पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह

पचासको दशकको पूर्वार्धतिर तेह्रथुम म्याङ्लुङको सिंहबाहिनी माविमा पढ्न थालेदेखि मैले नजिकबाट चिनेको हो  गैरीगाउँ पिप्लेका खेम सर अर्थात् खेमनाथ निरौलालाई । कक्षा ९ र १० मा उनले नेपाली विषय पढाए । उज्यालो अनुहार, गहुँगोरो वर्ण, अग्लो कद र सलक्क परेको जिउडाल खेम सरको विशेषता थियो । तिलचामले कपालमाथि बुट्टेदार तेह्रथुमे ढाकाको टोपी, टोपीभित्र लामो टुप्पी, निधारमा ऊर्ध्वपुण्ड्र तिलक, गलामा तुलसीको माला, सेता कुर्था सुरुवाल र इस्टकोट खेम सरका थप पहिचान थिए । नेपाली, संस्कृत र हिन्दी भाषामा विशेष दक्षता हासिल गरेका खेमनाथ सर मैले जान्दादेखि नै पिप्लेको गोपेश्वर शिवालय मन्दिरनजिकै गैरीगाउँ स्थित आफ्नै पुर्खौली घरमा बसोबास गर्दथे । 

२०८१ सालको भदौ १७ गते सोमबार अर्थात्  कुशे औंसीको भोलिपल्ट मीरा घिमिरेले फेसबुकमा राखेको एउटा फोटोमा आँखा ठोक्किएपछि मलाई अचानक खेम सरसँगका विगतका क्षणहरूले मनमस्तिष्कमा कम्पन पैदा गरे । मीराले एकैसाथ राखेका तीनवटा फोटाहरूमध्ये दोस्रो फोटोमा म निकै घोत्लिएँ । पिप्लेको पुर्खौली घरको आँगनको कुर्सीमा बसेका थिए खेम सर । दायाँतिर तीनवटी छोरी, ठिक पछाडि एउटी छोरी र बायाँतिर दुईवटी छोरीसहित गुरुपुत्र सुभाष निरौला उभिएका थिए । पश्चिम ढल्किएको प्राकृतिक पहाडी भूखण्डको माथि खेमनाथ सरको घर पश्चिमोत्तर र दक्षिणपूर्वी लम्बाईमा  बनेको छ । उभिएका केहीको पश्चिमोत्तर दिशामा छाँया देखिन्छ आँगनमा । त्यसैले मैले अनुमान गरेँ यो फोटो बिहानको नौ दश बजेतिर खिचेको हुनुपर्छ ।  

फोटोमा उभिएका छजना चेलीबेटीहरू खेमनाथ सरका छोरी हुन् भन्ने बुझ्न मलाई कठिन भएन । यो कुरा फेसबुकमै पनि खुलाइएको छ । सुभाष सरलाई त मैले नचिन्ने कुरै थिएन । सिंहबाहिनी माविमा मैले उनीसँग कक्षा ८ मा विज्ञान विषय पढें । २०८१ साउनमा  ठुटेपसलदेखि इटहरीसम्म संयोगले सँगै यात्रा गरें  । खेम सर आरामै हुनुहुन्छ ? सुभाष सरलाई सोधेको थिएँ । बुबा सन्चै हुनुहुन्छ – सुभाष सरको उत्तर थियो । उनीहरू पछाडिको सिटमा बसेका चिनेजानेकाहरूसँग देश विदेशका कुराहरू गरिरहेका थिए । मैले त्यसमा सहभागिता जनाइनँ । इटहरीसम्म पुग्दा आकक्लझुक्कल बाहेक उनीसँग खासै कुराकानी भएन । खेम गुरुका छजना छोरी छन् भन्ने मलाई थाहा थिएन । चेलीबेटीले घर कति उज्यालो हुन्छ त्यो म राम्ररी जान्दछु । सात सन्तान नै घरमा एकै साथ उपस्थित भएपछि खेम गुरुलाई उज्यालोको अरू कुनै बैकल्पिक स्रोत नचाहिने रहेछ । छजना छोरी र एकजना छोरा अनि उनीहरूका ज्वाइँ, बुहारी, नातिनातिना आदिको मायाप्रेमले खेम सरको उत्तरार्धको जीवन निष्कण्टक रहने सुनिश्चित छ । देब्रेतिर कलेजी रङको कुर्थासुरुवाल र सेतो सल लगाएर उभिएकी चेलीको अनुहार दुरुस्तै सुभाष सरकै जस्तो । 

