शिक्षकको पीडा
करले होइन रहरले आको पेसा हो हुन त
हे सारा बन्धु शिक्षकको पीडा सुन त सुन त ।
जाँड खाँदै हिँड्ने जँड्याहासमेत पाखुरा सुर्काउँछ
वडाको सानो कामदार पनि आएर थर्काउँछ ।
यो कस्तो पेसा पालिका हाम्रो बिदा नि कटाउँछ
राज्यले देको सुविधा पनि सर्लक्कै घटाउँछ ।
हेला नै भाकी बुहारी जस्तो राज्यकै नजर
आगामी पुस्ता शिक्षक बन्ने साहसै नगर ।
शिक्षकलाई सधैँ खराबै सोच्ने दृष्टिकोण फेरियोस्
त्यसै त होइन पढेरै आको ध्यानले हेरियोस् ।
डाक्टर,पाइलट,नेता र हाकिम देखायौ बनेर
बिर्सियौ ज्ञान शिक्षकबाटै लिएको भनेर ।
आफ्नै हो सन्तान भन्ने नै लाग्छ विद्यार्थी सबैलाई
भेद र भाव, पक्ष र पात गरिन्न कसैलाई ।
भेटाए गल्ती सुधार्ने थियौँ आआफ्नो विषय
औंल्याई गल्ती सुधार गर्ने दिनुस् कि समय ।
कालो यो बादल ढाक्यो नि आकाश उघ्रेला कसरी
शिक्षकको मन निमोठी शिक्षा सुध्रेला कसरी ??
प्रतिकृया दिनुहोस्