December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

कसरी सिकाउने ?

सिकाइ प्रक्रिया मानव सभ्यताको अभिन्न पक्ष हो । परापूर्व कालदेखि नै अग्रजहरूबाट सिकाइ हुने गरेको पाइन्छ । गुरुकूललाई यसकै पक्षपोषण गर्ने प्रारम्भिक अभ्यास मानिन्छ । मानव सभ्यताले जति जति आधुनिक रूप लिँदै गएको छ त्यति नै सिकाइमा समस्या, जटिलता र सङ्क्रमण थपिएको व्याख्या विष्लेषण भइरहेका छन् । भूमण्डलीकरण तथा सूचना प्रविधिको द्रुत विकासका कारण आज विश्व एउटा सानो गाउँमा रूपान्तरण भइसकेको छ । जसको परिणामस्वरूप सूचनाहरू बढी र छिटो विद्यार्थीले थाहा पाउने गरेको तथ्य हामी सबैले स्वीकार गर्नु पर्दछ । अतः शिक्षण सिकाइ क्रियाकलाप समय सापेक्ष हुनु पर्दछ । यसका लागि सरोकारवाला,नीति निर्माता, विज्ञ, अभिभावक, शिक्षक तथा विद्यार्थी सबैले हावाको बेग तथा पानीको वहावसँगै बग्न सक्नु पर्दछ, नत्र शैक्षिक उपलब्धिको गन्तव्य अनिश्चितताको भुमरीमा रुमल्लिन पुग्छ । शैक्षिक गुणस्तरको नारा कागजका आप्तवाक्यमा  मात्र सीमित हुन पुग्दछ । 

अबको सिकाइ प्रक्रिया एक योग्य, असल र अब्बल शिक्षकको ज्ञान, सिप र प्रविधिबाट प्रारम्भ हुनु वाञ्छनीय छ । यसका लागि शिक्षक निरन्तर अध्ययनशील र तालिम प्राप्त मात्र नभएर प्रविधिअनुकूलसमेत हुनु आवश्एक छ । आज प्रत्येक पल पलमा नयाँ नयाँ विधि र प्रविधिको आविष्कार हुनुका साथै ज्ञान र सिपको समेत द्रुत विकास भइरहेको छ । सूचना प्रविधिको बड्दो विकास, इन्टरनेटको विस्तार र स्मार्ट फोन र ग्याजेटका कारण विद्यार्थीहरू शिक्षकको तुलनामा सूचनामा अगाडि, ज्ञान र सिपमा दक्ष तथा प्रविधिमा अब्बल हुने अवस्थामा पुगिसकेका छन् । सूचना प्रविधिमा फड्को मार्न र प्रविधिमैत्री बनाउँन डेस्कटप, ल्यापटप, पाल्मटप, ट्याबलेट र कम्प्युटर जस्ता उपकरणकै कारण सूचना तथा प्रविधिका क्षेत्रबाट शिक्षकलाई कदापि पछाडि छोड्नु हुन्न भन्ने कुरामा सरोकारवाला तथा शिक्षक स्वयम् सचेत हुनु आवश्यक छ । 

कुनै पनि देशको सन्तुलित विकासका लागि डिजिटल युग अनुकूल जनशक्ति निर्माण गर्नु आवश्यक छ । यस्तो जनशक्ति उत्पादनको मूल आधार र केन्द्र नै विद्यालयहरू हुन् । यस कामका लागि विद्यालयमा इन्टरनेटको सहज पहुँच र सूचना तथा सञ्चार प्रविधिको आधारभूत ज्ञानसहितको सिकाइ व्यवस्था गर्नु आवश्यक छ । शिक्षकको प्रविधिमैत्री कला प्रस्तुति तथा प्रत्यक्ष देखाएर सिकाउँने तरिकाबाट नै विद्यार्थीहरू प्रभावित हुने गरेको तथ्य अनुसन्धानले नै पुष्टि गरेको छ । इन्टरनेटबाट नवीनतम शिक्षणका विधिहरू पहिचान गर्दै ल्यापटपलाई नै साथी बनाई शिक्षण गर्नु आवश्यक भइसकेको छ । कक्षाकोठामा पाठ्यपुस्तक लिएर एकोहोरो रटानमात्र गर्नुको सट्टा सिकाइ प्रविधमैत्री हुनुपर्छ । युगानुकूल शिक्षण गर्न नसक्ने शिक्षक विद्यार्थीसामु कमजोर सावित हुने अवस्था कदापि आउन दिनु हुँदैन् । शिक्षकले आफ्नो समयमा सिकेको ज्ञान र सिप भोलिका लागि काम नलाग्ने हुन सक्ने तथ्य स्वीकार गर्दै अध्ययनशील भई समयानुकूल परिमार्जित हुनु पर्दछ । एकातिर विद्यार्थी ताजा र परिमार्जित ज्ञानसहित कक्षााकोठामा पुगेका हुन्छन् भने अर्कातिर शिक्षक बासी सूचना र परिमार्जित विषयवस्तुमा अल्पज्ञान बोकेर पुगे भने स्वतः विरोधाभाष उत्पन्न हुन्छ । परिणामस्वरूप सिकाइ जस्तो हुनुपर्ने हो त्यस्तो हुन सक्दैन ।

