आफ्नो र देशको नाम राख्‍न चाहने आशीर्या

आशीर्या देशार भन्छिन्, “मैले धेरै पुरस्कार पाएकी छु । सानैदेखि आर्ट प्रतियोगितामा सहभागी भएर धेरै पुरस्कार पाएकी हुँ । घरभरि सर्टिफिकेट र मेडलहरू छन् ।” 

हो, आशीर्यालाई चित्र बनाउन असाध्यै मनपर्छ । त्यसका साथै उनलाई म्युजिक सुन्न, पियानो बजाउन, मादल बजाउन, फुटबल खेल्न, उसु र बक्सिङ खेल्न पनि मनपर्छ । उनले पियानोमा नेवारी सांस्कृतिक धुन बजाउन जानेकी छिन् । मादलचाहिँ घरमै बाबासँग बजाउन सिक्दै छिन् ।    

आशीर्यालाई यथार्थ र सांस्कृतिक आर्ट (चित्रकारिता) मनपर्छ । उनका विचारमा रियल देखिने आर्ट रियलिस्टिक अर्थात् यथार्थ आर्ट हो । यसमा कुनै बस्तु हेरेर त्यसलाई मेजरमेन्ट (मापन) गर्दै जस्ताको त्यस्तै चित्र उतारिन्छ । लाइट, कलर, सेप आदि मिलाउन सक्दा यथार्थ आर्ट निकै राम्रा हुन्छन्  । उनी संस्कृतिसँग सम्बन्धित चित्र बनाउन पनि रुचाउँछिन् । उनले पहिले भएका तर अहिले हराउन लागेका माटाको चुलो, विभिन्न बाजा आदिका राम्रा आर्ट बनाएकी छिन् । उनले उड्ने घोडा, उड्ने हात्ती जस्ता मिथिकल आर्ट पनि बनाएकी छिन् ।

watar mark

बज्रपाणी, सरस्वती, लक्ष्मी, भैरव आदि उनले बनाएका संस्कृतिसम्बन्धी आर्ट हुन् । त्यसै गरी धिमे, नर्सिङ्गा, बाँसुरी, सारङ्‍गीलगायत विभिन्न बाजाका सुन्दर चित्र पनि उनले उतारेकी छिन् ।

सुन्दर प्रकृतिका पृष्टभूमिमा उनले बनाएका विभिन्न चराहरूका चित्र निकै आकर्षक देखिन्छन् । पृथ्वी संरक्षण, शान्ति जस्ता विषयमा पनि चित्र बनाउन उनी सिपालु छिन् । 

उनका चित्र लोभलाग्दा छन् । त्यसैले उनी स्कुलभित्र र स्कुलबाहिर आयोजना गरिएका विभिन्न चित्रकला प्रतियोगितामा प्रथम भएकी छिन्; पुरस्कृत भएकी छिन् । 

योङ पिकासोले समय समयमा कला प्रदर्शनी गरिरहन्छ । त्यस्ता प्रदर्शनीमा आशीर्या पनि सहभागी भएकी छिन् । त्यहाँ उनका कला राम्रै मूल्यमा बिक्री भएका छन् । 

आशीर्या आफू राम्ररी थाहा पाउने नहुँदैदेखि चित्रकलामा प्रवेश गरेकी हुन् । अर्थत् उनले अक्षर चिन्न र चित्र कोर्न सँगै सिकिन् । चित्रकलाको वातावरण घरमै पाइन् । घरमा बाबा अजय देशार र आमा सितु मास्के विभिन्न प्रकारका आर्ट गरिरहनुहुन्थ्यो । त्यो कलाकारिता देखेर नै उनी कलाका क्षेत्रमा प्रवेश गरिन् । अलि पछिदेखि बाबासँग कला सिक्नकै लागि योङ पिकासो जान थालिन् । त्यहाँ साथीहरूसँग रमाउँदै चित्रकला सिक्दा उनलाई छुट्टै खुसी मिल्यो । उनी स्कुलमा पनि आर्ट क्लास लिन्छिन् । प्राय खाली समय आर्ट गरिरहेकी हुन्छिन् । राम्रो वातावरण पाएका बालबालिका मनैदेखि केही गर्न लागिपर्छन् । मनदेखि नै लागेपछि जस्तासुकै काममा सफलता मिल्छ भन्ने कुरा आशीर्याले पुष्टि गरेकी छन् ।