फोटो जुम गरेर हेरेँ, आँगनमा छप्पर ढुङ्गा ओच्छ्याइएको र ती ढुङ्गालाई जोड्न सिमेन्ट प्लास्टर गरिएको थियो । बार्दलीको तल्लो भाग मात्र देखियो । सेतो घरको गारोमा गाढा सुन्तले रङको निदाल र सिकुवाका थामहरू देखिए । आँगनको माथिल्लो कुनामा फिका सुन्तले रङको कभरले ढाकेर राखिएको मोटरसाइकलको पछाडिको चक्काको तल्लोभाग मात्र देखिन्थ्यो । तराई आउँदा वसन्तपुरबाट बस चढेको मेरो बाल्यकालीन अनुभवलाई भत्काएको थियो खेम सरको आँगनमा राखिएको मोटरसाइकलले । गाउँमा त्यो पनि घरघरमा मोटरसाइकल पुग्छ भन्ने कुरा केही दशक अघिसम्म कल्पनाबाहिरको विषय थियो त्यस भेगका निम्ति । 

टोकियोको व्यस्त जीवनका बिचमा पनि पिप्लेलाई म अचेल बाक्लै सम्झिरहन्छु । आफ्नो सालनाल गाडिएको भूमिसँग मनले गहिरो गरी सम्बन्ध गाँसेको हुँदो रहेछ । आमाका कोखबाट धर्तीमा टेकेको पहिलो भूमि हुनुका नाताले पिप्ले मेरा निम्ति जीवनको सबैभन्दा पहिला आँखाका नानीमा सजिएको भूमि हो । आमाको कोखबाट जन्म मात्र होइन दशधारा दूध पनि मैले यही भूमिमा पिउने सौभाग्य पाएँ । मेरो शरीरमा जुन तागत छ त्यसको पहिलो स्रोत नै पिप्लेको पानी हो । मेरो फोक्सोलाई पिप्लेको हावा प्रिय लाग्छ, आफ्नै लाग्छ  । पोतेको ढुङ्‌गादेखि पिप्ले पुछारसम्म मलाई जहाँ टेके पनि पवित्र लाग्छ । मेरो चारधाम भनेकै पिप्ले हो । अँधेरी खोलाको पानी, पात्लेचहुरको शीतल हावा र पिप्लेको अन्न मेरा निम्ति सबैभन्दा बहुमूल्य चिज हुन् ।  पेरिसदेखि पेन्सिलभानियासम्म, टोकियोदेखि टेक्सससम्म र साङ्हाइदेखि सिडनीसम्म छरिएर बसेका मेरा अग्रज र समकालीनहरूसँग म कुनै न कुनै रूपमा पिप्लेका कुरा बारम्बार गरिरहन्छु । पूर्वप्रधानपञ्‍च विष्णु खत्री कोदालेका सुपुत्र नृपसिंह खत्रीसँग निरन्तर चार घण्टा पिप्लेकै सेरोफेरोमा कुराकानी गरेको धेरै महिना बितिसकेको छैन । 

खेम सरसँग म कहिलेदेखि फेसबुकमा जोडिएँ तिथिमिति स्पष्ट सम्झना छैन । २०८१ भाद्र १८ गते मैले खेम सरलाई म्यासेन्जरबाट सम्पर्क गरेँ । सामान्य कुराकानीपछि भाद्र २५ गते पुनः सम्पर्क गर्ने सर्तमा फोन राखेँ । यसअघि मेरी बाल्यकालकी सहपाठी मीरा निरौलालाई फोन गरेर खेम सरलाई कसरी सम्पर्क गर्न सकिन्छ भनेर सल्लाह लिएको थिएँ । हुन त मैले छिमेकीद्वय मीना कटुवाल र ईश्वर निरौलालाई पनि खेम सरलाई भेट गर्ने उपयुक्त माध्यम ठम्याएको थिए । पछि उनीहरूसँग यस बारेमा कुराकानी नै भएन । मीराले खेम गुरुका छजना छोरीहरूका बारेमा सामान्य जानकारी गराएकी थिइन् । पूर्वसर्तअनुसार भाद्र २५ गते मंगलबार मैले खेम सरलाई म्यासेन्जरबाट सम्पर्क गरें । कपाल खौरिएको मुडुलो टाउको, सेतो फ्रेम र सेतै सीसा भएको चस्मा लगाएका खेम सरको अनुहारमा उज्यालो आभा देखियो । मुसुक्क मुस्कुराएर बोल्ने खेम सरको पुरानो बानी जस्ताको तस्तै रहेछ । लगभग एक घण्टा दिल खोलेर कुरा गर्‍यौँ गुरु चेलाले । 

