मजदुर
आधुनिक दासताको साङ्लो
नोकरी, जागिर, मजदुरी
नगरी नहुने मजबुरी
बाध्यताको बन्धनमा
बँधेरिएको मजदुर
गोरू जस्तै बाँधिएको छ
दासताको दाम्लोमा
रहर वा आवश्यकता
कहर वा बाध्यताले
सुखसाध्यको खोजीमा
सुखभोग बिर्सिएर
निरन्तर-निरन्तर
कोलमा तोरीको नियति
भोगिरहेछ मजदुर
आख़िर को हो मजदुर ?
उही हो मजदुर जो
घर-परिवारबाट दूर
स्वदेशको माटोबाट दूर
माया, दया, स्नेहबाट दूर
महिनावारी तनखाबाट दूर
सेवा-सुविधाबाट दूर
न्यूनतम ज्यालाबाट दूर
पसिनाको मूल्यबाट दूर
खाना, नाना र छानाबाट दूर
स्वास्थ्योपचारबाट दूर
बिमा-ओखतीमुलोबाट दूर
बाबु-आमाको काखबाट दूर
श्रीमान्सँग श्रीमती दूर
श्रीमतीसँग श्रीमान् दूर
लाला-बालासँग दूर
बेला र बैँससँग दूर
आनन्द रसरङ्गसँग दूर
साथीभाइ, रमाइलोसँग दूर
गामघर, मेलापातसँग दूर
घाँसदाउरा, पानी-पँधेरोसँग दूर
आफ्नै पाखा-पखेरोसँग दूर
सुखशान्तिसँग दूर
अमनचयनसँग दूर
आफू आफैसँग दूर
आफ्नै जीवनसँग दूर
उही हो मजदुर ।
लेखकको सम्वन्धमा