राजनीति र मेरो जीवन
सामान्य अर्थमा राजनीति भनेको राज्यलाई सञ्चालन गर्नका लागि देशमा प्रयोग गरिने नीति हो । कुनै पनि राज्य वा मुलुकमा अवलम्बन गरिने राजनीतिले नै सो राज्यको अवस्थालाई निर्धारित गर्छ । राजनीतिले देशलाई असल मार्गमा डोऱ्याउनुका साथसाथै यसले देशलाई खराब बाटोतर्फ पनि डोऱ्याउन सक्छ । म कक्षा १० मा पढ्ने एक विद्यार्थी भएकाले छिटै एक असल नागरिकका रूपमा देशको एक असल राजनीतिज्ञ बनेर देशप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु ।
मलाई नेपालको वर्तमान राजनीतिको अवस्था दयनीय लाग्छ । अहिले अधिकांश जनता राजनीतिलाई एक फोहोरी खेल ठान्छन् । यसका पछाडि पनि अनेकौँ कारण छन् । आजका विभिन्न राजनीतिक दल एवम् राजनीतिज्ञहरू राष्ट्रको उन्नतिका लागि नभई आफ्नो दलगत स्वर्थका लागि कुकर्म गर्न पनि तयार छन् । क्षणिक स्वार्थसिद्धिका लागि आफ्नै आमासमान मातृभूमि पनि बेच्न केही राजनीतिकज्ञहरू तयार छन् । सत्ता प्राप्तिका लागि आफ्नै भूमिलाई ठग्न पनि तत्पर छन् । यस्ता विविध कारणहरूले गर्दा वर्तमान समयमा न त देश विकास हुन सकेको छ न त देश अपेक्षाअनुसार समृद्ध बनेको छ ।
यस्तो राजनीतिक फोहोरी खेललाई परिवर्तन गर्न हामी युवाहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । म पनि एक सचेत नागरिक एवम् युवा भएकाले म आफूले राजनीतिमा संलग्न भएर वा नभएर पनि आफ्नो भूमिका निर्वाह गर्न चाहन्छु । वास्तवमा राजनीतिका बारेमा आवश्यक ज्ञान प्राप्त गरेर सो ज्ञान फैलाउन चाहन्छु । सरकार एवम् राजनीतिक दलहरूको कार्यलाई पारदर्शीका साथै जिम्मेगरीपूर्ण बनाउन मलगायत सबै युवाहरू सचेत हुनुपर्छ । सरकारका प्रतिनिधिहरूको चयन गर्दा हामीले सो प्रतिनिधिका बारेमा सम्पूर्ण जानकारी लिनुपर्छ । म पनि एक सचेत नागरिक हुँ । त्यसैले मतदान गर्ने समयमा सम्पूर्ण जानकारी प्राप्त गरेपछि मात्र उपर्युक्त प्रतिनिधिलाई मतदान गर्ने छु ।
अन्ततः राजनीतिबाट टाढा जान सकिँदैन । राजनीतिमा संलग्न भएर वा नभएर पनि हामी त्यसको भागिदार बन्छौँ नै । म पनि देशको राजनीतिको एक महत्त्वपूर्ण अंशका रूपमा देशको विकासमा आफ्नो योगदान दिने छु । राजनीतिलाई एक फोहोरी खेल नभई देश विकासको एक अभिन्न अङ्गका रूपमा प्रमाणित गर्ने छु ।
लेखकको सम्वन्धमा