१९९७, कार्तिक २२ गते गैरीगाउँमा जन्मिएका खेम सरका परिवारलाई महाजन भन्थे पिप्लेतिर । मैले महाजन किन भनियो भन्ने बारेमा जिज्ञासा राखेँ । प्रत्युत्तरमा उनले भने- मेरा हजुरबुबा छविलाल निरौला पिप्ले डाँडाखर्कबाट तेजपुर आसाम गएर राम्रैगरी धनसम्पत्ति कमाएका, चिनजानका नेपालीहरूलाई नगद जिन्सी सहयोग गरेका र तिनै नेपालीहरूले ‘महाजन’ भन्ने उपाधि दिएका रहेछन् । हजुरबुबा आसामबाट पिप्ले फर्किएपछि अम्फुवा र पिप्लेतिर खेतहरू प्रशस्तै किनेका कारण आसामबाट फर्किएर आएकाहरूले महाजन शब्द निरन्तर प्रयोग गरेछन् । हजुरबुबाको सेखपछि बुबा दिनप्रसाद निरौलालाई पनि सबैले महाजन नै भनेर बोलाउने गरेका कारण पहाडतिर सबैले महाजन निरौला भनेर चिन्ने गरेको जानकारी गराए खेम सरले । 

मैले सिंहबाहिनीमा भर्ना गरेपछि बुबाले महाजन अन्तरे पनि त्यहाँ पढाउँछन् भन्नु भएको म गाढा गरी सम्झिन्छु । महाजन अन्तरे भनेकै खेम सर हुन् । पहाडतिर गैराघरे, माझाघरे, पल्लाघरे, तल्लाघरे, बाटामाथि, बाटामुनि, पैराबारी, ठुलाघरे, बाटाघरे आदि स्थानीय नामहरू राखेर घर चिन्ने चलन हिजोआज पनि छँदै छ । 

दिननाथ निरौला उतिबेला स्वअध्ययन गरेरै पनि गाउँमा राम्ररी पढ्न लेख्न सक्ने व्यक्तिभित्र पर्दा रहेछन् । थरी-मुखियाको काम पनि गर्दा रहेछन् । मुखिया हुनुका नाताले वादी र प्रतिवादीहरू पनि उनीसँग सल्लाह लिन घरमा आउँथे । थरी-मुखियाहरूले उतिबेला गाउँमा हले तिरो (हलगोरु पाल्न सक्ने किसानले तिर्ने कर), पाटे तिरो (एउटा मात्र गोरु पाल्न सक्ने किसानले तिर्ने कर), कोदाले तिरो (गोरु पाल्न नसक्नेले तिर्ने कर), सुजेरे तिरो ( दर्जीले तिर्ने कर) र पलेंटे तिरो (सार्कीले तिर्ने कर) उठाउथें । त्यो उठाएको  कर मालपोतमा लगेर बुझाउँथे । आमा तम्फुला केउरेनीका गुरागाईंकी छोरी कौशिला निरौला निरक्षर थिइन् । यसर्थ पनि गाउँघरमा बुबाको सामाजिक जिम्मेवारी आमाका तुलनामा धेरै थियो । आमा कुशल गृहिणी थिइन् ।  मामलका हजुरबुबाले सुनको बटुकोमा दाल सब्जी खाने हुनाले यताको भेगतिर सुनकचौरे गुरागाईका नामले चिनिन्थे । खेम सरले मेरा प्रश्नहरूको वरिपरि रहेर आफ्नो नालीबेली सुनाए ।

