क्यानभासमा भविष्य खोज्दै बालबालिका
कुपन्डोल, ललितपुरमा हिमालय होटलका ठिक अगाडि सातो आकी स्मृति भवन छ । त्यसमा केही बालबालिका सिसाकलम र क्यानभासमा रमाइरहेका छन् । अर्थात् उनीहरू क्यानभासमा आफ्नो सुन्दर भविष्य खोजिरहेका छन् । विद्यालयका विभिन्न कक्षामा अध्ययनरत ती बालबालिका फुर्सदको समयमा चित्र बनाउन पाउँदा रमाएका छन् ।
त्यहाँ वरिष्ठ कलाकार अजय देसार बालबालिकाका कलिला हातलाई साथ दिइरहनुभएको छ । उहाँका प्रेरक बोली, सहयोगी स्वभाव र हँसिलो चेहेरा शिष्यहरूका लागि निकै आकर्षक छन् ।
यहाँ हरेक शनिबार बिहान नौ बजेदेखि एघार बजेसम्म अजय गुरुका साथमा शिष्यहरू रमाई रमाई चित्र बनाइरहेका हुन्छन् । यसरी चित्र बनाउन थालेका केही शिष्यहरूका चित्रले पुस्तकाकार रूप लिइसकेका छन् । केही बालचित्रकारहरू एकल चित्र प्रदर्शनीको तयारीमा जुटेका छन् । केही चाहिँ अझ राम्रा चित्र बनाउन तल्लीन छन् । सबै सहभागी बालबालिकाहरूमा एक किसिमको प्रतिस्पर्धा नै चलेको देख्न सकिन्छ ।
फुर्सदको समय सदुपयोग गरी बालबालिकाको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गराउने कार्यमा सम्लग्न हुन पाएकोमा अजय गुरु पनि निकै खुसी हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस्