मेरो भविष्यको संसार
“आहा ! कस्तो राम्रो दृश्य । यस दृश्यलाई त चित्र बनाउन पाए पनि हुन्थ्यो ।” म सपनामा आमासँग बोलिरहेकी रहेछु । त्यही बेला मेरो मुखमा कसैले पानी छ्यापेको महसुस गरेर उठेँ । उठ्ना साथ मैले आमा कराएको सुनेँ, “नानी ! ए नानी ! दश बजिसक्यो उठ्नु पर्दैन ! हेर त दश कक्षामा पढ्ने रे यस्ता पनि ।” आमाको गाली खाँदै उठेँ र आमालाई मैले आफ्नो सपनाका बारेमा सुनाएँ । आमा मेरो सपना सुनेर अचम्म पर्नुभयो र भन्नुभयो, “हेर नानी ! तिम्रा सपनाको संसार, त्यो त तिम्रो सपनामै रहने छ, केही परिवर्तन हुँदैन तर तिम्रो भविष्यको संसार त्यो संसार तिमीले अहिले मिहिनेत गरे परिवर्तन हुन सक्छ । त्यसैले पढ नानु पढ ।”
आमाले त्यति भन्नासाथ म पढ्न बसेँ तर मेरो मन मानेन । मेरा मनमा आमाले बोलेका दुई शब्द घुमिरहे- ‘भविष्यको संसार’ । के होला त मेरो भविष्यको संसार ? कसरी परिवर्तन गर्न सक्छु म त्यसलाई ? भोलिपल्ट मैले स्कुल गएर मेरा शिक्षकलाई सोधेँ, “सर, यो भविष्यको संसार के हो ?” उनले मुसुक्क हाँसेर भने, “भविष्यको संसार भनेको भविष्यको संसार हो नि ।” मैले केही उत्तर पाउन त पाँए तर मेरा मनले खोजेको उत्तर मैले अझै पाइनँ ।
“के होला त मेरो भविष्यको संसार ? मेरो संसार ?” मैले कक्षामा सोचिरहेँ । धेरै घण्टा बितिसक्यो; घर जाने बेला भइसक्यो । मैले अझै पनि मेरो मनले खोजेको उत्तर पाइनँ । घर फर्केर मैले आमालाई फेरि सोधेँ, “आमा ! मेरो भविष्यको संसार भनेको के हो ?” आमाले पनि हाँस्दै उत्तर दिनुभयो, “लाटी ! तेरो भविष्यको संसार भनेको तेरो भोलिको संसार हो । तेरो भविष्यको संसार भनेको त अहिले तेरो एस.ई.ई र पढाइ पूरा गरेपछिको संसार हो नि लाटी । भोलि गएर तँ जे गर्छेस्, जहाँ बस्छेस्, जे खान्छेस् त्यही तेरो भविष्यको संसार हो नि । याद छ ? तेरो बच्चा बेलामा म ‘पछि गएर प्रगति गर्नु’ भन्थेँ नि, हो त्यो तेरो भविष्यको संसारका लागि हो ।”
मैले आमाले भन्न खोजेको कुरा बल्ल बुझेँ’ हेर्दाहेर्दै एस. ई. ई. पनि आयो । आमाले परीक्षामा जानुअघि “राम्रो गरेर भविष्यको संसार राम्रो बनाउनु” भनेको मलाई झलझली याद आयो । मैले आमासँग म मेरो भविष्यमा असल व्यक्ति बन्छु, सबैलाई माया गर्छु, अरूलाई दुःख सुखमा सहयोग गर्छु, अरूले रुचाउने रुचाउने व्यक्ति बन्छु, कडा मिहिनेत गरी समाजमा केही परिवर्तन गर्ने छु र अहिलेसम्म आमा बुबाको नामले चिनिएकी म एकदिन गएर मेरा आमा बुबालाई मेरो नामले चिनाउने छु भनेर बाचा गर्छु ।
म मेरो भविष्यको संसार मेरो सपनाको संसार जस्तै देख्न चहान्छु । अलिकति पनि झैझगडा नभएको संसार, सबै मिलीजुली बस्ने संसार, एकताको भावना भएको संसार, खुसी, सुखी र सन्तुष्ट संसार । मेरो भविष्यको संसारमा मेरो आफ्नो पहिचान हुन्छ, मेरो लक्ष्य पूरा हुन्छ । तर यस्तो संसार मैले बनाऊँ त कसरी ? म न त कुनै ज्ञानी व्यक्ति थिएँ न त कुनै विद्वान् नै । म न त कसैको शिक्षक थिएँ न त कसैको मित्र नै । म त म मात्र थिएँ । म त एउटा सानो गाउँबाट छोराछोरीको पढाइका निम्ति सहर आएको एउटा परिवारकी छोरी मात्रै त थिएँ ।
उच्च शिक्षा र जीवनस्तरका लागि सहर आएका लगभग ६ लाख मान्छेमध्ये म एक थिएँ । त्यत्रा धेरै मानिसबिच मलाई आफ्नो पहिचान बनाउनु थियो । त्यो पहिचान बनाउनका लागि म दिन रात नभनी कडा मिहिनेत गर्ने छु । मलाई आफूमाथि विश्वास छ मैले परिश्रम गरेँ भने मैले बनाउन खोजेको संसार एक न एक दिन प्राप्त गर्ने छु ।
भविष्यमा गएर म आफूले गर्नुपर्ने काम सबै समयमा गर्ने छु । सबैको आदर गर्ने छु । दुखी गरिबलाई सहयोग गरी अरूको आर्शीवाद पाउने काम गर्ने छु । आफूले गर्न खोजेको काम सम्पूर्ण ध्यान र मिहिनेत लगाएर गर्ने छु । आफूले गर्न खोजेको काम पूरा गरी विश्वमा आफ्नो नाम कमाउँने छु र त्यो कमाएको नाम, इज्जत सबै जोगाएर राख्ने छु ।
आमा तपाईँलाई थाँहा छ ! मेरो भविष्यको संसारमा तपाईं र बाबा सधैँ माथि हुनुहुने छ । तपाईंहरूको आर्शीवादले मेरो सपनाको संसार र भविष्यको संसार उस्तै हुने छ । तपाईहरूको आर्शीवादले मेरो भविष्यको संसारभरि फूलको सुगन्ध फैलिएको हुने छ । पुतलीहरू नाचेका हुने छन् । मेरो सपनाको संसार र भविष्यको संसार उस्तै हुने छ; उस्तै ।
लेखकको सम्वन्धमा