November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

बधाई छ बधाई !

पत्तै भएन
विवाहका यतिका वर्ष बितेको
हिजै मात्र त हो
बुबा बेहुलीको खोजीमा घुमेको ।

त्यो पारी सेतो घरकी
छोरी राम्री छ
गोरी, हिस्सी परेकी छ
पढेकी छ, घरको काममा सिपालु छ
अनि पल्ला गाउँकी
माहिला ज्योतिषीकी छोरी सबिता पनि राम्री छ
ऊ पनि पढेकी छ
घरको काममा पनि सिपालु छ
मलाई त ऊ मन परेकी केटी हो
खानदान राम्रो छ
आमा भन्नुहुन्छ ।

खै ! भाइ विवाहको पत्तै छैन
उमेर त भैसको
बुढो बेहुलो भन्लान्
विचार गर है दिदी बहिनी भन्थे ।

विवाह कैले गर्ने
उमेर त नाधिसको
केटी खोज्‍नुपर्छ भने, भन है
यसपाली त जन्ते बाख्रो खानुपर्छ नि
आफन्त र छिमेकीहरू गुनासो गर्थे ।

चाँडै तेस्रो विश्व हुँदै छ
यसले विवाह नगर्ने भो
गति नपरी मर्ने भो यो
साथीहरू जिस्क्याउँथे ।

बुबा काका विवाहको धुनमा
कहीँ के नमिलेको !
कहीँ के !
कहीँ आफूलाई मन नपराउँने
कहँ आफूलाई मन नपर्ने 

आखिर विवाह हुने भयो रे
कुरा छिनियो रे
केटा न केटी
न फूलमाला
न कुनै समारोह
न कुनै जमघट

सुनेँ,
विवाह तय भएछ
केटी कस्ती छ ?
मन पर्‍यो ?
ऊ त्यो केटी जस्ती छ ?
या ऊ त्यो जस्ती ?
भाइ, दिदी, बहिनी र आमा
बारम्बार सोधिरहनुहुन्छ 

पुलुक्क हेरेको
कर्के हेराइ
धमिलो आकृति
केटी कस्तो पत्तै भएन
साँच्चै भनौँ, छाया देखे जस्तो
विवाह भयो
बृद्धि भयो, एक सदस्यको
बेहुलीले घर समालिन्

हिजो नै लाग्‍ने
जिन्दगीको यति लामो यात्रा
सुख दुःखमा सँगसँगै पार गरेको
आधा दर्जन छोराछोरी

नातिनातिनी भएछन्
केश सेता भएछन्
दाँत भर्ने तरखर गरिरहेछन्
बेहुलीका गाला चाउरिएछन्
विवाहको एकचालिसौँ वर्ष
एकपछि अर्को गर्दै बितेछन्
बधाई छ बधाई ! बेहुलीलाई बधाई !!
विवाह उत्सव एकचालिसौँ वर्षको बधाई !!!