आशीर्या कलाका अतिरिक्त उसुको पनि राम्रो खेलाडी हुन् । भविष्यमा उसु खेलका माध्यमबाट आफ्नो र देशको नाम राख्‍ने आशीर्याको चाहना छ । चाहनाअनुसारका लक्षण देखिन थालेका छन् । उनले उसुका विभिन्न ट्रेनिङ लिएकी छन् । प्रदेश स्तरीय उसु प्रतियोगितामा दुई पटक गोल्डमेडल र एक पटक सिल्भर मेडल पाइसकेकी छिन् । आफ्नो  खेलयात्रालाई निरन्तरता दिन उनी समय मिलाएर दिनहुँजसो उसु खेलिरहन्छिन् ।

आशीर्या पढाइमा पनि अब्बल छिन् । उनी कक्षामा प्राय प्रथम, द्वितीय भइरहन्छिन् । कोर्सबाहिरका पुस्तक पढ्न पनि त्यतिकै रुचाउने आशीर्याले अङ्‍ग्रेजी र नेपाली भाषाका थुप्रै पुस्तक पढेकी छिन् ।

बाबाआमासँग घुम्‍न पाउँदा आशीर्या उत्तिकै  रमाउँछिन् । उनी एक पटक बाबाआमासँग चितवन पुगिछन् । त्यहाँ एउटा सइकल भाडामा लिएर कुदाउन थालिछन् । नयाँ ठाउँमा साइकल कुदाउन पाउँदा उनको खुसीको सीमा बढ्न थाल्यो । खुसीसँगै साइकलको स्पिड पनि बढ्न थाल्यो । त्यतिकैमा अगाडिबाट एउटा बाइक आएकाले साइकल रोक्नुपर्ने भयो । उनले ब्रेक लगाउने प्रयास गरिन् तर ब्रेक लागेन । अब के होला भन्ने डरले उनको सातो गयो; आँखा बन्द भए । धन्न आँखा खोल्दा केही भएको रहेनछ । बाइकले झ्याप्पै ब्रेक लगाएकाले दुर्घटना हुन पाएनछ । यो उनको एउटा नबिर्सने घटना हो । 

आशीर्यालाई मोबाइ हेर्न चाहिँ पटक्कै मनलाग्दैन । मोबाइलले आँखा र दिमाग बिगार्छ भन्ने उनको धारणा छ । उनी भन्छिन्, “मोबाइलमा एडिक्टड भइयो भने नराम्रो हुन सक्छ । त्यसैले पनि म मोबाइल चाहिँ हेर्दिनँ । कहिलेकहीँ पढाइको कुनै कुरा थाहा भएन भने त्यो चाहिँ मोबाइलबाट पनि हेर्ने गरेकी छु ।”

आशीर्याको सुत्ने, उठ्ने, खाने, खेल्ने, अध्ययन गर्ने आफ्नै समयतालिका छ । प्राय उनी त्यही तालिकाअनुसार काम गर्छिन् । उनको सफलताको एउटा कारण समयको उचित व्यवस्थापन गर्न सक्नु पनि हो । आशीर्या समय व्यवस्थापन गर्न सिपालु छिन्

ब्लुबर्ड सेकेन्डरी स्कुलको कक्षा सातमा अध्ययन गर्ने आशीर्याको जन्म ललितपुरको चापागाउँमा २०१२ डिसेम्बर ३१ का दिन भएको हो । उनी अहिले एघारौँ वर्षमा हिँड्दै छिन् । हुने बिरुवाको चिल्लो पात भनेझैँ आशीर्याले यो बालवयमा नै निकै राम्रा लक्षण देखाइसकेकी छिन् । यसरी नै पारिवारिक साथसहयोग पाइरहने, मनदेखि नै म केही गर्छु भन्ने हुटहुटी जागिरहने अनि समय व्यवस्थापनमा इमानदार भइरहने हो भने आशीर्या कुशल खेलाडी, कुशल चित्रकार र यस देशकी असल नागरिक बन्ने कुरामा कुनै शङ्‍का नै छैन । उनलाई सुविचारले डोर्‍याइरहोस्; उनको सधैँ सधैँ जय होस् !