November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

आर्ट उपहार दिने आकृति

आकृति मानन्धरलाई अहिले ठुलो बोझ बिसाए जस्तै हलुका महसुस भएको छ । किनभने उनी भर्खरै एसइई दिएर लामो बिदामा छिन् । हो, उनी बिदामा छिन्; औपचारिक अध्ययनको भार उनमा छैन तर पनि उनी आफ्नो व्यक्तित्व विकास गर्न तल्लीन छिन् । त्यसैले त चित्रकलामा लागिपरेकी छिन् ।

२०६४ कात्तिक नौ गते छाउनी, काठमाडौँमा जन्मिएकी आकृति सानैदेखि चित्र बनाउँथिन् । एक पटक छोरीले बनाएका चित्र देखेर आमा कृष्णामाया मानन्धर निकै खुसी हुनुभयो । उहाँले छोरीलाई नजिकैको स्कुलमा भएको आर्टसँग सम्बन्धित कार्यक्रममा लग्नुभयो । त्यसपछि त उनी चत्रकलामा अझ रमाउन थालिन् । आमाबुबा उनको चित्रकलाप्रतिको रुचिबाट प्रभावित हुनुभयो । उहाँहरू योग्यो गुरुको खोजीमा हुनुहुन्थ्यो ।

कोभिडका समयमा अजय सर चित्रकलासम्बन्धी अनलाइन क्लास लिनुहुन्थ्यो । आकृति त्यस अनलाइन क्लासमा जोडिएर चित्रकला सिक्न थालिन् । कोभिड सकिएपछि योङपिकासोमा भरना भइन् । त्यसपछि उनी हरेक शनिवार योङपिकासोमा गएर अजय सरसँग चित्रकला सिकिरहेकी छिन् । चत्रकलामा नै उनले उज्ज्वल भविष्य देखेकी छिन् ।

उनलाई गाउँघर, पहाड, हिमाल आदिका चित्र बनाउन र पेन्टिङ गर्न मनपर्छ । उनी पटन्टिङ गर्न थालेपछि समय बितेको पत्तै पाउँदिनन् । राति अबेलासम्म पनि काम गरिरहन्छिन् । थालेको काम नसकेसम्म उनलाई धैर्य हुन्छ । उनले कहिल्यै काम अधुरो छाडेकी छैनन् ।

आकृति आफ्ना क्यानभासमा प्रकृतिको सौन्दर्य उतार्न सिपालु छिन् । उपयुक्त रङको सन्तुलित सम्मिश्रण गरी बनाइएका उनका कला साँच्चै मनमोहक छन् । जब आकृतिका कला नियाल्न थालिन्छ नि पहाडका माथि माथि डाँडामा पुगेको महसुस हुन्छ । धेरै भाग कुहिरामा छोपिएका हिम चुचुरा, भारी बोकेर हिँड्ने याक, माने आदि उनका पेन्टिङमा जीवन्त रूपमा उतारिएका हुन्छन् ।

पहाडका साँघुरा गल्ली, परम्परागत घर, बोटबिरुवा आदि उनका चित्रकलाका विषय हुन्छन् । उनी आफ्ना कलामा प्रकृतिको यथार्थ चित्र मात्र उतार्दिनन्; त्यसलाई कल्पनाको रङले सिँगार्ने पनि गर्छिन् ।

आकृति कहिले अरूले बनाएका कला हेरेर त्यस्तै कला सिर्जना गर्छिन् । कहिले इन्टरनेटमा देखेका सुन्दर चित्र उतार्छिन् । धेरै जसो चाहिँ वास्तविक वस्तु अवलोकन गरेर चित्र बनाउने गरेकी छिन् । अजय सरले आफ्ना विद्यार्थीहरूलाई समय समयमा दृश्यावलोकन गर्न विभिन्न ठाउँमा लग्ने गर्नुभएको छ । त्यहाँ पुगेर विद्यार्थीहरू आफूलाई मन पर्ने दृश्य अवलोकन गर्छन् र त्यसलाई कलामा उतर्छन् । आकृतिले पनि यसरी धेरै चित्र बनाएकी छिन् ।

