सम्मान गरौँ नारी
![](https://jharanasanchar.com/wp-content/uploads/2024/03/जानुकादेवी-ढुङ्गेल-1-1024x576.png)
छाेरी जन्म लिँदाखेरी समाजै हुने बैगुनी
पाउँछु कि जन्मन भन्दै बस्छिन् गर्भमा तैपनि
पचहत्तर दिन पुग्दा जान्छन् डाक्टरकहाँ तब
भ्रूण नै गर्दछन् हत्या देखिन्छ छाेरी रूप जब।।
जन्मने अधिकार छैन बाँच्न पाउनु कता कता
कलिला मुना चुँडेकाे सुनिदै छ जतातता
निर्मला र भागीरथी अहिले शालिनकाे पनि
अकालमा गयाे ज्यान कलिला बालिका तिनी।।
आमाले बाध्य भै छाेडिन् छाेरी सासूले र समाजले
गर्दैछन् मलाई हेँला सुन्नुपर्छ नमज्जाले
अस्पतालमै छाेडी भागिन् भए चारओटी भनी
बाध्यताले कठाेर बनिन् बिचरी ती आमा पनि।।
हकअधिकार कता खाेज्नु जन्मनै नपाईकन
मासिदैँछन् सबै नारी एकचोटि बुझ सज्जन
नारी नै पनि नारीकाे शत्रु झैँ गर्दछन् किन ?
एकअर्काको सहारा बनेको पनि देख्दिनँ ।।
हजारौंमा एक नारीले गल्ती भुल गरे कतै
गाली बेइज्जती छाडा शब्द गर्छन् जताततै
हातेमालो गरी हिडौँँ नारीले नारीलाई बुझी
यही धर्म ठुलो हाेला के गर्नु ढुङ्गालाई पूजी ।।
आमाले जन्माऊन् छाेरी सम्मान दिऊँ हामी पनि
सृष्टिकर्ता यिनै हुन् है थिए नारी अघि पनि
नभए छाेरीकाे जन्म बुहारी कहाँ पाउँछ
संसारै मासिन्छ भाेलि प्रलय अनि आउँछ।।
साइत गर्नुछ भाेलि भन्छन् पञ्चकन्या खाेजिदिनु
भन्दै छन् ती बाबु आमाले कहाँ खाेजी ल्याइदिनु
आफूले भ्रूण मासेकाे भुले कि छ है सम्झना
त्यसरी नै सबै मास्दा कन्या कहाँ भेटिन्छन् ।।
जन्मन दिऊँ है पहिला त हुर्किन बढ्न राम्ररी
पढ्ने लेख्ने अधिकार हाेस् खुसी रहुन् सधैंभरि
नारी आमा हुन् सासू हुन् दिदी बैनी बुहारी हुन्
सबैलाई गरौँ इज्जत सम्मानका भागीदार हुन् ।।
लेखकको सम्वन्धमा