December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

बहुमुखी बालप्रतिभा : नोरिन श्रेष्ठ

नोरिन श्रेष्ठले भर्खरै आधारभूत तह अर्थात् कक्षा आठ उत्तीर्ण गरिन् । तर, कलाका क्षेत्रमा उनले आफ्नो उचाइ निकै माथि पुर्‍याइसकेकी छिन् । उनले बनाएका चित्र कुनै सिद्धहस्त चित्रकारका जस्तै आकर्षक देखिन्छन् । त्यसैले त उनी चित्रकलाका क्षेत्रमा पटक पटक पुरस्कृत भएकी छिन् ।

२०७९ मा हरिसिद्धि, ललितपुरमा अवस्थित क्षितिज स्कुलमा चित्रकला प्रतियोगिता आयोजना भएको थियो । त्यस प्रतियोगितामा नोरिनले प्रथम स्थान हासिल गरिन् । यस पटक उनले नगद रु. आठ हजार पुरस्कारसहित प्रमाणपत्र पाएकी थिइन् । यो उनको पहिलो कमाइ थियो, पहिलो पुरस्कार थियो, पहिलो जित थियो । यस पटक उनी खुसीले रमाएकी थिइन्; फुरुङ्‍ङ भएकी थिइन् ।

पहिले त उनलाई चित्रकलामा खासै रुचि थिएन । उनकी दिदीलाई भने चित्रकलामा रुचि थियो । दिदी आर्ट गर्नुहुन्थ्यो । त्यस बेला नोरिन पाँच कक्षामा पढ्थिन् । अजय देशार सर चित्रकला सिकाउन विद्यालय आउनुभयो । संयोगले नोरिन पनि अजय सरसँग चित्रकला सिक्न पुगिन् । र, अजय सरको कला सिकाउने कलासँग प्रभावित भइन् । उनी भन्छिन्, “त्यसबाट प्रभावित भएर म आर्ट गर्न थालेँ । त्यसपछि मलाई आर्टमा रुचि बढ्दै गयो । म आर्ट गर्दा रमाइलो मान्न थालेँ ।“

आफ्नो काममा रमाउने मान्छेहरू निश्चित रूपमा सफल हुन्छन् । त्यसैले रमाई रमाई काम गर्नुपर्छ । नोरिन रमाई रमाई पेन्टिङ गर्न थालिन् र त उनी एकपछि अर्को सफलता चुम्न पुगिन् । एक पटक उनले लोकबाजाको पेन्टिङ बनाएकी थिइन् । त्यो निकै राम्रो थियो । त्यसैले उक्त पेन्टिङ अहिले पनि लोकबाजा सङ्ग्रहालय त्रिपुरेश्वरमा राखिएको छ । उनको अर्को एउटा पेन्टिङ लायन्स क्लबको छनौटमा परेको छ ।

पाटन म्युजियममा चित्रकला प्रदर्शनी भइरहन्छ । त्यहाँ हुने प्रदर्शनीमा नोरिनले पटक पटक सक्रिय सहभागिता जनाएकी छिन् । त्यहाँ उनका थुप्रै चित्रकलाहरू बिकेका पनि छन् ।

उनी चित्रकलासम्बन्धी अर्को मिठो सम्झना सुनाउँछिन्, “एक पटक वसन्तपुर, हनुमानढोकामा एउटा आर्ट प्रतियोगिता भएको थियो । त्यहाँ म उत्कृष्ट दशभित्र पर्न सफल भएँ । मेरो त्यो आर्ट क्यालेन्डेरमा छापिएको छ ।”

अब त चित्रकला उनको ‘हबी’ बनेको छ । अझ उनी चित्रकलामा आफ्नो भविष्य देख्‍न थालेकी छिन् । पछि गएर आर्टमै केही गर्न सकिन्छ भन्ने उनलाई विश्वास छ । उनको रुचि ग्राफिक डिजाइनमा पनि छ । अहिले सिकेको आर्ट ग्राफिक डिजाइनमा सहयोगी हुने कुरामा उनी ढुक्क छिन् ।

धेरै मानिसहरू आज पनि चित्रकलालाई महत्त्वपूर्ण विधाका रूपमा लिँदैनन् । उनीहरूलाई चित्र बनाएर केही हुन सक्छ भन्ने विश्वास छैन । यस अवस्थामा कलाका क्षेत्रमा नोरिनको आत्मविश्वास यसरी बढेको छ । यसमा उनका पिता नारायण काजी श्रेष्ठ र माता कुसुम श्रेष्ठको भूमिका पनि निकै महत्त्वपूर्ण छ । त्यसै गरी नोरिन अध्ययनरत हिमालयन ह्वाइट हाउस आई बी स्कुलको भूमिका झनै महत्त्वपूर्ण छ । ह्वाइट हाउस स्कुलले समय समयमा चित्रकला प्रदर्शनी गरिरहन्छ । ती प्रदर्शनीमा नोरिन सहभागी भइरहन्छिन्, पुरस्कृत भइरहन्छिन् । २०८० चैत सत्र गते पनि ह्वाइट हाउस स्कुलमा चित्रकला प्रदर्शनी गरिएको थियो । त्यसमा नोरिनको महत्त्वपूर्ण सहभागिता रह्यो ।

