December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

सभ्य कहलिन नाङ्‍‍गिएकी तिमी

सोच, एक्लै एकान्तमा सोच
या समूह समूह भई सोच
सोच्‍नुपर्ने भएर नै
गम्भीर भएर सोच
घर समाजकी गहना तिमी
सभ्य बन्न तिमी नाङ्गिनै पर्छ र ?

हो, सत्य हो तिमी सुन्दर छ्यौ
लोभलाग्दी पनि छ्यौ
कविताको शब्द शब्दमा छ्यौ
तिमी गीतको मधुर धुनमा छ्यौ
तिमी कथा कहानीको मायालु परी हौ
तिमी पुजिन्छ्यौ, घर घरमा पुजिन्छ्यौ
मन्दिर मन्दिरमा पुजिन्छ्यौ
ज्ञान, समृद्धि र शक्तिकी स्रोत बनी
आमा, बहिनी र प्यारी छोरी बनी
तिमी पूजा भित्र पूजा भई पुजिन्छ्यौ
मन्दिर मन्दिरमा आराध्य भई पुजिन्छ्यौ
हृदय हृदयमा आस्था र विश्वास बनी पुजिन्छ्यौ
इतिहास तिम्रा लागि रक्तरञ्‍जित बन्छ
असङ्ख्य मानव सभ्यता मेटिन्छन्
असङ्ख्य कहालीलाग्दा युद्ध लडिन्छन्
केबल तिम्रो चाहानामा ।

हेर त अब तिमी
कहीँ प्राप्तिका चाहनामा
नाङ्गिनकै लागि मात्र नड्गियौ
कहीँ समृद्धिको खोजीमा नाङ्गियौ
कहीँ शक्तिको खोजीमा एकान्तमा नाङ्गियौ
कहीँ मात्र सभ्य कहलिन
बाहना बनाई बनाई जताततै नाङ्गियौ
कहीँ बाध्यताले नाङ्गियौ
कहीँ देखासिकीका पछि लाग्‍ने रहरले नाङ्गियौ
कहीँ फेसनको कमारी भई नाङ्गियौ
नाङ्गिनु नपर्ने ठाउँमा समेत नाङ्गियौ
वस्त्र आभूषण छुट्याउँदै नाङ्गियौ ।

कालो चस्माले आँखा छोपी
छोप्‍नुपर्ने गहना (अङ्‍ग) देखिने गरी नाङ्गियौ
के भनूँ तिमीलाई, म
आफ्नो भन्न पनि लाज लाग्‍ने गरी नाङ्गियौ
पेन्ट च्यातेर नाङ्गियौ
चोली छुट्याउँदै नाङ्गियौ
पेन्टी र ब्रालाई सभ्यता मानेर नाङ्गियौ
घर समाजकी गहना तिमी
नग्‍नता नै नग्‍नता बटुली
लाजै नलाग्‍ने गरी नाङ्‍‍गियौ
फेरि पनि भनौँ तिमीलाई, म
आफ्नो भन्न पनि लाजैलाज लाग्‍ने गरी नाङ्‍‍गियौ
उफ ! के भनेर सम्झाऊँ तिमीलाई म ?
म त हैरान छु
म त दिक्क छु
घर समाजकी गहना तिमी
आखिर कस्तो सभ्यताको परिकल्पना गर्‍यौ तिमीले
नाङ्‍‍गिनु नै आफूलाई सभ्य ठान्यौ
नाङ्‍‍गिनु नै आफूलाई संस्कारी ठान्यौ
नाङ्‍‍गिनु नै आफूलाई समृद्ध ठान्यौ ।