कुराकानीकै क्रममा सात वर्षको बाल्यकालमा घरकै बारीका पाटामा पं. तुलसीप्रसाद घिमिरेका छत्रछायामा दुई हिउँदभित्र चण्डी पढेर सकेको कुरा सुनाए खेम सरले । ताप्लेजुङ ढुङ्‍गेसाँघुका नरपति भण्डारी (नातामा स्व.मदन भण्डारीका काका) गुरुसँग  पिप्लेकै शारदा संस्कृत विद्यालयमा चण्डी, रुद्री र यजुर्वेद पढेको, केशव ढुङ्‌गाना (पिप्लेका भोला ढुङ्‌गानाका दाजु) र पिप्लेका पं. तुलसीप्रसाद घिमिरेसँग लघुकौमुदी र मध्यकौमुदी पढेको अनि धरानको पिण्डेश्वर संस्कृत महाविद्यालय गएर पूर्वमध्यमा (एसएलसी सरह) र उत्तरमध्यमा (आइए सरह) उत्तीर्ण गरेको आफ्नो शैक्षिक प्रगतिको नालीबेली सुनाए उनले । हाइस्कुलतिरको पढाइ पनि  पूरा गरेको, भारतमा आइए र साहित्य शास्त्री (बीए सरह) पढाइका क्रममा भोगेका सुखदु:खहरू सङ्‌क्षेपमा सुनाए उनले । २०३० सालमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट प्राइभेट परिक्षार्थीको रूपमा “५०० वर्ष” पुस्तकका लेखक बालकृष्ण पोखरेल र अनिरुद्ध तिम्सिनासँगै नेपाली विषयमा एमए पास गरेका रहेछन्  । उतिबेला पिप्लेबाट धरान, भारत र काठमाडौँ पढ्नकै लागि पुग्नु अहिले अन्तरिक्ष पुग्नुभन्दा चुनौतीपूर्ण कुरा थियो । आमाबुबाको पूर्ण सहयोग र आफ्नो कठोर मिहिनेतको संयोजनको तागतले खेम सरले त्यहाँसम्मको शैक्षिक उपलब्धि हासिल गरेका रहेछन् । 

२०२३ सालमा विकास जिल्ला शिक्षा निरीक्षकका रूपमा कर्णालीको तिब्रीकोटमा दुई वर्ष जागिर खाएपछि तथ्याङ्‍क विभागमा शाखा अधिकृतको रूपमा काम गरेको पनि सुनाए खेम सरले । २०३० सालमा शिक्षक बन्ने सोच बोकेर जन्मभूमि तेह्रथुम फर्किएपछि शङ्‍कर मावि जलजलेमा संस्कृत शिक्षकको दरबन्दीमा छ महिना पढाएका रहेछन् । त्यसपछि सदरमुकाम म्याङ्लुङ बजारको सिंहबाहिनी माविमा २०३० सालको आधादेखि पढाएका खेम सरले २०५७ चैत-१ सम्म सेवा गरेका रहेछन् । २०३८ सालमा तेह्रथुम बजारका ईश्वरमान श्रेष्ठ, सोल्माका हरिनारायण खनाल, साब्लाका विष्णु सुवेदी, जिरिखिम्तीका मकर गुरुङसँगै खेम सरले सदरमुकामको म्याङ्लुङ क्याम्पस तेह्रथुमको स्थापनामा अग्रणी भूमिका खेलेका रहेछन् । उमानाथ भट्टराई केही समयपछि त्यहाँ पढाउन आएका हुन् – खेम सरले कुराकानीकै क्रममा सुनाए । 

लीलाबहादुर तुम्बाहाम्फे र जगदीशकुमार श्रेष्ठले क्याम्पसको व्यवस्थापन सम्हालेका थिए- खेम सरका मुखबाट सुनेको वाक्य हो यो । कृष्णप्रसाद सापकोटा, विष्णुकुमार तुम्बाहाम्फे, देवीबहादुर तुम्बाहाम्फे, तेजमान तुम्बाहाम्फे, ज्ञाननाथ सुवेदी, लक्ष्मीकान्त ढुङ्‍गाना, गंगा ढुङ्‌गाना, भीमप्रसाद निरौला आदिको सक्रिय सहभागिताले क्याम्पस स्थापना गरेको इतिहास सुनाए उनले । मैले २०५६/५७ सालमा कक्षा ११ र १२ पढ्दा ईश्वरमान श्रेष्ठ क्याम्पस प्रमुख थिए । तिलचामले लामा दारी र डोरीवाला चस्मा श्रेष्ठको पहिचान थियो । विष्णु सुवेदी सर, खेम सर र उमानाथ भट्टराई सर कार्यरत थिए । हरिनारायण खनाल र मकर गुरुङलाई मैले देखिनँ । उतिबेला  गुरुङको परिवार जिरिखिम्ती बजारको बिचनेर बसोबास गर्दथे । म्याङ्लुङ क्याम्पस भन्नेबित्तिकै म मेरा साथीहरू नागदहका दीपक ढुङ्‌गाना, जिरिखिम्ती आङ्दिमकी षष्ठिका रेग्मी, आङ्दिमकै रामदेवी दाहाल, पिप्लेकी अन्जना आचार्य, धनकुटाका खिरबहादुर बुढाथोकी र साब्लाकी मन्जु सुवेदीलाई विशेष सम्झिरहन्छु । मेरा सम्झनामा अरू थुप्रै साथीहरू छन् त्यतातिर । 

