चित्रकार
चित्र कोर्ने चित्रकार म
केको चित्र कोरूँ ?
घाम कोरूँ, जून कोरूँ
सारा संसार कोरूँ
यता हेर्नुस् हजुरआमा
यौटा चित्र कोरूँ
चाउरिएको मुहारमा
सुन्दर रङ्ग भरूँ
हजुरबुबा मुसुमुसु
हाँसी बस्नु होला
रङ्ग, कुची भा’को मेरो
झिकिसकेँ झोला
मेरो गाउँ, मेरो सहर,
देश प्यारो लाग्छ
मेरा चित्र हेरी हिमाल
दिल खोली हाँस्छ
दिन हास्छ, रात हाँस्छ,
साँझ, बिहान हाँस्छ
दुःख पनि दुःख भुली
चित्रमा नै हाँस्छ
मनको घाउ मनैभरि
कति होला होला !
मेरो चित्र त्यहाँ गई
मलम दलिदेला
यौटा यस्तो चित्र कोरूँ
मन शान्त पार्ने
चित्रले नै अभाव र
पीडा सारा टार्ने ।
लेखकको सम्वन्धमा