मेरो बाल्यकाल
बाल्यकाल भनेको केटाकेटी अवस्थाको समय हो । प्रायः केटाकेटीहरूको स्वभाव छुकछुके र चन्चले हुन्छ । मेरो बाल्यकाल पनि केटाकेटी अवस्थाकै समय हो । त्यसैले मेरो बाल्यकाल पनि छुकछुके, चकचके, चन्चले र चुलबुले स्वभावका क्रियाकलापमै बितेको थियो । आज म ससाना चुलबुले बालकहरूलाई देख्दा मेरो अतीत झलझली सम्झन पुग्छु ।
लाग्छ, मेरो बाल्यकाल अर्कै युगको थियो र आज अर्कै युग छ । आज म क्रियाशील रहेको युग, मेरो सेरोफेरो, आजका भौतिक सुख सुविधा यी सब मेरो बाल्यकालभन्दा धेरै टाढाका कुरा थिए । झरना, नदी र चरा जस्तै चन्चल मेरो प्यारो बाल्यकाल मेरो प्यारो गाउँमा बितेको थियो । आज म मनभरि सानाठुला सपना साँचेर धेरै टाढा पुगेकी छु । ती सपना साकार बनाउन बेग्लै दुनियाँमा अझ भनौँ बेग्लै युगमा प्रवेश गर्न पुगेकी छु ।
त्यो सानो गाउँ ! ‘भिरकोट’ भनेर सम्बोधन गर्थे मानिसहरू । कति रमणीय, कति सुन्दर वातावरण थियो त्यहाँ । हो, दोलखा जिल्लाको त्यही सुन्दर, त्यही रमणीय भिरकोटमा मेरो चन्चले बाल्यकाल बित्यो ।
आमाले मलाई आफ्नो पहिलो सन्तानका रूपमा जन्म दिनुभयो । मैले पनि उहाँलाई पहिलो चोटि ‘आमा’ हुने अवसर दिएँ । त्यसैले पनि आमा र मेरा बिचमा ममताको सागर थियो । त्यसमाथि पहिलो सन्तान भएका कारण मैले परिवारका सबै सदस्यको मन जितेकी थिएँ अर्थात् धेरै माया पाएकी थिएँ । मैले पाएको त्यो अपार माया बुझेर होला त्यस्तै मिठो माया खोज्दै केही कालपछि मेरो भाइ पनि यस धरतीमा आयो । हामी दिदीभाइ मिलेरै हुर्कन थाल्यौँ । दिदीभाइका बिचमा मायाममता नहुने त कुरै भएन, त्यसका साथै हामी कहिलेकहीँ खुब झगडा गर्थ्यौँ । ती दिन सम्झिएर आजभोलि मलाई खुब हाँसो लाग्छ ।
मेरा मस्तिष्कले अथाहा ज्ञान माग गर्यो । मेरा साना खुट्टाले मेरो सानो शरीरलाई टुकुटुकु हिँडाउँदै विद्यालयतर्फ लान थाल्यो । विद्यालयमा खुब रमाउँदै ज्ञानका अक्षरहरू खोज्न थालेँ । ज्ञानको खोजीले ममा नजानिँदो गरी गम्भीर स्वभाव विकसित हुन थालेछ ।
आज पनि सम्झन्छु- म कहिल्यै नचाहिँदा कुरामा अल्झेर बसिनँ । आफूभन्दा ठुलालाई आदर र सत्कार गर्न मैले कहिल्यै पनि बिर्सिनँ । आफूले सक्ने काम गर्न कहिल्यै झन्झट मानिनँ । त्यसैले त म परिवारकै प्रिय सदस्य भएँ; सबैको अपार माया पाइरहेँ; घरका सबै सदस्यलाई खुसी दिइरहेँ ।
ओहो त्यो बाल्यकाल ! सबैका मायामा लुटपुटिँदाको त्यो क्षण !! कुनै झमेलामा पर्नुपरेन मैले । सायद त्यस बेला ‘तनाव’ भन्ने शब्द नै थिएन । कति सुख्ख थियो, कति मनमोहक थियो मेरो बाल्यकाल !
आज भोलि घरि घरि आफ्नो बाल्यकालको मिठो सम्झनामा हराउने गर्छु । मिठा सपना प्राप्त गर्ने दौड एकछिन रोकेर मनभरि रमाउने गर्छु । घरी घरी त्यही बाल्यकालमा फर्कूँ भन्छ यो मन मलाई । फेरि ती प्रिय दिन बिर्सेर सपनाको संसारमा अघि बढिरहन्छु, अघि बढिरहन्छु ।
लेखकको सम्वन्धमा