गजल
मलाई पराइले छोयो भन्दा अरूलाई कहानी लाग्छ
कसलाई सुनाऊँ पीडा बेक्कारको जिन्दगानी लाग्छ ||
आमा भन्छिन् अरूसँग नबोल्नु धेरै नहाँस्नु धेरै
छोरीलाई आफ्नै दुस्मन आफ्नै जवानी लाग्छ ||
दिनभरिको प्यासी आँखाबाट बची राति घर पस्छे
उसको अधेँरीका आँसु आफ्नालाई पानी लाग्छ ||
खुल्ला भई हिँड्न छोरीले पाउली कुन जन्ममा खै !
छोराछोरी बराबर भन्ने चौतारीको कुराकानी लाग्छ ||
घरकाले भन्छन् काका, मामा, दाजु,भाइ हुन् आफ्ना
आफ्नैहरूको नि नियत खराब हुने जाना-जानी लाग्छ ||
मलाई पराइले छोयो भन्दा, अरूलाई कहानी लाग्छ
कसलाई सुनाऊँ पीडा, बेक्कारको जिन्दगानी लाग्छ ||
लेखकको सम्वन्धमा