January 18, 2026, Sunday
२०८२ माघ ५, सोमबार

 प्रदेशी मनको पीडा-भाग २

ए साथी !
मेरी आमालाई यो आँखाको आँसु कहिले नभनिदिनु
मेरी आमाको ओठमा सधै खुसी मुस्कुराउन दिनु
प्रदेशमा मेरा दुःखको दीनहरू कहिले नसुनाइदिनु
आमालाई सधैँभरि सुखी हुनु भनिदिनु
मैले पठाएको धनले बाको मन खुसी बनेको छ
यो प्रदेशमा यो मन कति रुन्छ, त्यो कहिल्यै नभनिदिनु
हरेक रातको शून्यतामा यो मन कति अँध्यारो छ
ए सूर्य ! हरदिन बाआमाको बिहानीमा सुनौलो छरिदिनु
ए जून तिमीलाई हेर्दा कसैको यादले हृदय रुन्छ
तृष्णा रहरमा तड्पिएको हृदयलाई शीतलता बाँडिदिनु
मरुभूमिको तातो हावामा सास कति रोकिन्छ
यो कुरा त्यो चिसो हावालाई कहिले नभनिदिनु
चिसो बरफले मरुभूमिमा कहाँ प्यास मेटिन्छ र ?
यो कुरो त्यो पँधेरीलाई कहिल्यै नभनिदिनु
विशाल समुद्रमा पनि मन कति उराठ लाग्छ
बिहानीका पहेँला हिमालहरूलाई कहिल्यै नभनिदिनु
क्षितिजमा उडेका पक्षीहरू हेर्दा कति बिरक्त लाग्छ
यो कुरा डाँफे मुनाललाई कहिल्यै नभनिदिनु
सयौं फूलहरू अनि सुवासले मन कति रुन्छ
यो कुरा त्यो गुराँसलाई कहिल्यै नभनिदिनु
पसिनाका थोपा थोपामा यो मन कति रून्छ
यो कुरा त्यो माटोलाई कहिल्यै नभनिदिनु
यो पसिनाको समुद्रमा तृष्णा सपना डुबेको छ
यो कुरा देशलाई कहिल्यै नभनिदिनु ।