आफ्‍ना कलात्मक सिर्जनाका कारण आकृति सम्मानित र पुरस्कृति पनि भएकी छिन् । होलिभिजन सेकेन्डरी स्कुलमा आकृतिले अध्ययन गरेकी हुन् । यस विद्यालयलले २०८० पुसमा आकृतिलाई ‘बेस्ट आर्टिस्ट अवार्ड’ दिएर सम्मान गरेको छ । योङ पिकासोले आयोजना गरेको बुद्ध र शान्ति शीर्षकको चित्रकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्दै पुरस्कृत भएकी छिन् । विद्यालयले आयोजना गरेका विभिन्न चित्रकला प्रतियोगितामा उनी धेरै पटक पुरस्कृति भइसकेकी छिन् । समय समयमा पाएका पुरस्कारलाई उनले ठुलो प्ररणाका रूपमा लिएकी छिन् ।

योङ पिकासोले आयोजना गरेका चित्रकला प्रदर्शनीमा आकृति सहभागी भएकी छिन् । त्यहाँ उनका चित्रकला बिक्री पनि भएका छन् । विदेशी नागरिकले आफ्ना चित्र मनपराएर राम्रै मूल्यमा किन्दा आकृतिलाई औधी खुसी लागेको छ; चित्रकलामा अझ राम्रो गर्ने प्रेरणा जागेको छ ।

आकृति आफ्ना बाबा अनुप मानन्धरलाई सानोतिनो आर्टिस्ट नै ठान्छिन् । उहाँले विद्यार्थी जीवनमा बनाएका चित्रहरू हेरेर आकृति प्रभावित हुन्छिन् । छोरीलाई प्रेरणा दिन बाबा निकै सिपालु हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तिमी पछि गएर राम्रो आर्टिस्ट बन्न सक्छ्यौ; आर्ट गर्न नछाड ।” उहाँ कतै आर्ट प्रतियोगिता आयोजना भएको थाहा पाउँदा त्यसको जानकारी दिनुहुन्छ र सहभागी हुन लगाउनुहुन्छ ।

साथीहरूले पनि उनलाई आर्ट गर्न प्रेरित गर्छन् । त्यस्ता साथीमध्ये लिनिभा, युनिका, रसिका अग्र स्थानमा आउँछन् । उनीहरू “मलाई पनि आर्ट बनाएर देऊ न” भन्छन् । आकृतिले उनीहरूलाई जन्मदिनका अवसरमा उपहारस्वरूप सानो क्यान्भासमा पहाडहरूका आर्ट बनाएर दिनेगरेकी छिन् । कसैलाई गिफ्ट दिनु पर्‍यो भने उनी आर्ट नै दिन रुचाउँछिन् । यसो गर्दा साथीहरू खुसी पनि हुन्छन्; त्यो उपहार माया गरेर लामो समयसम्म राखिरहन्छन् र आफ्नो चित्रकारिता अझ राम्रो पनि हुन्छ भन्ने आकृतिको विश्वास छ ।

