निबन्धलेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला सम्पन्न
मङ्सिर ९, झरना सञ्चार ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको आयोजनामा मङ्सिर ९ गते इपिएस स्कुल मीनभवनमा निबन्धलेखनसम्बन्धी प्रशिक्षण तथा कार्यशाला सम्पन्न भएको छ । दुई घण्टा बिस मिनेट लामो उक्त कार्यक्रममा इपिएस स्कुलको सात कक्षामा अध्ययनरत अन्ठाउन्न जना विद्यार्थी सहभागी भएका थिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, निबन्ध विभाग नेपालका साल्लाहाकार तथा अग्रज स्रष्टा शान्ता मानवीले अध्यक्षता गर्नुभएको उक्ता कार्यक्रममा प्रलिसा अधिकारीले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । भर्खर १२ कक्षा उत्तीर्ण गर्नुहुने प्रलिसा इपिएस स्कुलकै पूर्व विद्यार्थी तथा किशोर स्रष्टा हुनुहुन्छ ।
राष्ट्रिय जनसाहित्यिक सङ्घका उपाध्यक्ष एवं निबन्ध विभागका संयोजक नर्मदेश्वरी सत्यालको संयोजन र निबन्ध विभागका सदस्य पार्वती राउतको सञ्चालन रहेको उक्त कार्यक्रममा निबन्ध विभागकै अर्का सदस्य सोमनाथ दाहालले सैद्धान्तिक, व्यावहारिक र कार्यमूलक रूपमा विद्यार्थीलाई प्रशिक्षित गर्नुभयो ।
नेपाली विषयलाई विद्याल, विद्यार्थी र अभिभाक कसैले पनि महत्त्व नदिएको वर्तमान समयमा विद्यार्थीलाई नेपाली भाषा र साहित्यप्रति प्रेरित तथा प्रशिक्षित गर्ने आजको कार्यक्रम फलदायी भएको विचार सोही विद्यालयका शिक्षक मन्दिरा गजुरेलले प्रकट गर्नुभयो ।
सहभागी विद्यार्थीहरूले निबन्धको परिचय, प्रकार र निबन्ध लेख्ने तरिका सजिलै बुझ्न र जान्न पाएकामा खुसी व्यक्त गरे । उनीहरूले उचित वातावरण पाए नियमित रूपमा निबन्ध लेखनमा लाग्ने अठोट पनि व्यक्त गरे ।
अन्त्यमा कार्यक्रम सञ्चालनको वातावरण मिलाइदिने विद्यालय परिवार, सहयोग गर्ने शिक्षक, कार्यक्रममा सहभागी विद्यार्थी तथा सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्षबाट कार्यक्रम समापन गरियो ।
प्रतिकृया दिनुहोस्