September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

वर्तमान यस्तै छ

यहाँ पानीलाई पानी भन्दा
आगो हो भन्नेहरूको बोलवाला छ
हावालाई हावा भन्दा
होइन त, त्यसको नाम थर अर्कै छ त ?
भन्नेहरूको घुइँचो छ ।

किन दिनलाई रात र रातलाई दिन
भनिन्छ यँहा थाहा छैन
सोझो हिसाबले कुरै छैन
बजारमा दिनैपिच्छे दाल, चामल र
सागसब्जीको भाउ बढेझै
प्रत्येक मनुवाको भाउ बढ्या बढ्यै छ ।

हात्तीपाइले चप्पल छापको रजगज छ
समाजमा सँधै सन्त्रास छ
विदेश जानेको लर्को विमानस्थलमा दिनहुँ
कहालीलाग्दो छ रूपमा,
सारमा–विप्रेषणको लोभमा राज्य मौन मौन छ ।

बहिर जानेको कमाइमा खुसी छ राज्य
किन अस्पतालहरूमा बिमारीको भिड छ
किन बाबुआमाको टुप्पी बेचेर हिँड्नेको
यस्तै यस्तै छ मेरो मुलुकमा विचित्रता छ
गाउँघरमा बुढाबुढीको मात्रै बास छ ।

न छिमेकीको आश छ, न त आफन्तको
कर र राजस्वको दर बढेझैँ सधैँ
चोर, डाका र लफङ्गाको मात्र बिगबिगी छ
मर्दा मलामीको, पर्दा आफन्तको भर छैन
सबै स्वार्थी र निर्दयीको निवास छ ।

मेरो युग खै के भनौँ र ?
भन्नै लाजमर्दो छ
म काकभुसुन्डी बनेर हेर्दै छु
वरपर, आफूतिर र चारैतिर
आफ्नै अस्त्तित्वको खोजमा
वर्तमान यस्तै छ ।