ने लक्षण देखिन थालेको छ । त्यो वातावरण बनाउन अहम भूमिका निर्वाह गरिरहने सिङ्गो रतुवामाई समाज र त्यसका अध्यक्ष मेरा प्यारा दाजु विष्णुप्रसाद लामिछानेलाई व्यक्तिगत रूपमा धन्यवाद दिनै पर्दछ।

समाज भन्ने बित्तिकै विभिन्न परिवारको छाता भन्ने कुरामा म सहमत छु । रतुवामाई समाज एउटा त्यस्तो छाता बनेर आएको छ जसले धनी र गरिब भन्दैन, यो पार्टी र त्यो पार्टी भन्दैन, हरेक समाजमा आबद्ध परिवारको दुःख सुखमा भाग लिने काम गर्दछ । बेलाबखत समाजका सदस्यलाई एकै ठाउँमा जम्मा गरेर रमाइला रमाइला कार्यक्रमहरू गर्दछ । यस मानेमा पनि रतुवामाई समाजको स्थापना र आजको इस्मारिका प्रकाशनको प्रयास असाध्यै सराहनीय छ ।

यस क्षण मेरा मानसपटलमा मेरै बाल्यकालीन सन्दर्भहरू ताजा भएर आइरहेका छन् । तिनलाई म कदापि बिर्सन सक्दिनँ । सिजुवा, सौँठा, झुनावारी, रतुवा खोला, कचला खोला, डाँगीटोला, धोकरियामनि, गौचरम, लुहागाडा र यसैको सेरोफेरोमा मेरो जीवनका धेरै वर्षहरू बिते । अर्थात विक्रम सम्वत २०५४ साल भाद्र ४ गते विराटनगर आउनुअघिसम्मको समय मैले त्यहीँ बिताएँ । तिनै ठाउँ, त्यही परिवेश, रुख, बोट, माटो, खेतका गरा, बालीनाली, इष्टमित्र आदि आदि म सिनेमाका दृश्य झैँ झलझली सम्झिरहेको छु । र, यो सम्झना स्वभाविकै हो भन्ने ठानेको छु ।

अब गाँठी कुरो गरौँ । मेरो विगत जहाँ बित्यो त्यस ठाउँमा हाम्रो एकता थिएन भने कसैलाई पनि बस्न सहज थिएन । त्यहाँ दिउँसै चोरी, लुटपाटका घटना हुन्थे । बलात्कार हुन्थ्यो । दिउँसै मानिस बेपत्ता पारिन्थे । खोला र बाढी पसेर घरबारविहीन बनाउँथे । त्यस विकट परिस्थितिमा सिङ्गो समाजको एकताले हामी सबैलाई बचायो । आज यस परिस्थितिमा पनि त्यही एकताको बलियो भावना भएको समाजको उत्तिकै आवश्यकता देख्छु म ।

मैले समाजलाई स्मरण गरिरहँदा त्यहाँ म र मेरो परिवारसँग जोडिएका धेरै नामहरू आउने गर्दछन् तथापि सबैजनाको नाम लिन पनि सम्भव छैन । तथापि त्यहाँका अगुवाहरू खेमनाथ भट्टराई, लैनबहादुर खड्का, मदनलाल ताजपुरिया, खड्गप्रसाद रिजाल, हरिप्रसाद गुरागाई, टीकाराम ढुङ्गाना, दिल्लीप्रसाद लामिछाने, भीमप्रसाद लामिछाने, त्यस्तै मोहनप्रसाद दाहाल, विष्णु गोदार थापा, चूणामणी खनाल, मोहनप्रसाद गौतम, भीमप्रसाद खनाल, घनश्याम ढुङ्गाना, चीरञ्‍जीवी ढुङ्गानालगायत विभिन्न व्यक्तित्वहरूको स्मरण गर्नैपर्ने हुन्छ । उहाँहरुबाट जीवन सङ्घर्षको दौरानमा जुन किसिमको आर्थिक, भौतिक, सामाजिकलगायत मानवीय सहयोगहरू मैले पाएँ त्यो स्मरणयोग्य रहेको छ । र, त्यहाँ अगुवाइ गर्ने व्यक्तिहरूबाट नै रतुवामाई समाज स्थापनासम्मको भूमिका खेलिनुले यो एउटा ऐतिहासिक संस्था हो भन्नेमा मेरो बुझाइ रहेको छ ।

मान्छे जहाँ हुन्छ त्यहाँ परिवार हुन्छ। परिवार जहाँ हुन्छ त्यहाँ समाजको आवश्यकता पर्दछ। हरेक परिवारलाई चलायमान बनाउनु समाजको जिम्मेवारी पनि हो। यसैअन्तर्गत रतुवामाई नगरपालिकाभित्र बसोबास गरी हाल विराटनगर बस्ने परिवारबिच रतुवामाई समाज एउटा गतिलो सारथी बनेर आएको छ। यो संस्था जन्माउन जति सरल बन्यो त्यसभन्दा कठिन बचाउनका लागि छ । हामी सबै एकजुट बनौँ । समाजका हरेक सदस्यको सुख दुखमा उपस्थित बनेर अगाडि बढौँ । 

को हिजोको सिजुवाको थियो ? को इटहराको अथवा अन्य कुनै गाविसको थियो ? भन्दा पनि हामी सबैले सबैको समान अस्तित्वप्रति सम्मान गरौँ । सहअस्तित्वलाई स्वीकार गरौँ । सामूहिक निर्णय गरेर अगाडि बढ्ने परिपाटीको विकास गरौँ । त्यसो गर्दा रतुवामाई समाजको भविष्य अत्यन्तै उज्यालो छ । यसको निरन्तरतामा कुनै समस्या आउने छैन भन्ने मेरो बुझाइ छ । त्यस्तै मिठो सुन्दर सपना र भविष्य बोकेको रतुवामाई समाज सदा प्रगतिपथमा लम्कियोस् भन्ने कामनाकासहित यो लेख अन्त्य गर्दछु ।

जय रतुवामाई समाज !