नोरिनको चित्रकला मात्र होइन हस्त लेखन पनि असाध्यै राम्रो छ । उनी विभिन्न समय र स्थानमा आयोजित हस्त लेखन प्रतियोगितामा विजयी भएकी छिन् ।

हिमालयन ह्वाइट हाउस स्कुलका अध्यक्ष युवराज शर्मा भन्नुहुन्छ, “नोरिनको चित्रकला र हस्तकाला निकै लोभलाग्दो छ । साथसाथै पढाइ पनि राम्रो छ । उनी हाम्रो विद्यालयकी अब्बल छात्रा हुन् ।”

नृत्यमा पनि नोरिनको रुचि उत्तिकै छ । पहिले पहिले उनी राम्रो नृत्य गर्थिन् । नृत्य प्रतियोगितामा उनी पुरस्कृत पनि भएकी छिन् । अहिले खुट्टामा भएको समस्याका कारण उनले आफ्नो नृत्य कलालाई स्थगित गरेकी छिन् । समय मिल्यो भने आगामी दिनमा नृत्यलाई पनि साथसाथै लाने उनको चाहना छ ।

अब नोरिनले बनाएका केही चित्रहरू हेरौँ :

यस तस्बिरमा उड्दै गरेको एउटा हाँस देखिन्छ । हाँसले पिठिउँमा पृथ्वी बोकेको छ । पृथ्वीमा विभिन्न धर्म, संस्कृति आदि सूचक मस्जिद, इजिप्टको पिरामिड, बौद्ध धर्मावलम्वीको स्वयम्भूनाथ, हिन्दुको मन्दिर, फ्रान्सको आइफल टावर, अमेरिकाको स्ट्याचु अफ लिबर्टी र इसाइ धर्मावलम्वीहरूको चर्च चित्रण गरिएका छन् । हाँसको ठुँडोमा कमलको फूल र मस्तकमा बङ्लामुखी यन्त्र अङ्‍‌कित छन् । शान्ति र मेलमिलापलाई सङ्‍केत गर्ने यस पेन्टिङको शीर्षक शान्ति दिइएको छ ।

This image has an empty alt attribute; its file name is -1-1024x768.jpg

यो एलिगेटर अर्थात् एक प्रकारको गोहीको स्केच हो । यो पोइन्टिलेसन आर्टबाट निर्माण गरिएको छ । पेन्सिलले हल्कासँग आउटलाइन गरी त्यहाँ डट डट गरेर निर्माण गरिएको कला हो यो ।

यो पोस्टर पेन्टिङ आर्ट हो । यहाँ भगवान् बुद्धको चित्राङ्कन गरिएको छ ।

यो मिक्स मिडिया आर्ट हो । यसमा पेन्सिल कलर र एक्रेलिक पेन्टको मिस्रण भएको छ । यहाँ एउटा अँध्यारो पृष्टभूमिमा एउटा आधा काटिएको प्लास्टिकको बोटल छ । यो बोटल र पृष्टभूमिले एक्लोपन तथा निराशालाई सङ्केत गर्दछ । त्यहाँ एउटा रङ्गीन चरो बसेको छ । चरो खुसी छ । चरो बसेपछि बोटलमा पनि चराको रङ सरेको छ । यसले ‘सङ्गत गुनाको फल’ लाई सङ्केत गर्छ । अर्थात् आशा र खुसी भएरिएको एउटा चराको प्रभावले वातावरणमा पनि सकारात्मक प्रभाव पर्न थालेको देखिन्छ ।

यो एउटी महिलाको आकृति अङ्‍‌कित पेन्टिङ हो । महिलाका सामुन्ने बादल मडारिएको आकाश र भिरको अन्तिम बिन्दु छ । त्यहाँबाट अघि बढ्ने कुनै मार्ग देखिँदैन । विभिन्न तरिकाले अर्थ्याउन सकिए पनि यस सुन्दर तस्बिरले मुख्यतः नारीको निराश अवस्था चित्रण गरेको छ । यो पेन्टिङ हालसालै ह्वाइट हाउस स्कुलमा आयोजित प्रदर्शनीमा राखिएको थियो ।

यो मुकुटधारी गणेश भगवान्‌को मुहार अङ्‍‍कित सुन्दर पेन्टिङ हो । यो पेन्टिङ पनि हालसालै ह्वाइट हाउस स्कुलमा आयोजित प्रदर्शनीमा राखिएको थियो ।

हुने बिरुवाको चिल्लो पात भने झैँ २०१० डिसेम्बर १४ का दिन काठमाडौँमा जन्मिएकी नोरिन श्रेष्ठको कलकलाउँदो बालापनमा कलाका सुन्दर पालुवाहरू पलाउन थालेका छन् । उनी अहिले सुन्दर भविष्यको फराकिलो पृष्ठभूमि तयार पार्दै छिन् । दृढ आत्मविश्वासका साथ अनन्त सम्भावना बोकेर अघि बढेका उनाका पाइलाहरू सफलताको शिखर चुम्न पक्कै सफल हुने छन् ।