तथ्यमा टेकेर बोल्ने खेम सरलाई मैले पारिवारिक प्रश्नहरू पनि गरेँ । छजना छोरीहरूमध्ये जेठी निर्मला अर्याल वकील, माहिली मुना घिमिरे, साहिंली मन्दा पोखरेल, अन्तरी शान्ता घिमिरे र कान्छी गीता दाहाल शिक्षण पेसामा आबद्ध रहेको र काहिंली मीरा घिमिरे बैंक कर्मचारी छन्- खेम सरले छोरीहरूको विवरण सुनाए । राम्रो आर्थिक अवस्था र शिक्षित पारिवारिक वातावरणमा जन्मिएर हुर्किएका गुरुपुत्रीहरू स्वनिर्भर, स्वाबलम्बी र शिक्षित भएको सुन्दा खेम सरको सफलताको चम्किलो बत्ति पिप्लेको आकाशमाथि वरिपरि प्रकाश फैलाएर चम्किएको आभास भयो । घाँसदाउरा र मेलापातमा लगाएर पन्ध्रसोह्र वर्ष नपुग्दै बिहे गरिदिने समाजमा खेम सरको घर अपवाद रहेछ । गुरुपुत्र सुभाष सर यतिबेला विद्यालयका शिक्षकका अतिरिक्त खेम सर आफैँले विवेकको पसिना बगाएर स्थापना गरेको म्याङ्लुङ क्याम्पसका क्याम्पस प्रमुख छन् । 

सातैजना सन्तानलाई समय समयमा आउने दुःखका महासागरहरूसँग पौँठेजोरी खेल्दै जागिरे बनाउन सक्नु सफल अभिभावकत्वको परिणाम हो । मैले तेह्रथुमतिर होस् वा तराईका केही जिल्लातिर होस् । आफैंले पढाएको दोलखा सुनखानीको कालिनाग मावि वा कालिनाग बहुमुखी क्याम्पस होस् सहकर्मीहरूका सन्तानहरूले अक्सर गरेर शैक्षिक सफलता हात पारेको देखेको छु । रामबहादुर सिवाकोटी, कमल कार्की, गंगा पौडेल, विदुर शर्मा, प्रेमप्रसाद सिवाकोटी, माधव सिवाकोटी, इन्द्र सिवाकोटी, जगतमणि सिवाकोटी आदि सबै शिक्षकका सन्तानहरूको शैक्षिक गति तेजिलो पाएँ । सिंहबाहिनी माविका पूर्वप्रधानाध्यापक लीलाबहादुर तुम्बाहाम्फेले २०६५ सालतिर महाराजगन्ज, काठमाडौँमा भेटेका बेला आफ्नै छोराको पढाइ चित्त नबुझेर भनेका थिए – कर्मीको घर बाङ्गो भनेजस्तै भयो । यो घटना एउटा अपवाद मात्र थियो । सातै सन्तानलाई जागिरे बनाउन प्रमुख भूमिका निर्वाह गरेका खेम सर यसर्थ पनि एकजना सफल अभिभावक थिए । 

बिहान उठ्दा पारी सोल्मा, कालिमाटी र शुक्रबारेको डाँडा र बस्तीलाई हेरेर हुर्किएका खेम सरले आफ्नो जीवनको लामो समय गडी भिरको फेदैनेर हिंडेर बिताए । जिल्ला रेडक्रसमा लगभग २५ वर्ष सेवा गरे । त्यो अवधिमा तीन कार्यकाल अर्थात् बाह्र वर्ष जिल्ला सभापति भए । उनलाई जनयुद्धताका औंसीडाँडा चौंकीमा मारिएका दुई प्रहरीहरूको लास हेलिकोप्टरबाट सदरमुकाम ल्याएर सिडियोलाई जिम्मा दिएको घटना रेडक्रसमा पच्चिस बर्से सेवा अवधिभित्र  प्राप्त सबैभन्दा ठुलो अनुभव र उपलब्धि लागेको रहेछ । सिंहबाहिनी मावि र म्याङ्लुङ क्याम्पसबाट निवृत्त भएपछि उनले पिप्लेलाई नै आफ्नो बसोबास स्थल बनाए । पहाडबाट तराई वा काठमाडौं बसाईं सराईं गर्नेहरूका लस्करमा उनी उभिएनन् । तल गाउँ पुछारमा बग्ने पिंगुवा खोलाको निर्मल पानीजस्तै मन भएका खेम सर वरिपरिका सामाजिक गतिविधिहरूमा पनि उत्तिकै सक्रिय रहेछन् । 

