January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

नामको अर्को नाम बदनाम

प्रीतको राप र तापले मार्छौ अनि
समबेदना प्रकटमा पहिलो तिम्रै नाम छ ।
चितामा सुताउने र माला लिई लामबद्ध पनि तिमी
सलाई सल्काई तिम्रो, जलाउने दाउरा बदनाम छ ।।
जलाउने दाउरा बदनाम छ ।।

कति रेट्छौ प्रेमका कलिला टुसाहरू अनि
हुर्काउने माली बनी तिम्रै नाम छ ।
कलिलो मन मस्तिष्कलाई बजारमा
कौडीको भाउमा लिलामी गर्छौ अनि
बोली लगाउनेहरी फेरि बदनाम छ ।।
बोली लगाउनेहरु फेरी बदनाम छ ।।

सुषुप्त प्रेम सञ्‍चारको मुटुमा प्वाल पार्छौ अनि
रक्त बैङ्‍कको बोर्ड र रक्तदानमा तिम्रै नाम छ ।
तिर्खा र प्यास बिच किनारामा लडाउने पनि तिमी
अनि खडेरीको यहाँ बदनाम छ ।।
अनि खडेरीको यहाँ बदनाम छ ।।

मगन-मस्तमा कति अन्धो बनायौ अनि
चस्माको लेन्समा तिम्रै नाम छ ।
बाढी ल्याई डुबाउने पनि तिमी अनि
सङ्ग्लो पानीको यहाँ बदनाम छ ।।
सङ्ग्लो पानीको यहाँ बदनाम छ ।।

यो रङ्‌गमञ्चमा लतारेर पुर्याउने पनि त तिमी
तररर ताली पिट्ने दर्शकहरूको बदनाम छ ।
तररर ताली पिट्ने दर्शकहरूको बदनाम छ ।
फेरि पनि म भन्छु, नामको अर्को नाम, बदनाम छ ।।
नामको अर्को नाम, बदनाम छ ।।