योङ पिकासोका प्रशिक्षार्थी क्रोधकला शिरोमणिसँग
२०८० चैत २४
आज योङ पिकासोका २० जना प्रशिक्षार्थीले क्रोधकला शिरोमणि कालु कुमालेसँग भेटघाट गरी प्रेरणा लिए । उक्त भेटघाट कार्यक्रमको संयोजन योङ पिकासोका प्रशिक्षक अजय देशारले गर्नुभएको थियो ।
उहाँले सर्वप्रथम सम्पूर्ण सहभागीलाई कालु कुमालेको छोटो परिचय दिई सिकाइका लागि प्रेरित गर्नुभयो । त्यसपछि सबै सहभागी एउटा हलमा भेला भए । त्यहाँ उनीहरूलाई कालु कुमालेका साहिँला छोरा राकेश अवालले स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रमपछि करिब २० मिनेट जति कालु कुमालेको वृतचित्र देखाइयो । वृतचित्र जानकारीमूलक थियो । त्यसपछि चियापानको कार्यक्रम थियो । चियापान सकिनासाथ प्रशिक्षार्थीहरू अवलोकनमा जुटे । उनीहरूले विभिन्न मूर्ति भएको सङ्ग्रहालय हेरे । त्यहाँ कालु कुमालेद्वारा बनाइएका सानादेखि निकै ठुलासम्म मूर्ति थिए । देवताका ती अधिकांश मूर्तिहरूमा क्रोधपूर्ण अनुहार देखिन्थ्यो ।
सङ्ग्रहालायपछि प्रशिक्षार्थीहरूले कालु कुमालेको कार्यशाला अवलोकन गरे । उहाँ सुकुलमा बसेर काम गर्नुहुँदो रहेछ । त्यहाँ एउटा ग्यास चुलो पनि थियो । त्यही चुलामा मैन तताएर माटो, मैन आदिका कलाकृति निर्माण गर्नुहुँदो रहेछ ।
उहाँले निर्माण गर्न सुरु गरेका तर पूरा नभएका अन्य मूर्तिहरू पनि रहेछन् । मूर्ति निर्माणका लागि चाहिने र प्रयोग गरिएका सामग्रीको ठुलै रास पनि देखियो ।
भविष्यमा सफल कलाकार बन्ने उद्देश्य बोकेका बालबालिकाहरू संसारकै प्रसिद्ध मूर्तिकारले बनाएका मूर्ति देखेर निकै रमाए । कालु कुमाले जस्तै सफल कलाकार बन्ने सपना उनीहरूका अनुहारमा प्रतिबिम्बित भयो । आज बालबालिकाले घर बिर्से, मोबाइल बिर्से, टिभी बिर्से, दिनहुँको झन्झट लाग्दो पढाइ बिर्से, केबल सफल कलाकार हुने आफ्नो लक्ष्य सम्झिरहे । उनीहरू यसरी प्रेरित भएकै क्षण अजय सरले आफ्नो रोजाइको चित्र बनाउन लगाउनुभयो । उनीहरू पनि त्यहाँ भएका मूर्ति हेरी हेरी चित्र बनाउन तल्लीन भए । उनीहरूले साँच्चै जीवन्त चित्र उतारे ।
करिब साढे बाह्र बजे आजको कार्यक्रम सकियो । मनभरि हर्ष र अविस्मरणीय अनुभव लिएर बालबालिका घर फर्के ।
प्रतिकृया दिनुहोस्