December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

विजया शर्माको हाइकुसङ्ग्रह लोकार्पित

काठमाडौ, २०८१ असार ३० गते आइतबार। 

  हालै आयोजित एक समारोहमा प्रा. रामकुमार पाँडेले विजया शर्माद्वारा लिखित हाइकुसङ्ग्रह ‘विजया शर्माका सिर्जना’ को लोकार्पण गर्नुभयो । मञ्जुश्री साहित्यिक समाजको आयोजना र समाजका अध्यक्ष डा. बमबहादुर थापा जितालीको सभापतित्वमा सम्पन्न भएको सो समारोहमा प्रमुख अतिथि प्रा. पाँडेले जापानी साहित्यबाट नेपाली साहित्यमा भित्रिएको यस विधामा जीवनको उत्तरार्द्धमा कलम चलाउने विजया शर्माका हाइकु प्रशंसायोग्य भएको बताउनुभयो । समारोहमा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्व सांसद विजया के. सी., प्रा. डा. निशिकान्त सोनवलकर, डा. निल पाण्डे, श्रद्धा शर्मा, यादव भट्टराईलगायतले कृतिकार विजया शर्माको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो ।

  कार्यक्रमका सभापति डा. बमबहादुर थापा जितालीले कृतिकार विजया शर्माको हाइकुसङ्ग्रह प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्दै उहाँको सिर्जनात्मक प्रगतिको कामना गर्नुभयो । सो अवसरमा समाजका सचिव वीरबहादुर लोहनीले शुभकामना कविता वाचन गर्नुभयो भने समाजका पूर्व सचिव टेकबहादुर लौडारीले लोकार्पित कृतिबाट केही हाइकु वाचन गर्नुभएको थियो । समारोहमा सङ्गीतज्ञ प्रा. डा. पं. निशिकान्त सोनवलकरले तबलावादन प्रस्तुत गर्नुभएको थियो ।

  वि. सं. २००० मा सिरहाको वस्तीपुरमा पिता देवरञ्जन बराल तथा माता भुवनेश्वरी बरालका सुपुत्रीका रूपमा जन्मनुभएकी विजया शर्माले बनारसबाट आइए उत्तीर्ण र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण  गर्नुका साथै भारतको कलकत्ताबाट सङ्गीतमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सितारवादनको विशिष्ट कला प्रदर्शन गरिसक्नुभएकी शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनमा विभिन्न कार्यक्रम सञ्चालन तथा सितारवादन प्रस्तुत गर्नुभएको छ । २०१७ साल फागुन ७ गते तत्कालीन राजाको कदमविरुद्ध कालो झण्डा देखाएबापत बीस महिना राजनीतिक बन्दीका रूपमा जेलजीवन बिताउनुभएकी शर्मा नेपाल एकेडेमीको प्राज्ञसभासद् तथा समाज कल्याण परिषद्को बोर्ड सदस्य रहिसक्नुभएको छ । उहाँका यसअघि नेपालको शास्त्रीय सङ्गीतमा रागहरू, राग सङ्गीत (पहिलो भाग – अङ्गेजीमा) र राग सङ्गीत (दोस्रो भाग – अङ्गेजीमा) कृतिहरू प्रकाशित छन् ।

   सो समारोहमा साहित्यकार, समाजसेवी, कलाकार तथा कृतिकार शर्माका आफन्तजनहरूको उपस्थिति रहेको थियो । ■