चित्रकलाका अतिरिक्त आकृति बास्केटबल खेल्न पनि रुचाउँछिन् । उनी स्कुलभित्र र बाहिर भएका बास्केटबल टुर्नामेन्टहरूमा सहभागी भएकी छिन्, स्कुलभित्र भएका टुर्नामेन्टमा उनको टोली विजेता भएको छ । आकृति यस खेलमा सर्ट हान्न सिपालु छिन् ।
फ्रि फायरप्रति आकृतिको सकारात्मक धारणा छ । उनी भन्छिन्, “प्राय मान्छेहरूमा फ्रि फायर खेल्दा बिग्रिन्छ भन्ने धारणा छ । तर, हरेक कुराका राम्रा र नराम्रा पाटा हुन्छन् । फ्रि फायरका पनि राम्रा पाटा छन् । नेपालमा पनि फ्रि फायर खेल्नेहरूले राम्रै कमाएका छन् । हामी विद्यार्थीले चाहिँ कमाइन्छ भनेर पढाइ छाडेर नै फ्रि फायर खेल्ने होइन; पढाइको बोझ एकछिन बिसाएर फ्रेस हुन कहिलेकहीँ खेल्दा हुन्छ । समय मिलाएर खेल्दा हुन्छ ।” आकृति युटुबर्सले आयोजना गरेको फ्रि फायर टुर्नामेन्टमा सहभागी भएकी छिन् । उनले कक्षा नौदेखि पढाइमा बढी फोकस गर्नुपरेकाले फ्रि फायर खेल्न छाडेकी हुन् ।

उनलाई घुमघाम गर्न पनि मनलाग्छ । उनले पोखरा, चितवनलगायत देशका विभिन्न ठाउँको भ्रमण गरेकी छिन् । पहिले देशभित्रका विभिन्न ठाउँको भ्रमण अनि मात्र विदेशको भ्रमण गर्नुपर्छ भन्ने उनको विचार छ ।

नाचगानमा खासै रुचि नभए पनि विद्यालयका विभिन्न कार्यक्रमहरूमा हुने सामूहिक नृत्यमा आकृति सहभागी हुने गरेकी छिन् ।

कला सिर्जना, खेलकुद र कोर्सकै पढाइ गर्न तल्लीन हुने आकृतिले कहिलेकहीँ समय मिलाएर कोर्सबाहिरका पुस्तक पनि पढ्ने गरेकी छिन् । उनले अतिरिक्त अध्ययनलाई अलि बढी समय दिन सके अझ राम्रो हुने देखिन्छ ।

नेलआर्ट आकृतिलाई मनपर्ने अर्को क्षेत्र हो । फुर्सदका समयम उनले नेल आर्ट सिक्ने मनसाय बनाएकी छिन् ।

उनले भविष्यमा एउटा सफल आर्टिस्ट बन्ने मिठो सपना साँचेकी छिन् । साथसाथै उनी आत्मनिर्भर भएर नेपालमै व्यावसाय गर्न चाहन्छिन् । जागिर पाइयो भने खानुपर्ला तर पनि आफ्नो व्यवसाय भयो भने आत्मनिर्भर भइन्छ भन्ने आकृतिमा उद्यमशील चेतना देख्‍न सकिन्छ । उनलाई बाबा पनि सधैँ नेपालमै बसेर केही गर्न प्रेरित गर्नुहुन्छ । केही सिक्नका लागि विदेश गए हुन्छ । त्यहाँ सिकेको सिप नेपालमै ल्याएर लगानुपर्छ भन्ने बाबाको देशप्रेमप्रतिको आदर्श विचारबाट आकृति प्रेरित भएकी छिन् ।  

आकृतिको पढाइ पनि राम्रै छ । उनले एसईईमा राम्रै नतिजा आउने आशा गरेकी छिन् । एसईईपछि व्यवस्थापन विषय पढ्ने उनको सोच छ । व्यवस्थापन विषय पढे आफ्नो व्यवसाय चलाउन सहज हुने उनको विश्वास छ । उनका आशा र विश्वास पूरा होउन्; उच्च शिक्षामा पनि उनी सफलता मिलोस्; सचेजस्तै व्यवसाय सञ्‍चालन गर्न सकुन् । सफलताका सिँडी चढिरहँदा आफ्नो कलाकारितालाई कहिल्यै नबिर्सुन् । आकृति कला र व्यवसायको सङ्गम बनुन् । अझ कलालाई नै व्यवसायीकरण गर्न सकुन्; साथीहरूले आर्ट उपहार दिन आकृति भनेर सम्झिरहुन् ।