धसिङ्गरे गणतन्त्र र हामी जनता
न त हामी जनता सहन्छौं न त नेता नै
हरेकमा अपहत्ते छ स्वार्थपूर्तिका लागि
देश भनेको माटो, हावा, पानी
सबै भूगोल त हो परिभाषित छ
यत्रतत्र सर्वत्र विश्वमा
परापूर्वकालदेखि
मेरो माटो अतिक्रमित छ
जनता दलदलमा भासिएर
खेताला उफ्रिएर के हुन्छ र ?
दानापानी लाउकेका पेटमा
घरबाहिरको परेपछि
दाताको गुणगानमा
मस्त छन् निरन्तर निरन्तर
माटो खुल्ला छ
पानी खुल्ला छ जस्का लागि पनि
हावा त जताको बग्छ
त्यसै त्यसै लाउकेहरू मुन्टो उठाएर
मच्चिएका मच्चिएकै छन्
त जे जे गुरु सोही सोही चेलाको ध्याउन्नमा ।
सडकभरि गणतन्त्रर सङ्घियताको फल
पीडित नागरिकहरू कुदिरहेछन् रुँदै कराउँदै
सामन्तवादको जड रोप्ने लाउकेहरू निरन्तर
गरिबमारा नीति ल्याइरहेछन् किन किन ?
धेरै महाराजाहरूको जन्म भएको छ
प्रजातन्त्रको वरदान
अब त टुक्राटुक्री प्रदेशभर
शासक र शासित छन्
जे जे बराजु सोही सोही नातिनातिना
यस्तै छ धसिङ्गरे गणतन्त्र र विखण्डनको बिउ ।
सङ्घियताका तरमाराहरूको नियतमा नित्य
आफू बन्नुछ व्यवसाय गरेर लाजनीतिको सधैँ
शासितको जमात बढाउँदै शोषणको पराकाष्ठामा
जय गणतन्त्र दिवस अर्को क्रान्ति छिट्टै आउँदै छ ।
लेखकको सम्वन्धमा