राणा शासनकालमा जन्मिएर पञ्चायती व्यवस्थामा जीनवको ऊर्जाशील समय बिताएका खेम सर सदरमुकाम वरिपरिका पुराना शिक्षित व्यक्तिहरूमध्ये एक हुन् । हातका औंलामा गन्न पुग्ने मानिसहरू मात्र पढालेखा भएको युगमा खेम सर मध्यरातमा उदाएका रवि थिए । शिक्षामा कम र खेतीपातीमा बढी समय व्यतीत गर्ने तत्कालीन समाजको सोचलाई चिरेर उनले आफूभित्र ज्ञानको दियो सल्काए र त्यसको उज्यालोले तेह्रथुम आसपासको फराकिलो क्षेत्रलाई प्रज्वलित बनाए । उनका हजारौं चेलाचेलीहरू छन् । पं. तुलसीप्रसाद घिमिरे, शान्तिराम लुइटेल, जगतबहादुर केसी, मानध्वज खत्री, होमप्रसाद पोखरेल, आरके खड्का, आरबी खड्का, केवलराम दाहाल, भवानीप्रसाद गड्तौला, हेमसागर गड्तौला, अग्निप्रसाद खड्का, भीष्म बजगाईं, खगेन्द्र थेगुवा, अम्बिका भट्टराई, गोपाल श्रेष्ठ, लता भट्टराई, बीबी कटुवाल, यमनाथ दाहाल, योगेन्द्र खत्री, अर्जुन गौतम, गणेश भट्टराई आदिले औपचारिक र अनौपचारिक रूपमा पिप्लेको शैक्षिक दियो बाल्न विशेष योगदान गरे । खेम सर तिनैमध्येका एक हुन् । 

हिजोआज पहाडबाट तराईतिर वा राजधानीतिर बसाइँ सर्नेहरूको लर्को लामै छ । रोजगार, गुणस्तरीय शिक्षा, स्वास्थ्योपचारको व्यवस्थित प्रबन्ध नहुँदा पहाड बस्न नसकिएको तर्क गर्नेहरू धेरै छन् । सङ्‍गत र समाज गतिलो छैन भन्नेहरूको नामावली पनि लामै छ । तर यी तर्कहरूलाई पैतालीमुनि राखेर पहाड स्वर्ग छ, हावापानी र खानेकुराहरू स्वस्थ छन् । जन्मिएको माटोमा पनि सुखमय जीवन बिताउन सकिन्छ भन्ने सन्देश दिएर खेम सरले गैरीगाउँ पिप्ले छोडेनन् । यो उनको जन्मभूमिप्रतिको हार्दिक प्रेम हो, सम्मान हो र उनको उदार हृदयको परिणाम हो । वेदान्त दर्शनबाट प्रभावित खेम सरले गलामा तुलसीको माला र निधारमा तिलक लगाएरै जागिरे जीवन पूरा गरे । उमेर, ज्ञान र अनुभवले उनी पिप्लेका भीष्म पितामह हुन् । दाम्पत्य जीवनको लामो यात्राका क्रममा गुरुपत्नी गंगादेवी निरौलाले चार वर्षअघि संसार त्यागिन् । पत्नी वियोगको वास्तविक पीडा देख्नेलाई थाहा हुँदैन, भोग्नेलाई मात्र थाहा हुन्छ । आमाको निधनपछि बुबाको एक्लो र नीरस जीवनलाई मैले आफ्नै आँखाले नजिकबाट देखेको छु । खेम सरको साढे आठ दशकको जीवन यात्राले निरन्तर अघि बढ्दै एक शताब्दीलाई सजिलै पार लगाउन सकोस् । ईश्वरले कुनै दिन जुराएछन् भने गैरीगाउँको गुरुगृहमा पाइला टेक्ने छु र प्रत्यक्ष रूपमा गुरु दर्शन गर्ने छु ।