February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

चित्रकला प्रतियोगिता

साउन, १२, झरना सञ्‍चार ।

आज सातोआकी इतो स्मृति दिवस तथा तिसौँ वार्षिकोत्सवको अवसर पारी सातोआकी इतो स्मृति भवनमा चित्रकला प्रतियोगिता आयोजना गरियो । प्रतिभा समाजको आयोजना तथा योङ पिकासोको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रममा प्रतिभा समाजका अध्यक्ष प्रा. डा. बज्रराज बज्राचार्य, सोही समाजका सचिव किरण नरसिं शाक्य, प्रतिभा समाजका अध्यक्ष तथा योङ पिकासोका सल्लाहकार, समाजसेवी शाक्य सुरेन, सातोआकी इतो स्मृति भवनका कार्यालय म्यानेजर शोभा बज्राचार्य, योङ पिकासोका सञ्‍चालक तथा प्रशिक्षक वरिष्ठ कलाकार अजय देसार, समाजसेवी सुशीला शाक्य, सितु मास्के, कृष्ण कुमार श्रेष्ठ, झंकर प्रसाद जैशी, बालकिशोर चौधरी, अजय प्रसाद राय चौधरी, प्रिन्स महर्जनलगायतको उपस्थिति थियो ।

छत्तिस विद्यालयका चालिस जना बालबालिका सहभागी भएको उक्त कार्यक्रम बिहान नौ तिसदेखि दिउसो १२ बजेसम्म सञ्‍चालन गरियो । 

किरण नरसिं शाक्यले सहभागी बालबालिकालाई राम्रो चित्र सिर्जना गर्न हौस्याउँदै भन्नुभयो, “यो कुनै प्रतियोगिता होइन; कसैले पनि जित्नै पर्छ वा हारिन्छ होला भन्ने त्रास नलिनुस् । आफूले सकेसम्म राम्रो कला देखाउने प्रयत्न गर्नुहोस् । तपाईँहरू सबै विजेता हुनुहुन्छ । त्यसैले त अहिले यहाँ उपस्थित भएर राम्रा चित्र बनाउने तरखर गर्दै हुनुहुन्छ ।

प्रतिभा समाजका अध्यक्ष शाक्य सुरेनले प्रतिभा समाज र बुक बैङ्‍का बारेमा जानकारी दिँदै बालबालिकाहरूलाई प्रेरित गर्नुभयो । उहाँले भन्नुभयो, “सय जना जवान दौडिँदा सबै प्रथम हुँदैनन्; प्रथम त एक जना नै हुने हो । प्रथम नभए पनि दौडन सक्नु उनीहरूको क्षमता हो । यहाँ नानीबाबुहरू पनि सबै जना प्रथम हुन सक्नुहुन्न तर तपाईँहरूले यति राम्रा चित्र बनाउनुभएको छ; त्यसैले तपाईँहरू सबै नै विजेता हो ।”  

प्रशिक्षक अजय देशारले हतार नगरी पूरै समय सदुपयोग गर्दै शान्तसँग आफ्नो कला देखाउन आग्रह गर्नुभयो । साहित्यकार सोमनाथ दाहालले चित्रकलासँग सम्बन्धित कविता वाचन गरी सहभागीहरूलाई प्रेरित गर्नुभयो ।

उक्त कार्यक्रममा प्रज्‍ना श्रेष्ठ, नोरिन श्रेष्ठ, नोरा श्रेष्ठ, सराना गिरी, प्राप्ती कुँवर, नित्या गोयङ्‍का, स्नेहा मल्ल, उर्गेन तामाङ, आकृशा मानन्धर, आकृति मानन्धर, लनी लामा, भूमि श्रेष्ठ, आद्या विदेही साह, इन्द्रेनी प्रधान, रोजलिन प्रधान, पालिजा महर्जन, स्वर्णाली स्वरूप साह, सिद्धार्थ श्रेष्ठ, लुनिभा श्रेष्ठ, लिजला श्रेष्ठ, साक्षत दाहाल, सोइना दाहाल, कृपाश श्रेष्ठ, नोयनशील शाक्य, लुजला श्रेष्ठ, आरबी थारू, श्रिजल अधिकारी, आध्या देसार, प्रिसा शाक्य, सम्भर रत्न शाक्य, रश्मी जैशी, श्रीति चौधरी, राजन ठाकुर, आशिर्या देसार, उत्सभ चौधरी र दिनी तामाङ प्रतिस्पर्धीका रूपमा सहभागी थिए । 

सहभागी बालबालिकाहरूले उत्साहपूर्ण रूपमा आफ्नो प्रतिभा देखाए । उनीहरूले आफ्नो रुचिअनुसार विभिन्न विषयमा सुन्दर चित्र बनाए । 

करिब दुई घण्टासम्म सञ्‍चालित उक्त कार्यक्रमपछि चियापानको व्यवस्था गरियो । त्यसको लगत्तै विजेताहरूको नाम घोषणा गरियो । प्रतियोगितामा बालकिशोर चौधरी, सितु मास्के र प्रिन्स महर्जनले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । सिनियर सहभागीतर्फ प्रथम-  नोरिन श्रेष्ठ, द्वितीय- पालिजा महर्जन, तृतीय- जेनिसा बज्राचार्य र चतुर्थ प्राज्‍ना श्रेष्ठ भए भने जुनियरतर्फ प्रथम- उत्सव चौधरी, द्वितीय- श्रिजल अधिकारी, तृतीय- आशिर्या देसार र चतुर्थ मैत्री शाक्य भए । कार्यक्रमका सहभागीमध्ये इन्द्रेणी प्रधानलाई विशेष पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतिस्पर्धाका विजेताहरूलाई यही साउन १६ गते बुधबार दिउसो १ बजे सातोआकी इतो स्मृति भवनमा ललितपुर उपमहानगरपालिकाका उपमेयर मञ्‍जली शाक्यद्वारा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको जानकारी अजय  देसारले गराउनुभयो । उहाँले कार्यक्रममा उपस्थित महानुभाव तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।