December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

दुई पाङ्ग्रे दौड

यो सहरमा सबै हतारिएका छन्
दुई खुट्टाले हिँड्दा पुग्दैन
दौडँदा पनि पछि पर्ने डर छ
त्यसैले त दुई पाङ्ग्रे दौड छ यहाँ

चार खुट्टे जन्तुले जङ्गलमा राज गर्थे
चार पाङ्ग्रेभित्रको भलादमीले सहरमा राज गर्छ
नम्बर प्लेटको रङ्ग भेद, शक्तिको बिम्ब छ यहाँ
रातो, सेतो, निलो, फर्सी टाउँके, जय भुँडीवादको

दुई पाङ्ग्रेलाई हतार छ, प्रतियोगिता आफूसँगै छ
घरी एसेलिरेटर बटार्छ, घरी साइड लाइट बाल्दै छ
कमिलाको ताँती झैँ हिड्छन्, यात्रा जीवनको बिम्ब छ
चौबाटोमा पर्खिन्छ, ट्राफिक प्रहरीको इसारा काफी छ

दुई जोर दुई, चार पाङ्ग्रासम्मको यात्रा, चक्रपथमा औधी छ
छेउबाट कालो गाडी साइरन बज्दै, भिआइपी सवारी गुज्रिन्छ
सडकको पारीपट्टि सेतो गाडीमा, रातो साइरनसँगै कोही श्वास फेर्दै छ
ट्राफिक नै उसको यमराज हो, रातो रङ्ग हरियो हुन बाँकी रहेछ 

थाहा छैन चार पाङ्ग्रे मोहले कहाँ पुर्याउने हो
साझा यातायात पछाडी छ
पाङ्ग्रा झैँ जीवन चक्र दिनहुँ घुमिरहन्छ
सहरमा दुई पाङ्ग्रे दौड जारी छ ।