July 20, 2024, Saturday
२०८१ श्रावण ६, आईतवार

विज्ञान

विज्ञान स्रोत बनेर गरेको आज तिमीले
चकित भयो विश्व यो प्रयोग गरौँ सबैले
घरमै बसी बसी संसार हेर्न र बुझ्‍न पाइने
हरेक व्यक्ति व्यक्तिलाई नितान्त अब चाहिने ।।

रेडियो तिमी बजेको इन्टरनेट चलेको
मोटर र रेल गुडेको अन्न र फल फलेको
जहाज, डुङ्‍गा सररर विमान जेट उडेको
मानव यन्त्र हेर न कसरी आज कुदेको ।।

उज्ज्यालो छ्याङ बनायो कृत्रिम सूर्य चन्द्रले
ठाडा र तेर्सा घर बने आकाशमाथि यन्त्रले
चन्द्रमामाथि बस्ती छ आकाशगङ्‍गा पुगेर
रात र दिन उस्तै छ बिजुली बत्ती बनेर ।।

अवश्य ज्ञान मुहान प्रयोग गर्ने विज्ञान
अनेक बम बनायो त्यो पनि गर्‍यो प्रदान
तलको पानी माथि छ, कृत्रिम वर्षा काफी छ
किड्नी, मुटु फेरेर डाक्टर मेरो साथी छ ।।

क्षेप्यास्त्र, अस्त्र बनायो रकेट पनि लञ्चर
तोप गोला पड्कायो दुनियाँ छन् दिक्दार
यसैमा ईंटा थपौं न अझै सोधखोज गरेर
ल्याऊँ विधि प्रविधि अनेक नगरीकन अबेर ।।

होड र बाजी छोडेर कल्याणकारी बनेर
विध्वंसकारी नबन कठै ! पुकार मेरो सुनेर
कल मेसिन काममा विज्ञान तिम्रो नमामा
मानव मूल्य मान्यता राखेर हिंडोस् काँधमा ।।