February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

मेधावी प्रज्‍ना

प्रज्‍ना श्रेष्ठ कक्षा सातमा पढ्छिन् । उनी रोजबर्ड स्कुलकी मेधावी छात्रा हुन् । उनको जन्म ३ अक्टोबर २०११ का दिन काठमाडौँको थापाथलीमा भएको हो । 

प्राज्नालाई अध्ययनका साथै कलाका क्षेत्रमा पनि निकै रुचि छ । उनले मनपराएका कला नृत्य र पेन्टिङ हुन् । उनलाई साहित्यमा पनि रुचि छ । पहिले पहिले उनी कथा र कविता लेख्थिन् । अहिले अध्ययनको भार बढेको छ । त्यसैले उनले लेखन कार्यलाई निरन्तरता दिन सकेकी छैनन् । तर पनि पेन्टिङ र नृत्यका लागि भने उनले समय मिलाएकी छिन् ।

उनी छुट्टीका बेला नृत्य गर्छिन् । लामो छुट्टी हुँदा ‘डान्स क्लास’ जाने गर्छिन् । उनले गरेका नृत्यहरू ‘डान्स स्कुल’ ले सामाजिक सञ्‍जालमा राखेका पनि छन् । 

विद्यालयको गृहकार्य सकिएपछि प्रज्‍ना प्रायः पेन्टिङ गर्ने गर्छिन् । यसका लागि उनी ‘आर्ट स्कुल’ जाने गर्छिन् । उनको ‘आर्ट स्कुल’ कुपन्डोल, ललितपुरको हिमालय होटलअगाडि ‘सातो आकी स्मृति भवन’मा छ । उनी यहाँ हरेक शनिबार बिहान नौदेखि एघार बजेसम्म पेन्टिङ गरिरहन्छिन् । 

बुबा प्रभात श्रेष्ठ, आमा रजनी श्रेष्ठ, गुरु अजय देसारलगायत आफ्नो घर र मामाघरका सबै सदस्यलाई प्रेरणाको स्रोत सम्झँदै उनी भन्छिन्, “उहाँहरू मेरो आर्ट हेरेर ‘आहा कस्तो राम्रो !’ भन्नुहुन्छ । यसले मलाई खुसी र प्रेरणा पनि मिल्छ ।”

प्रज्‍नालाई सानैदेखि आर्ट मनपर्थ्यो । त्यसमाथि परिवारका सदस्यले ‘आहा !’ भनिदिँदा उनी फुरुक्क पर्छिन् । सानैदेखि सिक्दा ठुलो भएपछि आर्टमै केही गर्न सकिन्छ भन्ने उनलाई लागेको छ । 

उनी प्रायः वाटर कलर पेन्ट गर्न रुचाउँछिन् । प्रज्‍नाका भनाइमा पानीमा कलर हाल्दै गरिने पेन्ट वाटर कलर पेन्ट हो । यसमा थोरै कलर प्रयोग गरिन्छ । यसमा ‘लाइट एन्ट सेड’ को धेरै महत्त्व हुन्छ । यो पेन्ट गर्दा हात धेरै ‘कन्ट्रोल’ गर्नुपर्छ । हात कन्ट्रोल नभए पेन्टिङ बिग्रन सक्छ । पानी वा कलरको मात्रा मिलेन भने पनि पेन्टिङ राम्रो बन्दैन । मिहिनेत गर्दा वाटर कलर पेन्टिङ निकै राम्रो हुन्छ ।

अहिलेसम्मामा उनले कति पेन्टिङ गरिन् भन्ने थाहा छैन । सिकाइका क्रममा उनले धेरै क्यानभास रङ्‍गाइसकेकी छन् । तीमध्ये केही छानिएका पेन्टिङ गतवर्ष (२०७९) ‘एक्जिबिसन’मा राखिए । पाटन म्युजियममा भएको उक्त ‘एक्जिबिसन’मा उनाका दुइटा पेन्टिङ सत्र हजार रुपियाँमा बिक्री भए । उनी भन्छिन्, “मेरा पेन्टिङ साह्रै मनपराएर फ्रान्सेली डक्टरले किन्नुभएको थियो । उहाँले ती पेन्टिङ आफ्नो अफिसका ढोकामा रख्‍नुभएको छ रे । त्यो खबर सुन्दा मलाई असाध्यै खुसी र अझ राम्रो गरौँ भन्ने प्रेरणा लागेको छ ।“

एकासी सालको दसैँसम्ममा आफ्नो एकल पेन्टिङ प्रदर्शनी गर्ने उनको योजना छ । यस योजनालाई सफल बनाउन उनले अभिभावक र गुरुबाट सहयोग पाएकी छिन् । प्रदर्शनीमा तिस चालिस ओटा पेन्टिङ चाहिन्छन् । तीमध्ये पन्ध्रओटा जति तयार भइसकेका छन् । उनी बाँकी काम पूरा गर्ने प्रयत्न गरिरहेकी छिन् ।   

अब प्रज्नाले बनाएका केही पेन्टिङका नमुना हेरौँ :

यो पेन्सिल कलरले बनाइएको पेन्टिङ हो । यसमा ‘पेन ओर्क’ (पेनले रेखा तान्ने काम) गरी पेन्सिलले पेन्टिङ गरिएको छ । यहाँ एउटा चरो रुखमा बसेको देखिन्छ ।

यो चिसामा बसेको गिद्धको पेन्टिङ हो । यस पेन्टिङमा पेन्सिलले स्केच गरी त्यसमाथि वाटर कलर प्रयोग गरिएको छ ।

यो एउटा तालमास्तिर रहेको घर हो । यहाँ विभिन्न किसिमका रुख बिरुवा पनि देखिन्छन् । घरनजिकै सानो नदी छ । नदी बग्दै गएर तालमा मिसिन्छ । पेन्सिलले गरेको स्केचमा वाटर कलर गरी यो पेन्टिङ बनाइएको हो ।

यहाँ दुइटा चरा उड्दै छन् । यी मध्ये एउटा चरामा निकै आकर्षक रङ प्रयोग गरिएको छ । अर्कामा त्यति आकर्षक रङ छैन । आकर्षक रङ प्रयोग गरिएको भाले चरो हो भने त्यति आकर्षक रङ नभएको पोथी चरो हो । यो पनि पेन्सिल स्केचपछि वाटर कलर गरी बनाइएको पेन्टिङ हो ।

प्रज्नालाई बाल्यकालमै कलाप्रति रुचि जागेको देखिन्छ । उनले त्यसका लागि परिवार र गुरुबाट राम्रो सहयोग पाएकी छिन् । त्यसका साथै उनको मिहिनेत पनि राम्रो छ । मिहिनेती मानिसले राम्रो वातावरण पाउँदा सफलता प्राप्त गर्न सजिलो हुन्छ । प्रज्ना पनि भोलिका दिनमा सफल कलाकार हुन्छिन् भन्ने निश्चित देखिन्छ । 

(प्रस्तुति : सोमनाथ दाहाल somndahal@yahoo.com)