नेपालीमा एउटा उखान छ, भन्न जति सजिलो छ गर्न त्यति नै गारो छ । पम्परागत शिक्षा प्रणालीले जरा गाडेको हाम्रो शिक्षा प्रणालीमा विद्यार्थी मैत्री कक्षाकोठा निर्माण चुनौतीपूर्ण कार्य हो । यस्ता चुनौतीको समाधानमा शिक्षकको मात्र प्रयास पर्याप्त हुँदैन् । यस कार्यका लागि सबै शिक्षक, विद्यालयको सिङ्गो प्रशासन, विद्यालय व्यवस्थापन समितिको निर्णय र स्थानीय तहको इच्छाशक्तिले उत्प्रेरकको काम गर्नुपर्दछ । शिक्षणलाई विद्यार्थी केन्द्रित बनाई समस्या समाधानका लागि प्रश्नोत्तर, समूहगत र व्यक्तिगत छलफल, खोज अनुसन्धानजस्ता विद्यार्थी मैत्री विधि प्रयोग गर्नु पर्दछ । एउटा सफल शिक्षणका निम्ति शिक्षकले सिकाइका नवीनतम विधिको प्रयोग गर्न चुक्नु हुँदैन । अन्तरक्रिया, भर्चुअल ज्ञान र सिप, एआइको प्रयोग, मिश्रित शिक्षण, थ्रिडी प्रिन्टिङ्, शिक्षण डिजाइन तथा सोंच, परियोजनामा आधारित शिक्षण, जिग्स विधि, क्लाउड कम्प्युटिङ शिक्षण, फिलिप गरिएको कक्षा कोठा, सहपाठी सिकाइ, साथी सिकाइ, क्रस ओभर शिक्षणजस्ता विधिको प्रयोगमा विशेष जोड दिनु आवश्यक छ । 

परम्परागत पढाइले मात्र व्यक्तिको अन्तर्निहित प्रतिभा प्रष्फुटन हुँदैन । महात्मा गान्धीको एउटा भनाइ यस सन्दर्भमा स्मरणीय छ कि पढाइका साथ जीवनको आदर्श उच्च हुँदैन भने पढ्नु बेकार छ । त्यसकारण पढाइ लेखाइ सार्थक हुनका लागि निर्धारित उद्देश्य पूरा हुनुपदर्छ । यसका साथै शिक्षकको भाषा, शैली, संस्कृति, व्यकितत्व, लवाइ, खवाइ, प्रस्तुति, व्यवहार आदि पनि समयसापेक्ष भएमा मात्र गुणस्तर वृद्विमा सहयोग पुग्दछ । यससँग जोडिएको अर्को विषय प्रविधिप्रतिको रुचि हो । वास्तवमा रुचि सिकाइको पहिलो महत्त्वपूर्ण सूत्र हो । अतः शिक्षकले सिकाइप्रति विद्यार्थीमा रुचि जगाउँने कार्यमा आफ्नो सम्पूर्ण जोडबल लगाउँनु आवश्यक छ । जति शिक्षकले व्यवहारिक रूपबाट विद्यार्थीको रुचिअनुकूल सिकाइ प्रक्रिया सञ्चालन गर्छन् त्यति नै पढाइ लेखाइ प्रभावकारी बन्दै जान्छ । यस्तो तरिकालाई प्रविधिमैत्री सिकाइले पृष्ठपोषण गरिरहेको हुन्छ । आफूमा विद्यमान विषयगत र विषयवस्तुगत ज्ञान र सिपलाई  समुचित सिकाइ प्रक्रियामा प्रयोग गरी प्रत्येक विद्यार्थीको ज्ञान र सिप अभिवृद्धि गर्ने कार्यमा शिक्षक दत्तचित्त हुनु पर्दछ । शिक्षकमा संस्कार र पूर्ण ज्ञान भएन भने सतही सिकाइमात्र हुन्छ, यसले सिकाइको कुशलता र गहिराइ प्राप्त गर्न सक्तैन । जब शिक्षण कुशल हुँदैन तब, शिक्षकमाथि औँला उठाइन्छन् र स्थापित मान, मर्यादा, आदर र सम्मानमा प्रश्न उठ्न थाल्दछ । त्यसका निम्ति शिक्षकले सचेतता अपनाइरहनु पर्दछ । 

सिकाइ सामग्री सङ्लन शिक्षकको पहिलो कर्तव्य हो । विषयवस्तुको यथेष्ट ज्ञानसहित सिकाइ शैलीलाई प्रविधिअनुकूल बलाउन सके कक्षाकोठा विद्यार्थीमैत्री बन्न सक्छ । यसका लागि कस्टमाइज्ड र पूनर्ताजगी जस्ता तालिमबाट सिक्षकलाई सुशोभित गरिरहनु पर्दर्छ । पढाइ तथा योग्यता बृद्विसँगै विद्यार्थीमा व्यवसायिक तथा उत्पादनमूलक बनाउँदै व्यवहारिक ज्ञान र यसको प्रयोग गर्ने क्षमता विकास आवश्यक छ । 

अन्त्यमा, समयसापेक्ष विकसित हुन नसकेको तथा ज्ञान, विज्ञान र प्रविधिको खडेरी भएको शैक्षिक खेतीबाट विद्यार्थीको भविष्य बन्न सक्तैन । विद्यार्थी सही वा गलत कुन बाटामा लागेका छन्, मनैदेखि ठम्याउँन सक्नुपर्छ । यसका लागि अभिभावकले समेत पारिवारिक शैक्षिक वातावरण बनाउँनु पर्दछ ।