September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

मेरो कल्पनाको नेपाल

प्रत्येक नागरिकको हृदयभित्र एउटा देश लुकेको हुन्छ । जुन नागरिक जुन देशको राजनीतिक क्षेत्रभित्र बाँधिएर बसेको ‍‍हुन्छ ऊ त्यही देशको स्वतन्त्र नागरिक हुन्छ । देशको कल्पना नागरिकले जुन बेला गर्छ त्यही बेला उसको हृदयमा देशलाई कस्तो बनाउने भन्ने सपना हुन्छ; देश निर्माणको ढाँचा मन र भावनामा इङ्‌कित भएको हुन्छ।
विश्वका समृद्धशाली मुलुकका नागरिकले पनि आफ्नो देश ‌कस्तो बनाउने भन्ने सपना देखेका छन् । उनीहरूले ठुला ठुला आन्दोलन गरेका छन् । उस्तै र उही प्रकारको म पनि एक नागरिक हुँ । मेरा हृदयमा पनि मेरो देश नेपाल कस्तो बनाउने भन्ने सपना रहेको छ । मेरा कल्पनामा पनि एउटा नयाँ नेपाल छ । त्यो सुन्दर शान्त र विशाल छ; झन् झन् नयाँ छ । त्यो मेरा कल्पनाको नयाँ नेपाल हो ।

कल्पना भनेको नयाँ सोच र अवधारणा हो । अहिले नेपाल जस्तो छ, जे छ वा इतिहासमा नेपाल जस्तो थियो त्यही जगमा टेकेर बडा महाराजधिराज पृथ्वीनारायण शाहले कल्पना गरेको समृद्ध नेपाललाई मेरा आँखा र राजनीतिक क्षेत्रभित्र राखेर एउटै सिंहले शासन गरे जस्तो मेरो कल्पना छ । अहिले नेपालका अनेक भाषिक वर्गलाई समेटिने गरी तिनीह‌रूको थाक, थलो पत्ता लगाएर मौलिक भेषभूषा, खानपानलाई चिनाउने दायित्व हामी सबै नागरिकमा हुने छ । नेपालमा रहेका प्राकृतिक सम्पदा जस्तै जजज अर्थात् जल, जमिन र जङ्‌गलको भरपूर रूपमा प्रयोग गर्न सकेमा देश विकसित हुन्छ।

आधुनिक युवा पिँढी त्यति निकम्मा र नालायक पनि छैनन् । युवाहरूलाई आफ्नो देशको माटो चिनाउन सके उनीहरू आफ्नो ऊर्जा र शक्तिलाई स्वदेशकै निम्ति खर्च गर्न सक्ने उन्नत नागरिक भएको देश हाम्रो हुन्छ ।

उद्योग कलकारखानाहरूले उत्पादन गरेका सामाग्रीहरू विश्व बजारमा पुगेर नेपालको गुणस्तरीयताको पहिचान गराएको हुन्छ । फरक फरक जाति, भाषा परम्परा भए पनि विश्वमा नेपाललाई चिनाउने गौरवको श्रेय पाउने छ ।

मेरो कल्पनामा यस्तो नेपाल छ जसलाई म सिँगार्न चाहन्छु । म इतिहासलाई साक्षी राखेर आधुनिक वैज्ञानिक युग निर्माण गर्न चाहन्छु । यहाँका नरनारीहरू आफ्नो क्षमता र दक्षता देखाउन् । उनीहरूमा कुनै प्रकारको विभेद नगरियोस् । सबै स्वतन्त्र र समवेशी भएर बसुन् । अर्मपर्म, ऐँचोपैँचो र आपसी मायाममतामा बाँचुन् । स्वदेशमै हाँसुन् । स्वदेशमै केही गरुन् । परम्परागत र आधुनिक प्रविधिलाई सँगै अघि बढाउन् । कृषि प्रणालीलाई जोड दिउन् । देशलाई समृद्ध बनाउन् । म यस्तै समृद्ध नेपालको कल्पना गरिरहन्छु । यो देश विकासको मिठो कल्पनालाई कल्पनामा मात्र सीमित नराखेर वास्तविकतामै उतार्ने मेरो सपना छ; चाहना छ ।